RSS

Monthly Archives: February 2012

अरबको भोगाई: चाईनिज रेष्टुरेण्ट!!!

हिजो साँझ एक जना साथी र म नशिर स्क्वाएर तिर टहलिँदै थियौँ, राती ९:३० बजिसकेको थियो, बाटो हिँड्दै गर्दा ठ्याक्क म्याकडोनल्स् को अगाडि के पुगेका थियौँ, भोक पो लागेर आयो। त्यहाँ छिर्नै मात्र लागेको, हाम्रो अगाडि एक हुल चाईनिजहरू देखिए। उनीहरूलाई देखे पछि मलाई भने चाईनिज फुड खाने तीब्र ईक्षा जागेर आयो। त्यही नजिकै चाईनिज रेष्टुरेण्ट पनि थियो, साथी र म उतै तिर हानियौ। हामी बन्द ढोकाको नजिक पुग्ने बित्तिकै भित्र बाट ढोका खुल्यो, बिरालो कराएको जस्तो “निह्हाउ” आवाजका साथ।

भित्र छिर्यौ, सबै चाईनिज नै चाईनिज, लगभग सबै टेबलहरू प्याक, अनि सबैका हातमा दुई दुइटा सिन्का। टेबलको बीचमा बलिरहेको स्टोभ, स्टोभको माथि खै के के हो, सबै ले त्यसरी नै खाँदै थिए। हामी भने वाल्ल-जिल्ल परेर कता बस्ने होला भनेर हेर्दै थियौँ। एउटा वेटर आयो र कुना को एउटा टेबलमा देखायो। पहिला पनि चाईनिज रेष्टुरेण्ट त न गएको त होइन, तर यस पालीको भने अल्लि बेग्लै लागिरहेको थियो मलाई। वेटर मेनु लिएर आयो, मेनु हेर्यौ, धेरै जसो सबै नुडल्डस् कै आइटमहरू थियो। साथी र म धेरै बेर घोरिएर मेनु हेर्यौ, के मगाउने मगाउने, आईडिया नै आएन। मेनुमा राखेका प्रायः सबै फाटोहरू नुड्ल्स र खुर्सानीकै बर्चस्व देखिन्थ्यो; आफूलाई भने खुर्सानी देख्ने बित्तिकै कान तातेर आउँछ तर पिरो खाना खाई सके पछि नाक पुछ्दै स्वाँ स्वाँ गर्नु को मज्जा?? आहाहाहाहा..!!!!! पुरै मेनु केलाउँदा, नाम सुनेको एउटा आइटम देखियो “किम्ची”, अरू त खै के के हो के के। त्यही मेनुमा घोतलिदै गर्दा एउटा वेटर आएर चाईनिज टोनको इङ्ग्लिस मा खै के भन्यो, उसले के भन्यो भन्ने तर्फ खासै चासो दिइन। पकै पनि अडर लिन आएको होला भन्ने बुझेँ, अनि फ्याट्ट भनि हालेँ, “वान किम्चीयस पालि चाही बुझिने गरि सोध्यो,”एनिथिङ् एल्स??”। साथीले उता बाट वान स्टिर नुडल्स विद सल्लाईस फिस”” भन्नु भयो। अनि वेटर गयो।

Image source: http://www.gardenfork.tv

साथीले आफ्नो अगाडी राखेका दुइटा सिन्का खेलाउँदै भन्नुभयो, “कसरी खाने हो यसले??” ““मैले पहिला एक दुई पटक खाएको छु, जानिएलानी खान त” धाक दिए मैले। गफ गर्दा गर्दै वेटरले एउटा खानाको आइटम लिएर आयो। सागको डाँठमा जे भा’को खुर्सानी मोलेको, आखिर किम्ची भनेको त्यही त रहेछ नि। भोक लागी रहेको बेलामा त्यो देख्दा भने मेरो मुखको चारै तिर बाट सरररररर पानी निस्क्यो। मन थाम्न सकिएन, सिन्का समातियो र टिप्न थालियो सागको डाँठ; चौपट पिरो तर साह्रै मज्जा आउने स्वादको। सागको डाँठको सा-सानो टुक्रा सिन्काले समाएर खान खासै गाह्रो भएन, ल्या जानिहालियो नि सिन्काले खान..!!! मैले साथीलाई भने, साथीले पनि हँ मा हँ थपिदिनु भो। नाक पुछ्दै किम्ची खाँदै थियौँ, एउटा बडेमानको भाँडोमा झट्ट हेर्दा “थुक्पा” जस्तो देखिने तर काँचो सागको पात र मासुका टुक्राले टप गरेको खाने कुरा लिएर आयो वेटर। त्यो रहेछ स्टिर नुडल्स विद सल्लाईस फिस””।

हामीले किम्ची खाँदै गर्दा दायाँ बायाँ का टेबलका ले हामीलाई हेरेर मुसुमुसु नहाँसेका पनि होइनन् तर हाम्लाई बाल!?!?! ““लौ त तिनीहरूले हामीले जस्तो हातले ग्वाम् ग्वाम् भात खाएर देखाउन??” साथीले च्यालेन्जका साथ भन्नु भो। हामीलाई चाईनिज खाना खानु मात्र होइन, सिन्काले खान पनि सिक्नु पर्ने थियो। ठूलो भाँडोमा आएको नुडल्स उध्रिन थालियो, लगभग १० मिनेट जति ट्राई गर्दा दुई-चार चोटि ईत्ती ईत्ती चाउचाउ मुखाँ परेको थियो भने औँला बाउँडिन थालिसकेका थिए। यत्तिकैमा एउटी राम्री वेट्रेस नजिकै आएर चाईनिज टोनको इङ्ग्लिस मा भनि सर यु वाना फोर्क??” मेरो दिमाग हजार किलोमिटर प्रति घण्टाको स्पिडमा कुद्यो, साथी तिर पुलुक्क हेरेँ, अनि कन्फ्युज हुँदै त्यो वेटर तिर हेरेँ, मोरीले मेरो बाउँडिएका औँलाले समातेका सिन्का तिर इसारा गर्दै फेरी भनि सर यु वाना फोर्क?!?!?! बल्ल पो बुझेँ, हाम्रो हालत देखेर मोरीलाई, दया लागेछ, “काटाँ ल्याईदिऊ भनेर सोधेकी पो रै’छे”।

बल्ल बल्ल त्यो भाँडोको नुडल्स सकियो तर त्यो एक प्लेट किम्ची भने सक्ने आट आएन…. अनि वेटरलाई बोलाइयो र भनियो “बिल प्लिज””।

[दुई बर्ष जती पहिले त्यही एरियामा चाईनिज रेष्टुरेण्ट खोज्दै जाँदा एउटा अवैध रुपले कुकुरको मासु बच्ने रेष्टुरेण्टमा पुगेका थियौँ, समय मिलेमा त्यो अनुभव पनि लेख्ने छु।]

 
Leave a comment

Posted by on February 13, 2012 in अरबको भोगाई, Humor

 

Tags: , , ,

फेसबुक प्यारेन्टिङ Vs. गिट्टी कुट्ने बालक

बिहान उठेर यसो टि्वटरमा हेर्दै थिए, @AnandNepal को एउटा टि्वट्मा आँखा पर्यो, हेर्दा ईन्ट्रेस्टीङ देखिएकाले त्यो टि्वट हेरेँ र टि्वट भित्रको @youtube लिङ्क खोलेँ। ८ मिनेट २३ सेकेन्डको उक्त भिडियो विशेष गरी “Facebook Parenting” को बारेमा रहेछ। “फेसबुक प्यारेन्टिङ्” के हो भन्ने बारे मेरो सिधा बुझाई के छ भने “बाउ आमाले आफ्नो छोरा छोरीले फेसबुकमा के कस्ता कृयाकलापहरू गरी रहेछ छन्, त्यसको निगरानी गर्नु हो”। मेरो विचारमा अहिलेको सोसल मिडिया एजका अभिभावकहरूको लागी यो एउटा नयाँ महत्वपूर्ण जिम्मेवारी पनि हो।

कुरा के भएछ भने, एक १५ बर्षे केटीले आफ्नो बाउ आमाले हरेक दिन उसलाई गर्ने कर कर बाट आक्रोशित भएर फेसबुकको वालमा एउटा नोट लेखेकी रहिछ। उसको आक्रोश अरू केही कुरामा नभएर बाउ आमाले उसको कोठा सफा गर्ने, बिस्तरा मिलाउने, आफूले खाएको भाँडा माझ्ने, आफ्नो कपडा धुने यस्तै यस्तै कुरामा गरिएका आदेशहरू प्रति रहेछ। उसको बाउले छोरीको फेसबुकमा त्यो नोट देखे पछि रिसले आक्रोशित भएर छोरीको ल्यापटप एउटा चौरमा लगेर गोली हानेर फुटाएको रहेछ।

भिडियोमा खासै केही छैन, उसको बाउले छोरीको नोट पढेर सुनाउँछ, आफ्नो प्रतिक्रियाहरू दिन्छ र अन्त्यमा छोरीको ल्यापटपमा गोली हान्छ तर सामाजिक सञ्जाल मार्फत त्यो भिडियोका लागी आएको प्रतिक्रियाहरूले भने मलाई यो ब्लग लेख्न बाध्य बनायो। सामाजिक सञ्जालहरूमा यो भिडियो आगोझैँ फैलिरहेको छ। उसको बाउले छोरीले फेसवुकमा आक्रोश पोखी भनेर ल्यापटप फुटाउनु हुन्थ्यो या हुन्थे न, फुटाए कै भए पनि @youtube मा राख्नु जरुरी थियो या थिएन, त्यो बेग्लै चर्चाको विषय हो र सोसल मिडियाका गुरूहरूको लागी यो एउटा विशेष चासोको विषय बनिरहेको छ; यस बारेमा म यहाँ केही लेख्ने वाला छैन। फेब्रबरी ८, २०१२ मा @youtube मा राखिएको उक्त भिडियो आजको मितिसम्म अर्थात् तीन दिन भित्रमा ६६ लाख भन्दा बाढीले हेरी सकेका छन् भने ८३ हजार भन्दा बढि ले यसको बारेमा कमेन्ट दिइसकेका छन्। यो चर्चा पछि त्यहाँको पुलिसले उसलाई समातेर जेल हालेको छ भने उ जेल बाट निस्कन को लागी अनलाइन मार्फत डोनेसन मागी रहेको छ अनि मानिसहरू उसलाई डोनेसन दिइरहेका छन्। अर्को तर्फ उसको छोरीलाई सान्त्वना दिनका लागी एउटा कफी सपले उसको छोरीलाई जागीरको अफर दिई सेकेको छ।

यो सबै कुराहरू पढी रहँदा अनि हेरी रहँदा मेरो दिमागमा भने, खोलाको तीरमा गिट्टी कुटिरहेका, फोहोरको थुप्रो बाट प्लाष्टिक उठाइरहेका अनि रेष्टुरेण्टमा भाडा माझी रहेका बच्चाहरू घुमिरहेका छन्। हुन त यी सबै आदर्शका कुराहरू हुन्। न मैले उनीहरूको बारेमा केही गरेको नै छु न त केही गर्ने योजना नै बनाएको छु। मात्र सोचिरहेको छु “के मानिसका न्यूनतम् आवश्यकताहरू आधुनिकता संगै परिवर्तन हुँदै गएका हुन् त ???”

 
1 Comment

Posted by on February 11, 2012 in Article, Random

 

Tags: ,

 
Follow

Get every new post delivered to your Inbox.

Join 924 other followers