हिजो साँझ एक जना साथी र म नशिर स्क्वाएर तिर टहलिँदै थियौँ, राती ९:३० बजिसकेको थियो, बाटो हिँड्दै गर्दा ठ्याक्क म्याकडोनल्स् को अगाडि के पुगेका थियौँ, भोक पो लागेर आयो। त्यहाँ छिर्नै मात्र लागेको, हाम्रो अगाडि एक हुल चाईनिजहरू देखिए। उनीहरूलाई देखे पछि मलाई भने चाईनिज फुड खाने तीब्र ईक्षा जागेर आयो। त्यही नजिकै चाईनिज रेष्टुरेण्ट पनि थियो, साथी र म उतै तिर हानियौ। हामी बन्द ढोकाको नजिक पुग्ने बित्तिकै भित्र बाट ढोका खुल्यो, बिरालो कराएको जस्तो “निह्हाउ” आवाजका साथ।
भित्र छिर्यौ, सबै चाईनिज नै चाईनिज, लगभग सबै टेबलहरू प्याक, अनि सबैका हातमा दुई दुइटा सिन्का। टेबलको बीचमा बलिरहेको स्टोभ, स्टोभको माथि खै के के हो, सबै ले त्यसरी नै खाँदै थिए। हामी भने वाल्ल-जिल्ल परेर कता बस्ने होला भनेर हेर्दै थियौँ। एउटा वेटर आयो र कुना को एउटा टेबलमा देखायो। पहिला पनि चाईनिज रेष्टुरेण्ट त न गएको त होइन, तर यस पालीको भने अल्लि बेग्लै लागिरहेको थियो मलाई। वेटर मेनु लिएर आयो, मेनु हेर्यौ, धेरै जसो सबै नुडल्डस् कै आइटमहरू थियो। साथी र म धेरै बेर घोरिएर मेनु हेर्यौ, के मगाउने मगाउने, आईडिया नै आएन। मेनुमा राखेका प्रायः सबै फाटोहरू नुड्ल्स र खुर्सानीकै बर्चस्व देखिन्थ्यो; आफूलाई भने खुर्सानी देख्ने बित्तिकै कान तातेर आउँछ तर पिरो खाना खाई सके पछि नाक पुछ्दै स्वाँ स्वाँ गर्नु को मज्जा?? आहाहाहाहा..!!!!! पुरै मेनु केलाउँदा, नाम सुनेको एउटा आइटम देखियो “किम्ची”, अरू त खै के के हो के के। त्यही मेनुमा घोतलिदै गर्दा एउटा वेटर आएर चाईनिज टोनको इङ्ग्लिस मा खै के भन्यो, उसले के भन्यो भन्ने तर्फ खासै चासो दिइन। पकै पनि अडर लिन आएको होला भन्ने बुझेँ, अनि फ्याट्ट भनि हालेँ, “वान किम्ची”। यस पालि चाही बुझिने गरि सोध्यो,”एनिथिङ् एल्स??”। साथीले उता बाट “”वान स्टिर नुडल्स विद सल्लाईस फिस”” भन्नु भयो। अनि वेटर गयो।
साथीले आफ्नो अगाडी राखेका दुइटा सिन्का खेलाउँदै भन्नुभयो, “कसरी खाने हो यसले??” ““मैले पहिला एक दुई पटक खाएको छु, जानिएलानी खान त”” धाक दिए मैले। गफ गर्दा गर्दै वेटरले एउटा खानाको आइटम लिएर आयो। “सागको डाँठमा जे भा’को खुर्सानी मोलेको”, आखिर किम्ची भनेको त्यही त रहेछ नि। भोक लागी रहेको बेलामा त्यो देख्दा भने मेरो मुखको चारै तिर बाट सरररररर पानी निस्क्यो। मन थाम्न सकिएन, सिन्का समातियो र टिप्न थालियो सागको डाँठ; चौपट पिरो तर साह्रै मज्जा आउने स्वादको। सागको डाँठको सा-सानो टुक्रा सिन्काले समाएर खान खासै गाह्रो भएन, “ल्या जानिहालियो नि सिन्काले खान..!!!” मैले साथीलाई भने, साथीले पनि हँ मा हँ थपिदिनु भो। नाक पुछ्दै किम्ची खाँदै थियौँ, एउटा बडेमानको भाँडोमा झट्ट हेर्दा “थुक्पा” जस्तो देखिने तर काँचो सागको पात र मासुका टुक्राले टप गरेको खाने कुरा लिएर आयो वेटर। त्यो रहेछ स्टिर नुडल्स विद सल्लाईस फिस””।
हामीले किम्ची खाँदै गर्दा दायाँ बायाँ का टेबलका ले हामीलाई हेरेर मुसुमुसु नहाँसेका पनि होइनन् तर हाम्लाई बाल!?!?! ““लौ त तिनीहरूले हामीले जस्तो हातले ग्वाम् ग्वाम् भात खाएर देखाउन??”” साथीले च्यालेन्जका साथ भन्नु भो। हामीलाई चाईनिज खाना खानु मात्र होइन, सिन्काले खान पनि सिक्नु पर्ने थियो। ठूलो भाँडोमा आएको नुडल्स उध्रिन थालियो, लगभग १० मिनेट जति ट्राई गर्दा दुई-चार चोटि ईत्ती ईत्ती चाउचाउ मुखाँ परेको थियो भने औँला बाउँडिन थालिसकेका थिए। यत्तिकैमा एउटी राम्री वेट्रेस नजिकै आएर चाईनिज टोनको इङ्ग्लिस मा भनि “”सर यु वाना फोर्क??”” मेरो दिमाग हजार किलोमिटर प्रति घण्टाको स्पिडमा कुद्यो, साथी तिर पुलुक्क हेरेँ, अनि कन्फ्युज हुँदै त्यो वेटर तिर हेरेँ, मोरीले मेरो बाउँडिएका औँलाले समातेका सिन्का तिर इसारा गर्दै फेरी भनि ”सर यु वाना फोर्क?!?!?!” बल्ल पो बुझेँ, हाम्रो हालत देखेर मोरीलाई, दया लागेछ, “काटाँ ल्याईदिऊ” भनेर सोधेकी पो रै’छे”।
बल्ल बल्ल त्यो भाँडोको नुडल्स सकियो तर त्यो एक प्लेट किम्ची भने सक्ने आट आएन…. अनि वेटरलाई बोलाइयो र भनियो “”बिल प्लिज””।
[दुई बर्ष जती पहिले त्यही एरियामा चाईनिज रेष्टुरेण्ट खोज्दै जाँदा एउटा अवैध रुपले कुकुरको मासु बच्ने रेष्टुरेण्टमा पुगेका थियौँ, समय मिलेमा त्यो अनुभव पनि लेख्ने छु।]




