RSS

Author Archives: krishol

एन. आर. एन. राजनैतिक रंगमचंको खेल हुने कृडास्थल हुनेछ

कुरा फेरी पनि एन. आर. एन. कै। तर यस पाली निमेस गिरी ज्युको बिचार, जस्ता को त्यस्तै:

सन् २००३ मा स्थापित गैर आवसिय नेपाली संघको पाचौ विश्व सम्मेलन सम्पन्न हुन गईरहेको परिवेशमा विश्वका विभिन्न राष्ट्रहरुमा राष्ट्रिय समन्वय समितीको चुनावी सरगर्मिले एन।सी।सी। तातिरहेको छ । त्यसैको उपज यूएईमा पनि चुनावी सरगर्मि शुरुवातसंगै सहमतिको भएका छन् र हुने क्रममा छ । कुरामा सहमति हुनु र सहमतिका प्रयास गरिनु निश्चय पनि सरहानिय कार्य हो तर सहमतिको आधारहरु के हुन् र त्यसले भविष्यमा कस्तो किसिमको कि्रया प्रतिकि्रया लिएर आउछ त्यसलाई नजर अन्दाज गरिनु हुदैन् । यदि सहमतिको प्रतिफलले कुनै पनि संस्थालाई प्रगति सफलता तिर उन्मुख गराउँछ भने त्यो सहमतिलाई प्रोत्साहन एवं हौसला प्रदान गर्नु पर्दछ । होईन त्यसले गलत किसिमको प्रकि्रयाको शुरुवातलाई प्रोत्साहान गर्दछ भने त्यस प्रकि्रयाको विरोध गरिनु पर्दछ ।

भर्खरै यूएईमा एन।सी।सी। यूएईको निर्वाचन प्रकि्रयामा परेका उमेदवारीलाई सहमतिको आधारमा समिति गठन गर्ने उदेश्यका साथ सहमति गराउन प्रयासकालागी यहाँ स्थित विभिन्न समाजिक व्यतिहरुले पहल कदमी गरेका थिए र जसमा आई।सी।सी। कोषाध्यक्ष रामेश्वर शाह आई।सि।सि। सदस्य पि।एस।लिम्बु एनसीसी अध्यक्ष चुडामणी ढकाल आइसीसीका भूपू मध्यपूर्व संयोजक चन्द्रप्रसाद सापकोटा नेपाली समाजका अध्यक्ष कृष्ण ढकाल लगाएतका व्यतिहरुले सहमतिको प्रयास गर्दै वहु संख्यक पदहरुमा सहमति गराएका छन् । सहमति गराउनु वास्तवमानै राम्रो कदम हो । तर सहमतिको मापदण्ड संस्थाको हितमा भयो भने त्यो सहमतिले राम्रो प्रतिफल ल्याउने कुरामा विमति हुन सक्दैन ।

एन। आर। एन। एक गैर राजनैतिक संस्था भएता पनि यसको चुनावी माहोलमा राजनैतिक संघ संस्थाहरुलॆ पुर्ण राजनैतिक रंगले होली खेलिएको देखियो । वास्तवमा मानिसहरु राजनैतिक प्राणि हुन र राजनैतिक चेतना संस्थागत कार्यको लागी र व्यतिको नेतृत्व क्षमाताको बिकासकालगी सहि भएता पनि यहाँ देखिएको राजनैतिक खिचातानी र म फलानो दलको मेरो सदस्य संख्याको आधारमा निम्न पद मेरो संस्थाको बटमलाईन हो भन्ने परिपाटीको शुरुवात भएको छ । वास्तवमा यहां देखिएको यस किसीमको राजनैतिक अराजकताले नेपालको राजनैतिक अवस्थालाई उजागर गरेको छ । यहां पनि सामाजीक संस्था भित्र छिरेर आफनो राजनैतिक अभिष्ठा पुर्ति गर्नका लागी राजनैतिक दलका भातृ संगठनहरुको यस प्रकारको खिचातानीले प्रत्येक व्यतिलाई संस्थागत कार्य गर्नकालागी र संस्थामा आउनकालगी कुनै न कुनै राजनैतिक दलको टोपी लगाएर मात्र सामाजीक कार्य गर्न र संस्था भित्र पस्नकालागी योग्यताको कसि उसको राजनैतिक पृष्ठभुमी र उसको राजनैतिक सदस्यता र उसले उक्त संस्थामा छिर्नकालगी चढेको राजनैतिक भर्यागंले मात्र उसको योग्यताको कसि बन्दै जाने हो भने भोली यस किसिमको राजनैतिक खेलले युएईको सम्पुर्ण सामाजीक संघ संस्थालाई कुनै न कुनै राजनैतिक दलको पुच्छर बन्ने निश्चित बनिसकेको छ । आज यसै किसिमको राजनैतिक खेलका कारण देशमा प्रधानमन्त्रि प्रप्त गर्न १८औ पटक सम्म म्याराथुन दौडिरहेको दृश्य हामी बाट नलुकेको भएता पनि त्यहि परिदृश्यलाई हामीले युएईको भर्खरै खनिएको एन।आर।एन।रुपी रोडमा त्यहि परिपाटीको अलकत्राले चिल्लो बाटो बन्छ भनेर सोचिरहेका छौ जसको उपज हामी आज रोड बनाउन सफल भएता पनि भोली बिरोधकालागी त्यहि रोड भत्काउन अग्रसर हुने समुह पनि तयार गरिरहेका छौ ।

त्यसै गरी यस संघको चुनावी माहोलको शुरुवात भन्दा अगाडीनै राजनैतिक संघ संस्थहारुविच सहमतिको नाममा राजनैतिक भागबंडा मिलाउन तल्लिन हुने समाजका लब्ध प्रतिष्ठित व्यतिहरुले नै यस किसिमको प्रकि्रयालाई बडाउन सघाईरहेका छन् । राजनैतिक दलका अगुवाले दिएको एक अभिव्यतिले साच्चै नै भोलीको दिनमा राजनैतिक पर्टीदेखी वाहेका कुनै अन्य संस्था चल्न सक्दैन भन्नु कतिको सार्थक हुन सक्छ । के आज भँदा ५७ वर्ष अगाडी देखी मात्र नभएर सन् १९९० देखी यहांका कुनै पनि सामाजीक संघ संस्थाले कुनै काम गर्न सकेका थिएनन के हालका दिनमा पनि युएईको सामाजीक कार्यमा राजनैतिक दलमात्र अगाडी हो होईन कदाचित होईन । यो त नेपालको राजनैतिक परिवर्तन संगै आस्थका आधारमा सन् २००७ पछाडी मात्र राजनैतिक संस्थाहरु सकि्रय भएको देखिएको हो । राजनैतिक दलले सामाजीक कार्य गरेको भएता पनि उसले राजनैतिक कार्य नै उसको प्रमुख एजेण्डा हो । हात्तिको खाने र चपाउने दाँत अलग अलग भएजस्तै मात्र हो ।

विदेशमा आजकाल सामाजीक संघ संस्थाहरु भित्र कसको पकड बढि रहने भन्ने राजनैतिक उदेश्यले राजनैतिक पार्टीहरु कि्रयाशिल भएको देखिन्छ । यो राजनैतिक कि्रयाकलापले सामाजीक कार्य गर्न चाहाने व्यक्तिहरु प्ााखा लाग्दै जाने क्रम बढिरहेको छ । एन।आर। एनको यस भन्दा अघिका र भर्खरै सम्पन्न भैसकेका र भैरहेका चुनावमा राजनैतिक होडबाजीले भोली कुनै दिन गैर राजनैतिक भनिने यस संस्थाले राजनैतिक संस्थाहरुको अखडा बन्ने निश्चित देखिन्छ र यसका शाखा रहेका हरेक देशमा राजनैतिक रंगले चुनावी होलीको मंच्चन भईरहेका छन । हुदै जाने क्रममा पनि छन । चाहे त्यो कतार बेल्जियम र यूएई यि त केहि देशका नामहरु म्ात्र हुन । त्यसैले यस किसिमको राजनैतिक खेलले संस्थालाई अग्रगति तिर लिएर जाने भन्दा अबनति तिर लिएर जाने निश्चित देखिन्छ । किनभने राजनैतिक आस्थाका आधारमा हरेक निर्णय र कार्य सम्पादन हुन थाल्दछ । सन् २००३ मा स्थापित गैर आवसिय संघ राष्ट्रिय समन्वय परिषद यूएईको सदस्य संख्या निर्वाचन प्रकि्रयाको घोषणा हुनु अगाडी करिब ४००को हाराहारीमा थियो अहिले राजनैतिक सकि्रयताले यस संस्थाको साधारण सदस्यता २०२७ पुगेको छ । संस्थागत आधारमा सदस्य संख्याको बृद्धि हुनु संस्थाकोलागी राम्रो हो तर उक्त साधारण सदस्यहरु कतिको कि्रयाशिल हुन्छन त्यसमा निरर्भर रहने छ । तर के कुराको ग्यारेण्टि गर्न सकिन्छ भने अबको कार्यकालको अन्त्यसंगै अर्को कार्यकालको निर्वाचनमा यो संख्या घटॆर ३०० देखि ५००को हाराहारीमा आउनुका साथै त्यस समयमा उमेदबारी दिने व्यतिहरुमा निर्भर रहन्छ के कति नयां सदस्यता लिनेछन् । यस निर्वाचनको समयमा स्व स्फुर्त सदस्यता लिने भन्दा कुनै समुहको लहै लहैमा लागेर सदस्यता लिएका व्यतिहरुको बाहुलिएता छ । जसका उपज दर्ता भएका बहुसंख्यक नयाँ सदस्यहरुलाई एन। आर। एन। ले गर्ने काम यसको कार्यनिति र यस संस्थाको बारेमा केहि जानकारी छैन । ति सदस्यहरु केवल कुनै समुहलाई जिताउनका लागी मात्र सदस्यता लिएका कारण संस्थाले संख्या विस्तार त गरेको छ तर स्तरीयता प्राप्त गर्न सक्दैन । कुनै पनि संघ संस्थाले संख्या भन्दा स्तरयीता र प्राप्तहुने गुणात्मक प्रतिफल नै सो संस्थाको धेय र उसको पुँजी हो र हुनुपर्दछ ।

यो राजनैतिक भागवण्डाको समस्या शाखा संस्थाहरुमा मात्र नभएर यसको केन्द्रिय नेतृत्व र त्यसका चुनावी प्रकि्रयामा पनि हामीले देख्न र भोग्न थालेका छौ । वर्तमान कार्यकालको विगतको चुनावी कार्यक्रममा नै त्यसको विजारोपण भएको स्पष्ट देखिएको थियो । त्यसैले यसको केन्द्रिय नेतृत्वले पनि राजनैतिक भागवण्डालाई कसरी अफनो पक्ष्मा प्रयोग गर्न सकिन्छ भन्ने चिन्तनले ग्रसित भएको अवस्थामा अब काठमाडौ हुने चुनावलाई कसरी राजनैतिक हस्तक्षेप मुक्त निर्वाचन सम्पन्न गराउने जिम्मेवारी थपिएको छ । तर राजनैतिक हस्तक्षेप बिहिन निर्वाचन गर्न असम्भव छ जसको मुल कारण यसका केन्द्रिय नेतृत्वको उमेदवारहरु नै राजनैतिक रंगरोगनमा पर्दा पछाडि उभिएर निर्देशन गरीरहेका छन । र काठमाडौमा हुने कुम्भ मेलामा राजनितीक पार्टीहरुको घर दैलो गर्दौ आफनो पद सुनिश्चित गरेको विगतमा पनि देखिएको थियो । यस पटक झन चरम उत्सर्गमा पुग्ने निश्चित छ जसका कारण राष्ट्रिय समन्वय समितिको निर्वाचनमा कसैलाई बसाउन र उचाल्न नेपालका उच्च राजनैतिक दलका नेताहरुलाई गरिएको आग्रहले देखाईसकेको छ ।

त्यसैगरी आफनो दुनो सोझयाउने उदेश्यले सहमतिको नारा भजाउदै जति पनि पद निर्माण गर्न सकिन्छ भँदै भागवण्डाकालागी नभएका पद निर्माण गर्दै सहमतिको रटानले अहिलेको चुनावी माहोलको अन्त्य भएपनि भोली राष्ट्रिय समन्वय समितिको बैठकमा कोरम पुर्याउन समस्या हुनुका साथै जम्बु समिति गठन हुनेछ र कुनै दिन एउटै संस्थाको ४ जना अधक्ष्य ७ जना उपाध्यक्ष ७ जना महासचिव १४जना सचिव र २८ जना कोषाध्यक्ष हुदै २०१७ जना केन्द्रिय सदस्यको पनि राजनैतिक भागवण्डा मिलाउनकालागी तयार हुने अवस्था आउने सम्भावना देखिन्छ । समग्रमा भन्दा एन।सी।सी। युएईमा मात्र राजनैतिक भागवण्डा नभई प्रत्येक एन।सी।सीका निर्वाचनमा राजनैतिक खिच्चातानि र भागवण्डाको शुरुवातले कालन्तरमा एन। आर। एन। राजनैतिक रंगमचंको खेलहुने कृडास्थल हुनेछ । यदि यसका संस्थापक संरक्षक र केन्द्रिय नेतृत्वले राजनैतिक खेलमा वेलैमा अंकुश नलगाउने हो भने ।

*****

निमेस गिरी ज्यु यु.ए.ई मा कार्यरत हुनुहुन्छ।

 
1 Comment

Posted by on September 12, 2011 in Article, NRNA UAE

 

Tags: , , , , , , ,

व्यस्त जिन्दगीको बिचबाट

हुन त सबैलाई आफ्नै जिम्मेवारी, आफ्नो काम नै ठूलो लाग्छ, आफू नै धेरै व्यस्त भएको जस्तो लाग्छ तर विगत एक डेड महिना देखी म सोच्दै छु र भोग्दै छु, कस्तो व्यस्ततालाई “धेरै व्यस्त” भन्ने? (how much is too much?) ८ बर्षे पेशागत जीवनमा यस्ता व्यस्तता तथा कठिन दिन हरू नआएका पनि होइनन् तर खै किन हो कुन्नि यस पालीको चाही आफैंलाई भिन्न किसिमको लागेको छ। जे जस्तो भए पनि आफूले गर्ने सक्ने गर्ने त हो नि, म पनि त्यही गर्दै छु। मैले यो काम गरेर अथवा नगरेर कसैले मलाई केही भन्ला भन्दा पनि मैले आफूले सक्दो गर्ने हो र त्यस्तै गरेको छु बाँकी भगवान भरोसा :)

खासमा धेरै कुरा लेख्न पनि मन छैन। यो पनि मन नलागी नलागी लेख्दै छु। दिमाग फ्रि नभए पछि कहि गर्ने जाँगर चल्दो रहेनछ। त्यसैले पनि धेरै दिन भयो ब्लग अपडेट गरेको थिइन। धेरै दिन सम्म अपडेट गरिन भने फेरी पछि फुर्सदको समयमा पनि लेख्न जाँगर नचल्न सक्छ भन्ने लाग्यो त्यसैले यसलाई निरन्तरता दिनलाई भए पनि यो पोष्ट लेखेको हुँ।

यति लेखिसके पछि माथि देखी सरसर्ती पढेको त लेख त छेउ न टुप्पोको पो भएछ :) ह्याsss.. जस्तो सुकै होस्, लौ जा पोष्ट गर्दिए…..!!!!

 
Leave a comment

Posted by on August 20, 2011 in Random

 

Tags: , , , ,

मध्यपूर्वमा एन.आर.एन. ए. को औचित्य र प्रभावकारीता

एन.आर.एन. ए. कै बारेमा अरू थप कुराहरू पनि लेख्न मन लागेका ले फेरी पनि केही कुराहरू लेख्दै छु। खै तपाईँहरूले “एन.आर.एन. ए. ले नेपाल र नेपालीको हक हितमा काम गर्छ” भन्ने बित्तिकै के बुझ्नु हुन्छ थाहा छैन तर मैले भने “गैर आवासीय नेपालीहरूले विदेशमा कमाएको पुजी नेपालमा लगानी गर्दै रोजगारी तथा विकासको अवसरहरू सृजना गर्ने” भन्ने बुझेको छु। यो मेरो बुझाई मेरो अन्तर आत्माबाट आएको पक्कै पनि होइन। यो त एन.आर.एन. ए. को उद्देश्य, बेला बेलामा यसले गर्ने कार्यक्रममा पदाधिकारीहरूले गर्ने कुरा र यो संस्थाले सरकारसँग गर्ने माग हरू देखेर नै आएको हो। एन.आर.एन. ए. को उद्देश्य केबल नेपालमा लगानी गर्ने भन्ने मात्र होइन र यो संस्था आफैंमा नराम्रो हो पनि होइन। अझै सम्म पनि एन.आर.एन. भन्ने बित्तिकै धेरै नेपालीको दिमागमा सर्वप्रथम त  उपेन्द्र महतोको नाम नै आउँछ होला। कारण उहाँले  एन.आर.एन. ए. मा दिनु भएको योगदान र नेपालमा भित्र्याउनु भएको लगानी नै हो।

एन.आर.एन. ए. विश्वव्यापी रूपमा फैलँदै रहेछ भन्ने जानकारी यसको वेबसाइटबाट पनि पाउन सकिन्छ। एन.आर.एन. ए. का उद्देश्यहरू हेर्ने हो भने वास्तवमै नेपाली र नेपालको हितका लागी नै रहेका छन्। र यो संस्था नेपाली रहेका प्रत्येक देशमा हुनु जरुरी पनि छ।

यस्तै एन.आर.एन. ए., यु. ए. ई. मा पनि रहँदै आएको छ र रहनुपर्छ। यसमा मेरो कुनै आपत्ति छैन। कुनै संघ संस्था होस या व्यक्ति, समय सापेक्ष र वातावरण अनुकूल काम गर्न सकेन भने त्यसको औचित्य र प्रभावकारीता मा प्रश्न चिन्ह खडा हुनु स्वाभाविक नै हो। हो, मेरो आपत्ति यहीँ निर छ। यो मेरो आपत्ति केबल एन.आर.एन. ए., यु. ए. ई. लाई मात्र नभएर मध्यपूर्बी देशहरूमा रहेका सम्पूर्ण एन.आर.एन. ए. हरू प्रति हो। विगत एक-डेड दशक देखी मध्यपूर्बी देशहरू नेपालीका लागी सजिलो रोजगारीको गन्तव्य भएको कुरा कसैले नकार्न सक्दैन। देश १२ बर्षे गृह युद्ध बाट गुज्रँदै गरेको अवस्थामा पनि देशको अर्थतन्त्र धानिनु मा सबै भन्दा धेरै श्रेय यहाँ बाट मिलेका रोजगारीको अवसर लाई नै जान्छ। तर मध्यपूर्व को रोजगारीको वास्तविकता के हो भने बहुसङ्ख्यक को हकमा यहाँ को आम्दानी दिर्घकालीन रहन सक्दैन। एउटा निम्न अथवा मध्यम वर्गीय नेपाली दुई-तीन वर्ष यहाँ बसे पछि कम्पनीसँगको कन्ट्रयाक्ट सकिएर होस् वा नेपालमै गएर केही गर्छु भन्ने आटले नेपाल फर्केको होस्, नेपालमा बढि मा ६ महिना टिक्न सक्दैन र भौतारीदै फेरी काठमाण्डौं का गल्लीहरूमा म्यानपावर कम्पनी खोज्दै हिँड्छ। मध्यपूर्बी देशहरूमा भएका एन.आर.एन.ए. ले यो तीतो सत्यलाई स्विकार्नु जरुरी छ। हालै का दिन हरू मा आएर मध्यपूर्बी देशहरूमा राम्रो आर्थिक उचाइमा पुग्ने नेपालीहरूको सङ्ख्या पनि बढ्दो छ तर पनि यसलाई नै आधार मानेर यहाँ को एन.आर.एन.ले कार्यदिशा निर्धारण गर्छ भने उसले यहाँ रहेका बहुसङ्ख्यक नेपालीहरूको प्रतिनिधित्व गर्न सक्दैन।

नेपालको अहिलेको भयावह समस्या भनेको “जनशक्ति पलाएन” हो। हाम्रो जस्तो अल्प विकासित देशका लागी “जनशक्ति पलायन” राम्रो हो या नराम्रो हो भन्ने कुरा आफैंमा एउटा ठूलो विवादको विषय बन्न जान्छ तर मेरो विचारमा यो क्षणिक समयका लागी फाइदा जनक भए ता पनि दिर्घकालिन रूपमा पक्कै पनि राम्रो होइन। प्रतिशतकै हिसाबले हेर्ने हो भने पनि पलायन हुने देशहरू मध्ये सबै भन्दा ठूलो हिस्सा मध्यपूर्बी देशहरूले नै ओगटेको छ। जहाँ नेपालीहरू सबै भन्दा धेरै पलाएन भएका छन् र बहुसङ्ख्यक को आम्दानीको स्रोत निम्न छ, त्यहाँका रहेका एन.आर.एन.ए. ले नेपालमा ठूला-ठूला लगानी गर्ने कार्यदिशा बनाउनु, खोक्रो आदर्श बाहेक केही हुन सक्दैन।

हालको स्थितिमा मध्यपूर्बी देशमा रहेका एन.आर.एन.ए. ले साँच्चै नै नेपाल र नेपालीको हितका लागी काम गर्ने हो भने निम्न लिखित कार्य हरू लाई प्राथमिकता दिनु नै समय सापेक्ष र वातावरण अनुकूल कार्य हुन जान्छ:

  1. तारे होटलमा ह्विस्की को चुस्की लिँदै नेपालमा बिद्युत् गृह खोल्ने कार्यदिशा बनाउने भन्दा यहाँका लेबर क्याम्पहरूमा गएर यहाँ को निम्न स्तरकै आम्दानीलाई भए पनि कसरी व्यवस्थित गर्न सकिन्छ र त्यसले नेपालमा गएर के गर्न सकिन्छ? कसरी गर्न सकिन्छ? भन्ने खालका उपायहरूको बारेमा छलफल गर्ने। (मरी मरी काम गरेर परिवार धान्न ठिक्क हुनेहरूलाई करोडौं लगानीका व्यवसायहरूको कुरा गरेर तर्साउने भन्दा गोठमा गाई पाल्ने र बारीमा हरियो तरकारी फलाउन का लागी उत्प्रेरीत गर्ने।)
  2. नेपालबाट लाखौँ खर्च गरेर कलाकार ल्याएर एक साँझ रमाइलो गरेर बिताउनु भन्दा त्यही खर्चले नेपालमा नै केही गर्न सकिन्छ भन्ने सोच भएका र गरेर देखाएका हरू लाई यहाँ ल्याएर उनीहरूका अनुभव तथा विचारहरू प्रस्तुत गर्ने। (नेपालमै रहेकालाई पलायन हुन बाट रोक्ने गरिने प्रयास भन्दा पनि यहाँ बाट नेपाल फर्कनेलाई फेरी पलायन हुन नदिन गरिने प्रयास नै गर्नु बढि प्रभावकारी रहन्छ। किनभने एक चोटि पलायन भई सकेको ले यहाँ को दुख र परिवारबाट टाढीनु को पिडा भोगी सकेको हुन्छ।)
  3. कसै गरी वैदेशिक रोजगारमा आउनै चाहनेहरूका लागी नेपालमा रहँदा नै यहाँ को वातावरण बारे बारे प्रशस्त जानकारी उपलब्ध गराउने। ताकी वैदेशिक रोजगारमा आउनेहरू यहाँ आएर ठगिन नपरोस्।

समग्र मा भन्नु पर्दा मध्यपूर्बी देशमा रहेका एन.आर.एन.ए. को औचित्य र प्रभावकारीता तब रहन्छ जब यसले यहाँ का बहुसङ्ख्यक नेपालीलाई समेट्न सक्छ।

यसै प्रसङ्गमा हिजोको एउटा घटना लेख्न मन लाग्यो। हिजो दिउँसो एक छिन फेसबुकमा लगईन गरेको थिए। साथी जितेन्द्रले मलाई पनि “NRNA-UAE Campaign” भन्ने फेसबुक ग्रुपमा मा एड गरेका थिए। त्यहाँ उही चुनावको माहोल थियो, शुभकामना आदान प्रदान, नयाँ सदस्य बन्ने, सदस्यता नवीकरण गर्ने, यस्तै यस्तै कुराहरू हुँदै थिए। अनलाइन हुनेहरूमा धेरै जसो एन.आर.एन.ए यु.ए.ई का पदाधिकारीहरू हुनुहुदो रहेछ। त्यसैले मैले अस्ति राखेको जिज्ञासा हरू को जवाफ कसै सँग छ कि भनेर सोधे। तर्क वितर्क हुँदै गयो। मेरा प्रायः जिज्ञासाहरूको जवाफ “www.nrn.org.np हेर्नोस” भन्ने बाहेक केही आएको थिएनन्। कोही पदाधिकारीले साह्रै नम्र किसिमले जवाफ तर्क राख्नु भएको थियो त कसैले उहाँको पद मैले खोस्नै जान लागेझै गरी तर्क राख्दै हुनु हुन्थ्यो। यसै सिलसिलामा “एन.आर.एन. का अगुवा उपेन्द्र महतोले नेपालमा लगानी गरे भन्दै सबैले त्यही कार्यलाई पछ्याउनु पर्छ भन्ने केही छैन, एन.आर.एन.ए. यु.ए.ई. ले यहाँ को वातावरण अनुकूल नेपाल र नेपालीको हितमा अरू कार्य गर्न मा ध्यान दिनु पर्छ” भन्ने मेरो तर्कमा एक जना महानुभावले “You are jealous on other’s achievement, everybody knew it” भन्दै मलाई “ईर्ष्यालु” को उपाधि दिनु भयो। मेरो दुर्भाग्य! उहाँ एन.आर.एन.ए. यु.ए.ई. को कार्य समिति भित्रको पदाधिकारी हुनुहुदो रहेछ :) । त्यस पछि मलाई त्यहाँ कुरा गर्न बेकार लाग्यो र त्यहाँ बाट बाहिरीए।

नोट: यो मेरो नितान्त व्यक्तिगत ब्लग हो। हिजो को एक छिन को फेसबुक च्याट पछि मैले कोही कसै सँग बाट जवाफको अपेक्षा राखेको छैन। केबल आफ्नो ब्लगमा आफ्नो बिचार हरू पोखेको मात्र हुँ।

 
2 Comments

Posted by on August 3, 2011 in Article

 

Tags: , , , ,

एन.आर.एन. ए. – यु.ए.ई का उम्मेद्वारलाई मेरा जिज्ञासा

सुनेको छु एन.आर.एन. ए. – यु.ए.ई को चुनाव आउँदै छ रे। फेसबुक तीरको चहलपहल देख्दा त, नेपालमा चुनावको बेलाको झल्को नै मेटाई दिन्छ। मैले बुझेको एन. आर. एन. भनेको “विदेशमा स्थायी – अस्थायी बसोवास गर्ने नेपालीहरूको संस्था हो जसले नेपाल र नेपालीको हक हितमा विदेशमै बसेर काम गर्छ”। दुई लाख भन्दा बढी नेपाली जनसङ्ख्या भएको यु.ए.ई मा यो संस्था नहुने भन्ने कुरानै भएन। बेला बेलामा विभिन्न कार्यक्रमहरूमा यो संस्थाका महानुभावहरूले सदस्यता लिनको लागी यहाँ रहेका नेपालीलाई अनुरोध गर्नु भएको पनि देखेको छु। म यु.ए.ई मा बसेको ३ बर्ष भयो तर यसको सदस्यता लिएको छैन। सदस्यता लिनु अगाडि, अहिले चुनावमा उम्मेदवारी दिनु हुने महानुभावहरू सँग म केही जिज्ञासाहरू राख्न चाहन्छु। कृपया कसैले मेरा जिज्ञासाको जवाफ दिनु भएमा आभारी हुने थिए।

१. यु. ए. ई मा विभिन्न पृष्ठभूमिबाट आउनु भएका र रहनु भएका नेपाली दाजुभाइ दिदी बहिनीहरू हुनुहुन्छ। यहाँ रहनुहुने निम्न लिखित पृष्ठभूमिमा भएकाहरू नेपाली नागरिकहरूलाई यो संस्थाले के औचित्य राख्छ?

  • ऋण खोजी खोजी दलाललाई लाखौ बुझाएर यहाँ आउनु भएका, मासिक किस्ता-बन्दीमा ऋण चुक्ता गर्दै, बचेको ले घर परिवार चलाउने बर्ग।
  • यहाँ को कमाइले घर चलाउन र छोरा छोरी पढाउन ठिक्क हुन बर्ग।
  • ठिक्कै ठिक्कै आम्दानी भएका, आफ्नो जागिर गर्ने, यहाँ रहेका कुनै पनि नेपाली संघ-संस्थाहरूमा (राजनीतिक र जातीय) सदस्यता अथवा सहभागिता नभएको बर्ग।
  • पेशागत र कमाइको हिसाबले राम्रै उचाई मा पुग्नु भएका तर पनि कुनै संघ-संस्थाहरू सदस्यता अथवा सहभागिता नभएका बर्ग।

२. तत्काल को समितिमा रहनुभएका र आउँदै गरेको चुनावमा उम्मेदवारी दिने महानुभावहरू प्रायजसो यहाँ रहेका कुनै न कुनै राजनीतिक, जातीय र वर्गीय संस्थाहरूका चल्ता-फुर्ता सदस्यहरू नै हुनुहुन्छ। यो हिसाबमा एन.आर.एन. ए. – यु.ए.ई  कुन स्थानमा छ?

३. एन.आर.एन. ए. – यु.ए.ई ले हाल सम्म नेपाल र नेपालीको हितका लागी के काम गरेको छ?

४. एन.आर.एन. ए. – यु.ए.ई को यहाँ रहेका नेपालीहरू प्रति कस्तो दायित्व राख्दछ?

प्रश्नहरू अरू पनि छन्, यी प्रश्नहरूको जवाफ आएमा बाँकी प्रश्नहरू राख्ने छु। एन.आर.एन. ए को बारेमा मेरो बुझाई गलत हुन पनि सक्छ, यदि यसो हो भने कृपया सरल भाषामा  यसको औचित्य बताइदिनु होला।

[Update] सायद एन.आर.एन. ए. – यु.ए.ई का सदस्यहरूलाई मेरो भनाइको मतलब अल्लि प्रष्ट भएन जस्तो छ। त्यसैले माथि उल्लिखित जिज्ञासाहरूलाई यहाँ को परिभेष अनुसार साथै केही थप जिज्ञासाहरू सरल भाषामा फेरी पनि लेख्दै छु।

  • ऋण खोजेर यहाँ काम गर्न आएका नेपाली लेबर दाजु भाइ, जसको दिनचर्या क्याम्प देखी साइट र साइट देखी क्याम्प बाहेक अरू हुनु नै लगभग असम्भव छ (सबै भन्दा बढि नेपाली जनसङ्ख्या यही बर्गको होला सायद), हो यस किसिमको बर्गलाई एन.आर.एन. ए. – यु.ए.ई ले के औचित्य राख्दछ??
  • उनीहरू प्रति एन.आर.एन. ए. – यु.ए.ई को दायित्व के रहन्छ??
  • उनीहरूले एन.आर.एन. ए. लाई के दिन सक्छन्??
  • अहिले सम्म एन.आर.एन. ए. – यु.ए.ई ती लेबर क्याम्पहरूमा पुगेको छ कि नाई??
  • अर्को ठूलो बर्ग भनेको यहाँ रहेका कुनै पनि संघ-संस्थामा आबद्ध नभएको बर्ग छ। त्यो बर्गलाई एन.आर.एन. ए. को बारेमा चेतना जगाउनुका लागी एन.आर.एन. ए. – यु.ए.ई ले के गरेको छ??
  • एन.आर.एन. ए. – यु.ए.ई का सदस्यहरू उल्लेखसित यी बर्गहरूमा बीचमा पुगेर “हामीले नेपाल र नेपालीको हितका लागी के गर्न सक्छौ” भन्ने बारे अन्तरक्रिया गरेको छ कि नाई??

र अन्त्यमा: मेरो विचारमा सीमित आमन्त्रित सदस्यहरूलाई बोलाएर तारे होटलमा गरीने अन्तरक्रियाले यु.ए.ई मा रहेका सम्पुर्ण नेपाली नागरीकलाई प्रतिनिधित्व गर्न सक्दैन।

 
1 Comment

Posted by on August 1, 2011 in Article

 

Tags: , , , ,

जीवन र नदी

तस्विर: Demovation.us

जीवनको परिभाषा सबैका आँ-आफ्नै छन् तर मेरा लागी जीवन एउटा अविरल बगिरहने नदी हो।

हिमालयको गर्भबाट निस्केको नदी विभिन्न अबस्था पार गर्दै समुन्द्र सम्म पुग्छ त्यस्तै जीवन पनि।  कहिले गर्जँदै त कहिले सुसेली हाल्दै त कहिले शान्त अनि चुपचाप तर नदि अविरल बगी नै रहन्छ।

नदि बग्दै जाँदा उसले विभिन्न किसिमका साथ हरू पाउने गर्छ। बर्षौ देखी जमेर बसेको हिउँ होस या कोमल कमेरे माटो, बालुवाको टुक्रा होस या अजङ्ग को चट्टान। विभिन्न अबस्थामा उसले विभिन्न किसिमका साथ हरू पाउने गर्छ। कुनै साथले उसको रङनै परिवर्तन गरिदिन्छ त कुनै साथले उसको बहकाउनै परिवर्तन ल्याइदिन्छ। तर जस्तोसुकै अबस्था र साथ आई परोस् नदी बगी नै रहन्छ चाहे चट्टानलाई खियाउँदै नै किन नहोस्।

यसै प्रशंगमा म यहाँ जीवनका विभिन्न कालखण्डमा आई पर्ने अबस्था, गरिने संघर्ष र पाइने साथहरू लाई जोड्न चाहन्छु। जीवनको यात्रामा चाहेर वा नचाहेर भोग्नु पर्ने अवस्थाहरूले कुनै बेला जीवनलाई द्रुत गति दिन्छन् त कुनै बेला जीवन चल्नै कठिन बनाई दिन्छन्। ति अवस्थामा गरिने सबै संघर्षले जीवनमा परिवर्तन नै ल्याउँछ भन्ने पनि छैन। नदी समतलका मोडहरुमा जति नै ठोकिँदै किन नबगोस्, त्यसले उसको बहकाउ मा खासै अर्थ राख्दैन; अर्थ त तब राख्छ जब अजङका चट्टानहरू खियाउँदै, पहाड र पखेराहरूमा ठोकिँदै बग्छ। त्यस्तै जीवनमा पाइने साथ हरू ‍ कोही आफुले चाहेका हुन्छन् त कोही नचाहँदा नचाहँदै पनि भोग्नु पर्ने हुन्छ। ती सबै साथहरूले जीवनमा कुनै न कुनै किसिमको छाप छोडीरहेकै हुन्छन्। कुनै साथले रातो माटोको पहाडबाट बगेको नदीजस्तो जीवन नै धमिल्याइदिन्छन् त कुनै साथले समतल भागमा रहेको सफा र स्वच्छ बगर माथि बगेको नदी जस्तै जीवन नै सुन्दर बनाइदिन्छन्।

तर जस्तोसुकै संघर्ष गर्नु परोस्, साथ झेल्नु परोस्, नदी बगी रहन्छ, जीवन चलिरहन्छ..!!!

[नोट: आज अफिसबाट फर्कँदै गर्दा बाटोमा यस्तै यस्तै कुराहरू मनमा खेल्यो, जसको कारक तत्व भनेको विगत केही हप्ता देखी भोग्नु परेको व्यस्तता र अनुभव नै हो। यस्तै यस्तै विचारहरू मनमा अझै छन् तर मिलाएर लेख्न आइरहेको छैन; प्रयास गर्दैछु।]

 
Leave a comment

Posted by on July 30, 2011 in Article

 

Tags: , ,

सरकारी कर्मचारीको तलब बृद्धि र मूल्य बृद्धि

हामीले बच्चा बेला देखि नै देख्दै र भोग्दै आएको कुरा हो, जब बजेट भाषण हुन्छ र सरकारी कर्मचारीको तलब बृद्धि हुन्छ तत्कालै दैनिक उपभोग्य वस्तु जस्तै दाल, चामल, चिनी, नुन साथै हरियो तरकारीहरूको समेत बजारमा अभाव देखिन थाल्छ। २-४ दिनको अभाव पछि उक्त वस्तुहरू बजारमा उपलब्ध हुन्छन् तर मूल्य बृद्धिका साथ त्यो पनि बिना कुनै आधार। गाउँको एउटा सानो खुद्रा व्यापारीले समेत आफ्नो भण्डारमा भएको समान बाहिर निकाल्दैन र भन्छ “समान नै आएको छैन”।

जब पेट्रोलियम पदार्थमा मूल्य बृद्धि हुन्छ तब विरोध सुरू हुन्छ, चक्का जाम हुन्छ, तोड फोड हुन्छ, नेपालका प्रमुख शहरका सडकहरूबाट टायरका मुस्लो निस्कन थाल्छ। मेरो भन्नुको मतलब यस्ता उदण्ड किसिमका विरोध हुनु पर्छ भन्ने पक्कै होइन। पेट्रोलियम पदार्थ बाहेक अरू दैनिक उपभोग्य सामानहरूको मूल्य बृद्धि हुँदा किन जन चासो निस्कँदैन? के हामी सरकारले मूल्य बृद्धि गर्दा मात्र चासो देखाउने हो? के व्यापारीहरूलाई मूल्य बृद्धि गर्न छुट छ?

नेपालमा सरकारी कर्मचारीको जन-सङ्ख्या कति छ त्यो त मलाई थाहा भएन, लाग्छ १% भन्दा कम नै होला। के त्यो जन-संख्याको १०-२० प्रतिशत तलब बृद्धि हुँदा बाँकी रहेका ९९% हरूलाई हेर्दै नहेरी कन, सरकारको कमजोर नीति-नियमको फाइदा उठाउँदै, व्यापारीले दैनिक उपभोग्य सामानको मूल्य बृद्धि गरिनु कति सम्म को गैर जिम्मेवारी कदम हो? सरकार चुपचाप हेररै बसिरहन्छ। र व्यापारीहरू भन्छन् सरकारले हामीलाई सहुलियत-सुविधा दिएन।

हो पक्कै पनि हाम्रो देशमा कुनै पनि विषयमा व्यवस्थित नीतिहरू छैनन्। नीति निर्माणमा रहेकाहरू, नेता तथा सरकारी कर्मचारीहरू त म यहाँ कुरा गर्नै चाहान्न। हामी सधैं तिनैलाई गाली गर्छौ र तिनैलाई मात्र दोष दिन्छौ। एउटा गाउँको खुद्रा व्यापारीले बिना कुनै आधार आफ्नो पसलमा भएको सामानको मूल्य बृद्धि गरेर आम नागरिकलाई ठग्छ भने त्यो व्यापारी र एउटा भ्रष्ट कर्मचारी/नेतामा के नै फरक रह्यो र? सरकारको कमजोर नीति-नियमको फाइदा भरपूर उठाउन यहाँ कोही कसैले छोड्दैनौ र हामी भन्छौ नेताले देश बिगारे।

ढोकामा राम्रो सँग ताल्चा नलगाएको फाइदा उठाउँदै भित्र छिरेर चोर्नु – बिगार्नु मा चोर को धेरै गल्ती हुन्छ कि ताल्चा राम्रो सँग नलगाउने को??

 
Leave a comment

Posted by on July 23, 2011 in Article

 

Tags: , , , , , ,

“दैबी-शक्ती” मेरै घरमा घटेको एउटा सत्य घटना।

नोट: यो लेख मेरो घरमा दैबी-शक्तिले घटाएको घटनामा आधारित लेख हो। यदि तपाईँलाई दैबी-शक्तीमा विश्वास लाग्दैन र यो पढेर क्रिसोलले हावा गफ गर्यो भन्नुहुन्छ भने कृपया नपढी दिनु होला। मैले यो कुरा धेरै पटक लेख्न खोजे, तर अत्याधुनीक मान्छेहरूले उल्टो मलाईनै पागल बनाउछन् भन्ने सोचले लेख्न चाही रहेको थिइन तर जसले विश्वास गर्छ, उसको लागी यो घटना रोचक हुन सक्छ भन्ने मनसायले यो घटना लेख्दै छु।

कुरा आज भन्दा २० बर्ष अघीको हो अर्थात २०४८ सालको हो। असार २ गते हाम्रो कुल्यान (कुल देवता) को पूजा भएको थियो। बर्खे बिदा असार १ गते बाट सुरु भएको थियो। ४ गते साँझ त्यस्तै ५:३० बजे तिर दिदी र म आँगनमा खुट्टि खेल्दै थियौँ, बहिनी पिँढी आफ्नै सुरमा खेल्दै थिई। आमा घर माथिको कर्कलो बारीमा तरकारीका लागी कर्कलो टिप्न जानु भएको थियो।

एक्कासि जस्ताको छानामा ढ्वाङ्ग आवाज आयो, छिमेकी केटाहरू घर माथिको बाटो हिँड्दा बेला बेलामा  हामीलाई तर्साउन ढुङ्गा हान्दै हिँड्ने गर्थे। आमा कराउनु भयो -
“हैन, तिमीहरूका आँखा फुटे कि क्या हो, आँगनमा केट्केटी खेल्दै छन्, कुठाममा लागेर केहि भै’हाल्यो भने क्यार्छौ, अरूलाई त मान्छे नै गन्दैन हे, काँहा गएर जाक्किन्छन अनी थाहा पाउछन………. “
यस्तै यस्तै भन्दै आमा कर्कलो टिप्दै भट्भट्याउदै हुनु हुन्थ्यो, कसले ढुङ्गा फालेको हो कोही देखिएको भने थिएन।

आमा आउनु भयो, भान्छा तिर छिर्नु भयो, हामी भने आँगनमा नै खेल्दै थियौँ, जस्तामा ढुङ्गा फेरी बज्यो।

यस पाली चाही आमा मज्जाले झोक्किदै बाहिर निस्कनु भयो -
“को हो यो ? पख् तेरा बा आमालाई भनेर खुट्टा भाँच्न नलाई छोड् दिन”
यस्तै भन्दै आमा घर माथि तिर जानु भो, आमा झोक्किदै गएको देखेर हामी पनि आमाको पछि पछि गयौँ। माथि बाटो सम्म पुग्यौ, वरिपरी हेर्यौ, कोही थिएन। अल्लि परै सम्म पुग्यौ कोही थिएन। फर्कँदै थियौँ, फेरी घरको छानामा ढुङ्गा बज्यो।

अब त आमाको साथ साथै हामी पनि कराउन थाल्यौ। हामी सबै कराएको सुनेर एक जना दाई र अङ्कल हाम्रो घरमा आई पुगे। हामीले ढुङ्गा हानेको कुरा भने पछि दाई र अङ्कल घर माथि हेर्न गए। आमा, दिदी र बहिनी घरमै बसे, म चाही दाई र अङ्कलको पछि पछि लागे। हामीले हल्ला खल्ला गर्दै घर माथिको लगभग सबै बारीका कान्ला मुनी, कान्ला माथि, झाडी, कुना काप्चामा हेर्यौ। हामीले खोज्दै गर्दा बीचमा अर्को ३-४ चोटि ढुङ्गा हानी सकेको थियो।
आमा, दिदी बहिनीले हामीलाई आँगनको छेउबाट हेर्दै हामीलाई भन्दै थिए -
“उ त्यता बाट आएको छ, त्यता तिर हेरो… “
हाम्रो हल्ला खल्ला सुनेर अल्लि पर पर घर हुनेहरू पनि कराउन थाले-
“ओइ.. के भयो????”
“यहाँ कसले हो अघि देखी ढुङ्गा हानी र’छ..” “ओइ… को हो….!!!!” हामी कराउँदै थियौँ। लगभग अँध्यारो हुन लागी सकेको थियो, त्यत्तिकैमा अरू ३-४ जना दाईहरू पनि आई पुगे। फेरी उनीहरू पनि हामीले पहिला खोजेको ठाउँ तिर खोज्न थाले। मान्छेहरू आउने क्रम बढ्न थाल्यो। सबैले बाटो माथि भएको बाँसको झ्याङमा कोही लुकेर हानी रहेको छ भन्ने शंका गरे। साँझ परी सकेको हुँदा लगभग सबैको हातमा टर्चलाईट थियो। सबै जना मिलेर बाँसको झाडी तर्फ लाग्यौ। जब सबै जना बाँसको झाडी तिर थियौँ, फेरी पल्लो छेउ तिर बाट ढुङ्गा हान्यो। सबै ढुङ्गाहरू हाम्रो घरको छत र वरिपरीनै बर्सिरहेका थिए।  त्यहाँ भएका आधा जति दौडँदै त्यतै तिर गए। त्यही बेलामा दुई वटा ग्रुपको बीच बाट ढुङ्गा हान्यो जहाँ कोही थिएन। उता घरमा मान्छे जम्मा हुँदै थिए। बूढापाकाहरू पनि आइरहेका थिए।

यतिका खोज्दा पनि कोही नभेटिए पछि कता कता सबैलाई डर लाग्न थाली सकेको थियो। सबै जना फर्किएर आँगनमा जम्मा हुन थाले। बूढापाकाहरूले आफ्नो जमानमा तर्साउन दिएका कथाहरू सुनाउन थाले। सबैले यो किन भएको हुन सक्छ भन्ने तर्क राख्न थाले। एउटा बलियो तर्क आयो-
“अस्ति कुल देवताको पूजा गर्दा के बिग्रियो र यस्तो भएको हो”
र लगभग सबै जना यसमा सहमत पनि भए।
बूढापाका बाहेक अरु सबै डरले थर्र थर्र काप्दै थिए। हामीलाई पनि डर लागीरहेको थियो। तर आमा चाही त्यति डराउनु भएको थिएन, त्यसले गर्दा पनि हामीलाई केही साहस आएको थियो। लगभग तिन घन्टा पछि छतमा ढुङ्गाको आवाज आउन बन्द भयो र  बिस्तारै बिस्तारै सबै जना आ-आफ्नो घर फर्कन थाले।

भोली पल्ट फेरी दिउसो ३ बजे देखिनै ढुङ्गा बर्सिन थाले, हामी करायौ, मान्छेहरू आउने क्रम जारी रह्यो, सबैले आ-आफ्नो तर्क राख्दथे। सबै अचम्मीत हुन्थे। दोस्रो दिन पनि त्यस्तै रातीको ९ बजे तिर ढुङ्गा बर्सिने क्रम बन्द भयो। घर फेरी सुनसान भयो। हामी भने भय तथा अचम्मीतको मिश्रित अनुभव गर्दै बसेका थियौँ। एक पछि अर्को दिन गर्दै ढुङ्गा आउने समय बढ्दै थियो। एक हप्ता पछि त ढुङ्गा कुनै पनि बेला आउन थाल्यो। साथै हेर्न आउने मान्छेहरूको चाप पनि त्यँही हिसाबले बढ्दै थियो। सबै जना आ-आफ्नो तर्क राख्दथे, तर सावधान कसैसँग थिएन। बा काठमाण्डौं मा हुनु हुन्थ्यो, अहिलेको जस्तो सञ्चार सुविधा थिएन, खबर पठाउन हुलाकबाट नै चिठी पठाउनु पर्थ्यो। गाउँका पोखरामा अफिस हुनेहरू र अफिसमा फोन सुविधा हुनेहरूले यो कुरा बा लाई खबर गरिदिन आवश्यक ठानेनन्। हामी केट्केटी, आमा- एक्ली असाक्क्षर आइमाई, हाम्रो परिवार भने अन्योलमै दिन बिताई रहेका थियौँ, बिलकुल आपत्ति आई लागेको लोग्ने मान्छेबिना को घर। खैर, मेरी आमाले दैबी-शक्तिमा बढी नै विश्वास गर्नुहुन्छ र गतिलो धामीझाँक्री लगाए पछि यो जान्छ भन्नेमा आमाको विश्वास थियो त्यसैले गर्दा पनि हामी भयभित भएता पनि त्यहाँ बस्नै नसक्ने अबस्थामा भने थिएनौ।

त्यो घटनाको रोचक प्रसङ्ग के छ भने, हाम्रो गाउ बाट सेती नदि नजिकै पर्छ। जति पनि ढुङ्गा आउँथे, त्यो सबै सेती नदीका ढुङ्गाहरू थिए (पानीले पखालेका खोलाका छेउका सेता ढुङ्गाहरू)। त्यो ढुङ्गा आउने बित्तिकै सुध्यो भने, आगोमा पोलिएको ढुङ्गा जस्तो गन्ध आउँथ्यो र सबै भन्दा रोचक कुरा त त्यसरी आएका ढुङ्गाहरूले कोही कसैलाई छुँदैनथ्यो, छेउमै खस्थ्यो तर कसैको शरीरमा छुन्थेन। र त्यो ढुङ्गाहरू कसैको आखा परेनन् भने त्यहीबाट हराउने गर्थे।

एक हप्ता बित्यो, दुई हप्ता बित्यो, ढुङ्गा आउने क्रम जारी नै रह्यो, टाढा टाढाका मान्छेहरू आइरहेका हुन्थे। कोही ले “भुत हो, शंख फुकेर घर घुमे पछि भुत भाग्छ भन्थे, कोही ले “मैले यो झाँक्री चिनेको छु त्यसले यस्तो भुत धपाउँछ” भनेर फुर्ती लाउँथे। कोही भने “यो कुनै मान्छेकै काम हो भन्दै म खोजेर आउँछु भन्दै घर माथितिर दौडन्थे। कोही आएर मलाई देउता चढ्छ, म धपाउन सक्छु भनेर देउता चढेको नाटक गर्दथे। तर पनि ढुङ्गा बर्सिने क्रम जारीनै थियो। यस्तै यस्तैमा एक महिना बितिसकेको थियो। हामीलाई भने यो कुरा दिन चर्या जस्तै बनिसकेको थियो। बीच बीचमा एक दुई जना आफन्तहरूले झाँक्रीपनि लिएर आए, झाँक्रीले अनेक थरी गर्यो तर पनि ढुङ्गा रोकिएन।

डेड महिना पछि बा घर आउनु भयो। त्यही समयमा एक जना ठुलाबाको छोरा पनि (उहाँ त्यो बेला खैरेनीमा बसोवास गर्नु हुन्थ्यो र अहिले हेटौडामा बसोवास गर्नु हुन्छ) हाम्रो घरको खबर सुनेर हेर्न आउनु भएको थियो। उहाँले भन्नु भयो, “तनहुमा एक जना धामी छन्, उनले यस्तो कुराको धेरै ठाउँमा समाधान गरेका छन् रे, केही गर्न सक्छन् कि”। बा को र दाइको तिनै धामीलाई बोलाउने निर्णय भयो। १०-१५ दिन पछि दाइले धामी लिएर आउनु भयो। जब ती धामीले हेराउँदै, कुराहरू भन्न थाले त्यहाँ निकै नै “अकवार्ड सिचुयसन” भएको थियो (हामीहरूको लागी पनि र उहाँ दाइको लागी पनि)। के कुरा भएको थियो भनेर म यहाँ भन्न चाहिन। त्यो कुरा यहाँ भन्दा मरेर जानेको अपमान हुन्छ। र अन्त्यमा धामीले यो समस्या सावधान गर्नका लागी रुद्री लगाउनु पर्ने सल्लाह दिए। ढुङ्गा हान्ने, नयाँ नयाँ मान्छेहरू आउने क्रम भने जारीनै थियो।

उनै धामीको सल्लाह बमोजिम, सायद भदौको पहिलो हप्तामा हामीले घरमा रुद्री लगायौ। अचम्मको कुरा रुद्री लगिएकै साझँ तीन घन्टा जति ढुङ्गा आउन रोकियो। त्यसको लगत्तै भोलि पल्ट ५ घन्टा जति ढुङ्गा आउन रोकियो। क्रमस: एक हप्तामा ढुङ्गा आउन ठप्प भयो। र हाम्रो परिवारले दुई महिना पछि अन्योल र भयको दिन चर्या बाट मुक्ति पायौ।

अहिले सोच्छु, सायद अहिलेको जस्तो सञ्चार सुविधा हुन्थ्यो भने त्यो खबर कहाँ कहाँ सम्म पुग्थ्यो होला।

हो, यो कुरा विश्वास गर्न अल्लि गाह्रो कुरा हो तर यसलाई “हावा गफ” सोच्नुहुन्छ भने तपाईँको समय खेरा फालिदिएको मा क्षमा माग्नु भन्दा म सँग अरू कुनै उपाय छैन

 
7 Comments

Posted by on July 22, 2011 in Article

 

Tags: , , , , , ,

GREENER GRASS — A Moral

आज बिहान अफिस आएर मेल चेक गर्दै थिए, एउटा साथीले एउटा फरवार्ड मेल पठाएको रहेछ… साह्रै नै चित्त बुझ्यो.. त्यसैले यहाँ राखे…

Sometimes you can reach too far! 

And when you find yourself over-extended and you’re stuck in a situation that you can’t get out of,

there is one thing you should always remember…….

NOT EVERYONE WHO SHOWS UP……

IS THERE TO HELP YOU!!!!

 

 
1 Comment

Posted by on July 9, 2011 in Moral

 

Tags: ,

अरबको भोगाई: नेपाली रेष्टुरेण्ट

जसो गर, जे भन, जता सुकै लैजाउ मलाई, यो मन त मेरो नेपाली हो…!!! हो, हामी जहाँ गए पनि कुनै ब्यक्ती, वस्तु वा सेवा “नेपाली” भन्ने बित्तिकै हामी आफ्नोपनको महसुस गर्न थाल्छौ। त्यस्तै दुबाईमा नेपाली ब्यक्तीहरु त प्रशस्त भेटिन्छन् तर नेपाली वस्तु अथवा सेवा भने केही मात्रामा छन्। सेवाको कुरा गर्दा त्यो पनि रेष्टुरेण्ट ब्यबसायमा हाल सम्ममा मेरो ज्ञानमा भए अनुसार दुबाईको बर-दुबाई क्षेत्रमा तीन वटा नेपाली रेष्टुरेण्ट छन्। दुबाईमा रहेका नेपालीहरूको लागी बर-दुबाई क्षेत्र “सेन्टरपोईन्ट” नै भएकोले पनि ब्यबसायीहरुले नेपाली जमातलाई मध्यनजर गर्दै त्यही क्षेत्रमा ब्यबसाय गर्न रुचाएका हुन्। तीन वटा रेष्टुरेण्ट मध्य एउटाको सेवाको बारेमा त मैले पहिला नै लेखी सकेको छु। दोस्रो चाही एउटा साधारण रेष्टुरेण्टको हिसाबमा ठिक्कै छ। र तेस्रो भने नेपालीहरू आएर अल्लि धेरै नै पैसा खर्च गरुन भन्ने हेतुले खोलिएको छ जुन केही महिना पहिला (सायद जनवरी २०११) देखी सन्चालन हुँदै आएको छ।

हो म त्यही तेस्रो रेष्टुरेण्टको बारेमा कुरा गर्दै छु। र यो मेरो नितान्त व्यक्तिगत अनुभव को आधारमा लेख्दै छु।

प्रबेशद्वार

बर-दुबाईको अस्टोरिया होटलको हाता भित्र, लबीको छेबैमा रहेको उक्त नेपाली रेष्टुरेण्टको नाम रहेको छ “याक एण्ड यती रेष्टुरेण्ट”। नेपाली झण्डा र नेपाली वास्तुकला बाहिर ढोकामै राखिएको उक्त रेष्टुरेण्टले लबीमा छिर्ने बित्तिकै नेपालीपनको आभास दिन्छ र त्यहाँ पुग्ने जो कोही नेपालीलाई पनि एक चोटि भित्र छिर्न पक्कै पनि उत्सुकता जगाउँछ। तर साथैमा राखिएको सूचनाको ब्यानरले भने हामी नेपालीहरूको उदन्ड ब्यबहार (जाड खाए पछि पारा देखाउनु पर्ने) प्रति पनि सचेत गराउँछ। उक्त ब्यानर नेपालीमै लेखिएको हुँदा, मलाई बिदेशीहरुका सामु नेपालीहरूको उदन्डताको उदाहरण छोपिएको महसुस भयो। ढोकामा पुग्ने बित्तिकै नेपाली ढाका टोपी, दौरा सुरवाल लगाएको एक जना नेपाली दाजुले नमस्ते गर्दै ढोका खोल्दा भने साँच्चैनै एउटा नेपालीले आफ्नो संकार प्रति गर्व गर्ने ठाउँ देखिन्छ। भित्र छिर्ने बित्तिकै छतमा र भित्तामा झुन्ड्याएर/टाँसेर राखिएका तराई देखी हिमाल, मेची देखी महाकाली सम्मका वास्तुकला तथा जीवनशैली झल्काउने सामाग्रीहरुले झनै आनन्दित तुल्याउँछ। साँचो अर्थमा भन्नु पर्दा उक्त रेष्टुरेण्टको “ईन्टेरियर” प्रशंशायोग्य छ। रेष्टुरेण्टको एउटा छेउमा रहेको स्टेज, त्यहाँ रहेका नेपाली बाध्यबादनका सामाग्री तथा नेपाली भेषभूषामा सजिएर बसेका कलाकारहरूलाई देख्दा “एउटा टिपिकल नेपाली दोहोरी रेष्टुरेण्ट” हो भन्नेमा कुनै दुविधा हुँदैन।

दोहोरी भन्ने बित्तिकै कलाकारिताको कुरा आउँछ। त्यहाँका एउटै कलाकारले गीत गाइरहेको हुन्छ, नाचिरहेको हुन्छ, र बजाई रहेको हुन्छ। यस अर्थमा त्यहाँका कलाकारहरू मल्टिट्यालेन्टेड छन् भन्दा फरक नपर्ला।

सुचना ब्यानर

त्यहाँको कलाकारिताको कुरा गर्दा मेरो गुनासो केबल नृत्यमा छ। सबै कलाकारहरू नेपाली पहिरन (गाउँले पहिरनमा) मा रहेन गर्छन् तर जब उनीहरू लोक गीत गाउँदै नाच्दछन्, साह्रैनै नमिल्दो गरी (मेरो शब्दमा भन्नु पर्दा – उत्ताउलो) नाच्ने गर्दछन्। बिशेषगरी एक जना कलाकार भाइ। उनको नृत्य देख्दा लाग्छ उनि नेपाली चलचित्रका नृत्यबाट निकै नै प्रभाबित छन् (दिलिप रायमाझी स्टाइल, राजेश हमाल स्टाइल, निखिल उप्रेती स्टाइल… यस्तै यस्तै) । घरी घरी त उनले लोक दोहोरीमा माइकल ज्याक्सन स्टाइल पनि देखाउने गर्दछन् :D । तपाईँहरु आफै बिचार गर्नुस्, एउटा टिपिकल नेपाली दोहोरी तथा गीतमा माइकल ज्याक्सन डान्स देखाउँदा कस्तो देखिएला :D । तर उनको गायन तथा उद्‍घोषण कला भने स्रहानियनै छ। कहि कतै बाट ति भाइले यो लेख पढ्दै छन् भने ती भाइलाई मेरो व्यक्तिगत सुझाब, “भाइ कृपया नेपाली दोहोरीमा ब्रेक डान्स/ डिस्को डान्स देखाउन छोड”। साथ साथै रेष्टुरेण्टको संचालकलाई पनि मेरो सुझाब के छ भने, यदि तपाईँले नेपालीपन तथा नेपाली जीवनशैली झल्काउनको लागी त्यो रेष्टुरेण्ट खोल्नु भएको हो भने कृपया लोकदोहोरीमा त्यस्तो उत्ताउलो र नसुहाउदो नृत्यलाई प्रोत्साहन नगरीदिनु होला। तपाईँको रेष्टुरेण्टमा जो कोही नेपाली पनि जान्छ भने सायद “नेपाली टच” लिनका लागी नै जान्छ होला। संचालकले जसरी रेष्टुरेण्टको “ईन्टेरियरलाई” ध्यान दिएका छन् त्यसै गरी त्यहाँ गरिने प्रस्तुतिलाई पनि ध्यान दिएमा म जस्ता नेपालीपन खोज्दै त्यहाँ पुग्नेहरूले सानो कुराले मन खिन्न परेर फर्कनु पर्दैनथ्यो।

साथै त्यहाँ गाइने प्रायः नेपाली लोक आधुनिक गीतमा गरिने र्याप र र्यापको अन्त्यमा गरिने “वान टु थ्री फोर…. छ्स्स्स्स्स्स्स्स” चाही सम्झन लायकको छ :D

स्टेज

कलाकारिताको नृत्य पक्ष साथ साथै संचालकले अरू कुरामा पनि ध्यान दिनु पर्ने देखिन्छ। स्पिकरको साउन्ड क्वालिटी भने साह्रैनै झर्को लाग्दो छ। कुनै कुनै बेला त स्पिकरको आवाजले  उकुसमुकुस पारिदिन्छ। हात्ती छिर्यो पुच्छर अड्क्यो भनेको जस्तो, त्यत्रो खर्च गरिसके पछि अल्लि राम्रो “साउन्ड सिस्टम” राखेको भए सुनमा सुगन्ध हुने थियो।

वास्तवमा मैले यी कुराहरू त्यहाँ भएकै बेलामा भन्न खोजेको थिए। दायाँ बायाँ सुझाबको लागी कुनै “फिडब्याक फर्म” छ कि भनेर हेरेको पनि थिए तर भेटिन र कोही सुझाब लिनको लागी पनि आएन। कुनै पनि सेवामा “कस्टमर फिडब्याक” भनेको अतिनै महत्वपूर्ण कुरा हो त्यस माथि यो रेष्टुरेण्ट त एउटा नयाँ प्रयोगको हिसाबले खोलिएको रेष्टुरेण्ट। त्यसैले पनि “कस्टमर फिडब्याक” लिन नचाहनु अथवा बिर्सनु चाही उक्त रेष्टुरेण्टको त्रुटिको रुपमा लिएको छु।

साथै त्यहाँ काम गर्ने वेटर- वेट्रेसहरु पनि हाल सम्म सर्भिसमा खासै दक्ष भएको जस्तो देखिँदैन।

समग्रमा भन्नु पर्दा पहिले देखी चलि आएका नेपाली रेष्टुरेण्ट भन्दा यो रेष्टुरेण्ट पकै पनि फरक छ। मूल्य पनि सन्तुलित छ। एउटा परिवार संगै गएर खान खान साथ साथै नेपाली गीत सङ्गीतमा रमाउन सक्दछन्।

अन्त्यमा, दुबाई जस्तो ठाउँमा पहिलो पटक त्यो पनि नयाँ बिचारका साथ खोलिएको रेष्टुरेण्ट हुँदा सबै ग्राहकलाई सन्तुष्टि दिनु अथवा “जिरो टलोरेन्स”मा सेवा दिन सक्नु त असम्भबनै हो। समय र सेवा अवधि संगै सानातिना त्रुटीहरू त अबश्यनै सुधार हुनेछन्। तर पनि आधारभूत बिषयहरुमा संचालकहरुको ध्यान जाओस् मेरो यही शुभकामना।

 
4 Comments

Posted by on July 8, 2011 in अरबको भोगाई

 

Tags: , , , ,

अरबको भोगाई : मानिस र जिबनशैली

जुन सुकै ठाउमा पनि बिभिन्न किसिमका मानिस अनी जिबनशैलीहरु भेटिने गर्दछन्; त्यस्तै यहाँ पनी। दुबाई आउनु पहिला अरबको जिबनशैली भन्ने बित्तीकै मेरो दिमागमा मुख्यतय दुई किसिमका मानिसहरु आउथ्यो। एक अरबीहरु-धनाढ्यहरु; काम नगरीकन मस्तीको जिबन जिउने। अर्कोथरी मरी मरी काम गर्ने र शुन्य जिबन जिउने।

जब म दुबाई आए, सुरुका केहि महिना सम्ममा पनी मैले माथी उल्येखित दुई किसिमका मानिसहरु बाहेक केही देख्न सकेको थिईन, बिहान उठ्यो, आफिषको गाडी बिल्डिङ्को तल कुरीरहेको हुन्थ्यो त्यसैमा अफिष गयो, दिन भरी अफिषमा काम गर्यो,साझँ काम सक्किने बित्तिकै अफिषकै गाडीमा कोठामा फर्क्यो। आखाँले देख्न सक्ने भनेको या त होटलमा (मेरो अफिष) आएर आयासी जिबन बिताउनेहरु या त आफु जस्तै दिन भरी काम गरेर लखतरान परेर कोठामा फर्कनेहरु। पहिलो स्तरको जिबनशैली मेरो लागी थिदै थिएन र अझै पनी होईन। दोश्रो नचाहेर पनी “हो” भन्नु पर्ने बध्यता थियो। त्यो बेला मैले हामी जस्ताले पैसा खर्च गर्ने ठाउनै देखेको थिईन। महिनाको बढिमा १०० दिरामले पकेट खर्च मज्जाले पुग्थ्यो। एउटा पाकिस्तानी साथीले “मेरो त महिनाको ५०० दिराम पकेट खर्च हुन्छ” भन्दा मैले जिब्रो काटेको अझै याद छ। मेरो अकोमडेसन यस्तो ठाउमा थियो कि दिउसोको समयमा त बिल्कुलै मसानघाट जस्तो। अनी साँझमा मुख्यतय: बङ्गालीहरु धोती र बनियान पहिरनमा ग्रुप ग्रुप बनाएर गफ गरेर बसिरहेका हुन्थे। पछि आएर थाहा पाए कि त्यो एरीया त बिशेष गरी “लेबर” हरु बस्ने एरिया रहेछ।

खैर! मेरो त्यो दैनिकी धेरै दिन टिक्न सकेन जब मेरो अफिषले त्यो ठाउबाट अकोमडेसन सार्यो, त्यस पछी बिस्तारै दुबाई केबल दुई किसिमका मान्छेहरु भएको सहर हैन रहेछ जस्तो लाग्न थाल्यो। मेरो पनी साथी सर्कल बढ्दै गयो, घुम्ने फिर्ने ठाउहरु साथ साथै पैसा खर्च गर्ने ठाउ पनी देखीन थाले। त्यसपछी मेरो अरब जिबन काम अनी कोठामा मात्र सिमित हुन छाड्यो। फुर्षदको समयमा पार्कहरु तिर घुमफिर गर्ने जाने, बिच तिर जाने, फिल्म हेर्न जाने.. यस्तै यस्तैमा दिनहरु बिस्तारै रमाईला हुदै गए।

यहाँ बिभिन्न किसिमका मानिस र जिबनशैली एकै ठाउमा देखिने भनेको सपिङ् मल हो। यहाँका सपिङ मलहरुमा पाईजामा लगाएर महिलाहरुलाई घुर्दै हिड्ने पठान देखी लिमोजीनमा आएर महंङ्गा महंङ्गा अउटलेटमा गएर सपिङ गर्नेहरु सबै खाले मानिसहरु देख्न पाईन्छ। यँहाको ह्याङआउट स्पट भनेको सपिङमल नै हो। साथी भाई भेट भयो, घुम्न जाने काहाँ?? सपिङ मल। बच्चा हुनेहरुले बच्चा बच्चीलाई घुमाउन लिएर जानु पर्यो, काहाँ?? सापिङ मल। गर्ल फ्रेण्ड ब्याई फ्रेण्ड डेटिङ् जानु पर्यो काहाँ?? सपिङ मल। यस्तै  कुरालाई नै मध्यनजर गरेर यहाँका सपिङ् मलहरुले मल भित्रै बिभिन्न किसिमका सुबिधाहरु प्रधान गर्नुका साथै विकईन्डमा  बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु राखेका हुन्छन्। यहाँ लगभग बर्षै भरी बिभिन्न खाले फेष्टिभलहरु चलिरहेकै हुन्छन्। जस मध्ये, दुबाई सपिङ फेष्टिभल (DSF), दुबाई समर सर्प्राईज (DSS), ग्लोबल भिलेज मुख्य हुन्।

त्यस्तै गरी गर्मी समयको ३-४ महिना बाहेक विकईन्डमा यहाँका पार्कहरुमा पनी राम्रै चहलपहल हुने गर्दछ। मानिसहरु आफ्नो परिवार अथवा साथीभाईको ग्रुप भएर पार्कहरुमा गएर बार्बि-क्यु बनाउदै खाई रहेका हुन्छन्। मेरो ब्यक्तिगत अनुभबमा यसरी पार्कमा गएर बार्बि-क्यु बनाएर खानेहरुमा निम्मस्तर को कमाई हुनेहरु भने देखेको छैन। मुख्यतय: निम्म स्तरको कमाई हुनेहरु विकईण्डमा आफ्नै कोठामा साथी भाईहरुसंग रमाउने गर्दछन्। मान्छेको आम्दानी जस्तो सुकै होस् प्राय: रमाउनको लागी चाहीने तत्ब भनेको रक्सिनै हो। नारद खतिवडाले भन्या जस्तै “हार्ड खाए’नी सफ्ट खाए’नी रक्सि भन्या रक्सि:D । यहाँ लाईसन्स बिना रक्सिको किनबेच गर्न सक्त मनाही छ तर जहाँ जे कुरा मनाही गरेको हुन्छ, त्यै कुराको बढी चाख हुन्छ। यहाँको अबैधानीक रक्सि ब्यापारको बारेमा पनि कुनै दिन लेखौला।

अरब यहाँको फेसन भन्ने बित्तिकै जो कोहीको दिमागमा पनी कालो बुर्काले ढाकिएका युबतीहरु र सेतो कन्दुरामा सजिएका पुरुषहरु आउछ होला। तर त्यस्तो छैन। अरब कन्ट्रीहरुमा दुबाईलाई फेसन सिटीको नाम दिदा पनि सायद फरक नपर्ला। स्थानीयहरुको भन्दा प्रबासीहरुको संख्या कयौ गुना ज्यादा भएकोले गर्दा पनि यहाँको स्थानीयहरु बहिर खासै देखिदैनन्। तर कता कती देखिने कन्दुरा र बुर्कामा सजिनेहरु पनि सबै स्थानिय अथवा अरब मुलुकका हुदैनन्। यहाँ बर्षौ देखी रैथाने भएर बसेका बिषेशत पाकिस्थानीहरुले हामी यहिका स्थानीय हौ भन्ने गरेको पनि पाईन्छ। उही — घर काहा?? “काठमान्डु”– भनेको जस्तै :) ।  उनीहरुले “हामी यहिका स्थानीय हौ” भन्ने देखाउनका लागी पनि कन्दुरा लगाएर हिड्ने गर्दछन्। तर अरब देशका हरुले आफ्नो पोसाकलाई दिने सम्मान भने प्रशंसिनय छ।

खैर!! समग्रमा भन्नु पर्दा मुस्लिम देश भएका कारणले पनी कुनै कुनै नियमकानुनहरु हामी जस्ताहरुलाई सजिलै पचाउन गाह्रो हुन्छ तर त्यस्ले मानिसहरुको जिबनशैली खासै फरक पारेको भने देखीदैन। टिपिकल लेवर काम गर्नेहरुको जिबनशैली कष्टकरनै भएता पनि अलीकती राम्रो आम्दानी हुनेहरुका लागी यहाँको जिबनशैली बाहिरबाट देख्ने जस्तो कष्टकर भने छैन।

 
2 Comments

Posted by on June 29, 2011 in अरबको भोगाई

 
 
Follow

Get every new post delivered to your Inbox.

Join 924 other followers