RSS

Category Archives: Article

जातिय विभेद र हाम्रो मानसिकता!!

हिजो टि्वटरमा एक जना मित्र @sahiladai ले एउटा टि्वट गर्नु भयो। उक्त टि्वट विशेष गरी अहिलेको स्थितिमा अरू जातिले बाहुन लाई हेर्ने दृष्टिकोणको बारेमा छ।

उहाँको टि्वट देखे पछि मेरो पनि दिमागमा धेरै कुरा खेल्न थाले। मेरो पनि वाल्यकाल देखी अहिले सम्म को अवस्थामा धेरै साथीहरू छन् जो बाहुन क्षेत्री होइनन् तर पनि धेरै आत्मीय थिए/छन्। पछिल्लो समयमा आएर जसरी जात जाती बीचको दुरी बढ्दै गएको छ, ती आत्मीय लाग्ने मित्रहरूले पनि अहिले आएर सोसियल मिडिया मार्फत बाहुन/क्षेत्री विरोधी अभिव्यक्ति दिइरहेको देख्छु। उनीहरूले बाहुन क्षेत्री प्रतिको अभिव्यक्ति देख्दा लाग्छ, उनीहरूको बच्चै देखी बाहुन क्षेत्रीहरू सँग ठुलै दुस्मनी थियो।

म पनि कयौ मित्रहरू जो बाहुन क्षेत्री होइनन्, उनीहरू संगै हुर्केको हुँ, संग-संगै खेलेको हुँ, संग-संगै पढेको हुँ, अनि एउटै थालमा संग-संगै खाएको हुँ किनकी उनीहरू मेरा आत्मीय मित्रहरू थिए तर म त उनीहरूको लागी “बाहुन” पो रहेछु, उनीहरू त बाहुन संग हुर्केका रहेछन्, बाहुन संग पढेका रहेछन् अनि बाहुनको जुठो पो खाएका रहेछन्। :(

ती मित्रहरूलाई मेरो अनुरोध, हाम्रो समाज मात्र होइन विश्व भरी नै जात जाती बीच विभेद छ, त्यो विभेद अज्ञानता, अनि अशिक्षाले आएको हो। समाजको कुरीतिहरू बिस्तारै हट्दै जाने कुरा हो, आजको भोलि हुँदैन। मान्छेको दिमागमा बसेको कुरा सडकमा टायर बालेर जाँदैन, यो त समय क्रम संगै समाजमा परिवर्तन हुने कुरा हो। मेरो घरकै उदाहरण दिनु पर्दा, मेरो हजुरआमाले दलित हरू संग छोइएर आउँदा सुन पानी छर्केर मात्र भित्र छिर्न दिनु हुन्थ्यो, मलाई चित्त बुझ्दैनथ्यो, म सिधै भित्र गइदिन्थे। मेरो आमाले सुन पानी छर्किनु उपयुक्त ठान्नु भएन, तर घरमा आएर दलितले केही खायो भने त्यो भाडा उसैले माझ्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ, मलाई चित्त बुझ्दैन, ती भाँडाहरू म आफै माझ्छु। हजुरबा-हजुरआमाको पालामा कोही दलित घरमा आउँदा आँगनको डिलमा वरि परी को काठको ठेउको अथवा ढुङ्गा छ भने त्यही तानेर बस्थे, नत्र भुईँमै बस्नु पर्थ्यो, अहिले आमाले पिँढीमा गुन्द्री अथवा थर्कटी ओछ्याइदिनु हुन्छ, म चाही पिँढीको खाटमा गलैँचा ओछ्याएर राखेको ठाउँमा बस्न आग्रह गर्छु। एउटै पुस्तामा पनि मेरो बा लाई छुवा-छुतमा मतलब छैन तर आमालाई छ, किन की मेरो आमाको दिमागमा बच्चै देखी त्यही बस्यो अनि त्यो परिवर्तन गर्ने उपयुक्त समयमा शिक्षा पुगेन।

यहाँ एउटा जातले अर्को जाती लाई हेपेको होइन, शिक्षित ले अशिक्षित लाई हेपेको हो, बुझ्नेले नबुझ्नेलाई हेपेको हो अनि धनीले गरिब लाई हेपेको हो। अरू प्रति घृणा पाल्न छोड् दिनुस्, अशिक्षित लाई शिक्षा दिनुहोस्, गरिब लाई धनी बन्ने अवसर दिनुहोस्, नयाँ पुस्तामा जात जातिको आधारमा रहेको विभेद नाम निसान रहने छैन।

 
3 Comments

Posted by on May 18, 2012 in Article

 

Tags: , ,

मनोबाद: समय, उपलब्धि अनि मित्रता

बिहान अलरामले निद्रा खुलायो, अफिस मा छुट्टी लिएको छु, उठ्न मन छैन, यता पल्टे उता पल्टे, विगतमा मडारिन पुगे। विभिन्न कालखण्ड र परिस्थितिमा भेट भएका मित्रहरूको याद आयो। धेरै भयो ब्लग नलेखेको पनि, सोचे यिनै “मनोबाद”हरूलाई ब्लगमा उतार्छु।

स्रोत: गुगल तिर बाट तान तुन पारेको ;)

विशेष गरी म निम्न लिखित तथ्यहरूलाई आत्मसाथ गर्छु:

  • प्रत्येक व्यक्ति नितान्त फरक हुन्छ।
  • प्रत्येक व्यक्तिको आ-आफ्नो स्वार्थ हुन्छ।
  • प्रत्येक व्यक्तिले एक देखी अर्को व्यक्तिलाई गर्ने ब्यबहारमा फरक हुन्छ।
  • र यी सबै तथ्यहरूको आफ्नै सिमाना हुन्छ।

अठ्ठाईशौ बसन्त पार गरी पोखराको एउटा गाउँ देखी काठमाण्डौं हुँदै दुबई सम्म आई पुग्दा धेर-थोर साथ हरू पोको पारेको छु र प्रत्येक साथहरूमा माथि भनिएका तथ्यहरू भेटेको छु। अहिले लाग्छ, सायद उमेर बढ्दै गर्दा, जिम्मेवारी थपिँदै गर्दा, मित्रतामा पनि फरक आउने रहेछ क्या रे.. खुसी लाग्छ, जो मित्रहरू बढ्दो उमेर अनि जिम्मेवारीका बाबजुद पनि माथिका तथ्यहरूको सिमाना भित्रै रहेर साथ दिइरहेका छन्, अनि दुख लाग्छ ति साथी प्रति जो जिम्मेवारीको ढोङ ठोक्दै सिमाना बाहिर जान्छन् र केबल आफ्नो बारेमा मात्र सोच्छन्। सबै भन्दा दुख त तब लाग्दो रहेछ जब कट्टु माथि सार्दै, सिङ्गान पुछ्छै ढुङ्गा माटो खेलेका साथी नै सिमाना भन्दा बाहिर जान्छन्।

कसैको साथ नहुँदै मा जीवन ठप्प रोकिने त पक्कै पनि होइन तर अचम्म लाग्छ जब कुनै समयमा “अति नै” आत्मीय लाग्ने मित्रहरू नियत बस बर्षौ बेखबर हुन रुचाउँछन्, झन् महा-अचम्म त त्यो बेला लाग्छ जब बर्षौ पछि भेट हुँदा, उपलब्धिको ढाल ओढेर एउटा अपरिचित जस्तो ब्यबहार गर्छन्।

मलाई लाग्छ यदि कोही सच्चा मित्र हो भने आफ्नो आत्मीय मित्रको बारेमा सके सम्म खबर राखिरहेका हुन्छ र उनीहरूको उपलब्धिमा खुसी नै हुन्छ। धेरै वर्ष पछि भेट हुन्छ, मलाई लाग्छ साथीमा पनि त्यही पुरानो आत्मीयता छ, त्यसैले, मुखमा आएको कुरा फ्याट्ट भनिहाल्छु, यसो गर्दा कति साथीहरूको उपलब्धिमा चोट पुग्ने रहेछ। त्यसैले अठ्ठाईशौ बसन्त पार गर्दा मैले के बुझेको छु भने उपलब्धिको ढाल ओढेर आफूलाई सर्वश्रेष्ठ ठान्ने “कुनै बेलाका आत्मीय” मित्रहरू सँग अल्लि टाठानै रहनु बेस हुने रहेछ।

मेरो लागी त सच्चा मित्र त्यो हो, जसले पछिल्लो भेटमा जुन ब्यबहारका साथ “बाई” भनेका थियो, फेरी भेट्दा त्यही विन्दु बाट ब्यबहार सुरु गरोस्, न कि कोशौ टाठा पुगेर।

ल यहाँ भन्दा बढी लेख्न मन लागेन :) मेरो ताई न तुईको मनोबाद पुरै पढिदिनु भएको मा धन्यवाद!!! :P

 
Leave a comment

Posted by on May 9, 2012 in Article, Random

 

Tags:

फेसबुक प्यारेन्टिङ Vs. गिट्टी कुट्ने बालक

बिहान उठेर यसो टि्वटरमा हेर्दै थिए, @AnandNepal को एउटा टि्वट्मा आँखा पर्यो, हेर्दा ईन्ट्रेस्टीङ देखिएकाले त्यो टि्वट हेरेँ र टि्वट भित्रको @youtube लिङ्क खोलेँ। ८ मिनेट २३ सेकेन्डको उक्त भिडियो विशेष गरी “Facebook Parenting” को बारेमा रहेछ। “फेसबुक प्यारेन्टिङ्” के हो भन्ने बारे मेरो सिधा बुझाई के छ भने “बाउ आमाले आफ्नो छोरा छोरीले फेसबुकमा के कस्ता कृयाकलापहरू गरी रहेछ छन्, त्यसको निगरानी गर्नु हो”। मेरो विचारमा अहिलेको सोसल मिडिया एजका अभिभावकहरूको लागी यो एउटा नयाँ महत्वपूर्ण जिम्मेवारी पनि हो।

कुरा के भएछ भने, एक १५ बर्षे केटीले आफ्नो बाउ आमाले हरेक दिन उसलाई गर्ने कर कर बाट आक्रोशित भएर फेसबुकको वालमा एउटा नोट लेखेकी रहिछ। उसको आक्रोश अरू केही कुरामा नभएर बाउ आमाले उसको कोठा सफा गर्ने, बिस्तरा मिलाउने, आफूले खाएको भाँडा माझ्ने, आफ्नो कपडा धुने यस्तै यस्तै कुरामा गरिएका आदेशहरू प्रति रहेछ। उसको बाउले छोरीको फेसबुकमा त्यो नोट देखे पछि रिसले आक्रोशित भएर छोरीको ल्यापटप एउटा चौरमा लगेर गोली हानेर फुटाएको रहेछ।

भिडियोमा खासै केही छैन, उसको बाउले छोरीको नोट पढेर सुनाउँछ, आफ्नो प्रतिक्रियाहरू दिन्छ र अन्त्यमा छोरीको ल्यापटपमा गोली हान्छ तर सामाजिक सञ्जाल मार्फत त्यो भिडियोका लागी आएको प्रतिक्रियाहरूले भने मलाई यो ब्लग लेख्न बाध्य बनायो। सामाजिक सञ्जालहरूमा यो भिडियो आगोझैँ फैलिरहेको छ। उसको बाउले छोरीले फेसवुकमा आक्रोश पोखी भनेर ल्यापटप फुटाउनु हुन्थ्यो या हुन्थे न, फुटाए कै भए पनि @youtube मा राख्नु जरुरी थियो या थिएन, त्यो बेग्लै चर्चाको विषय हो र सोसल मिडियाका गुरूहरूको लागी यो एउटा विशेष चासोको विषय बनिरहेको छ; यस बारेमा म यहाँ केही लेख्ने वाला छैन। फेब्रबरी ८, २०१२ मा @youtube मा राखिएको उक्त भिडियो आजको मितिसम्म अर्थात् तीन दिन भित्रमा ६६ लाख भन्दा बाढीले हेरी सकेका छन् भने ८३ हजार भन्दा बढि ले यसको बारेमा कमेन्ट दिइसकेका छन्। यो चर्चा पछि त्यहाँको पुलिसले उसलाई समातेर जेल हालेको छ भने उ जेल बाट निस्कन को लागी अनलाइन मार्फत डोनेसन मागी रहेको छ अनि मानिसहरू उसलाई डोनेसन दिइरहेका छन्। अर्को तर्फ उसको छोरीलाई सान्त्वना दिनका लागी एउटा कफी सपले उसको छोरीलाई जागीरको अफर दिई सेकेको छ।

यो सबै कुराहरू पढी रहँदा अनि हेरी रहँदा मेरो दिमागमा भने, खोलाको तीरमा गिट्टी कुटिरहेका, फोहोरको थुप्रो बाट प्लाष्टिक उठाइरहेका अनि रेष्टुरेण्टमा भाडा माझी रहेका बच्चाहरू घुमिरहेका छन्। हुन त यी सबै आदर्शका कुराहरू हुन्। न मैले उनीहरूको बारेमा केही गरेको नै छु न त केही गर्ने योजना नै बनाएको छु। मात्र सोचिरहेको छु “के मानिसका न्यूनतम् आवश्यकताहरू आधुनिकता संगै परिवर्तन हुँदै गएका हुन् त ???”

 
1 Comment

Posted by on February 11, 2012 in Article, Random

 

Tags: ,

मिठा सपनाहरूको कारोबार

यहाँ हरेक दिन हरेक खालका मान्छेहरू भेटिन्छन् चाहे हामी विश्वको कुनै पनि कुनामा किन नहोऊ। सबैका आ-आफ्ना उद्देश्य, स्वार्थ र महत्वकाङ्क्षाहरू छन्। आफ्ना उद्देश्यलाई कसरी सफल बनाउने भन्ने विषयमा कोही ले काम गरी रहेका होलान् भने, काम नगर्नेहरूले कम्तीमा सोचेका होलान्। समग्र मा भन्नु पर्दा प्रायः: हामी सबैको उद्देश्य भनेको पैसा कमाउने नै हो। कसैलाई आफ्नै पेसामा काम गरेर नाम साथ साथै पैसा कमाउन मन लाग्ला त कसैलाई जसरी भए पनि पैसा कमाउने त हो नि भन्ने लाग्ला। जसरी भए पनि पैसा कमाउने त हो नि भन्ने लाग्नेहरू मध्ये एउटा बर्ग छ जो मीठो बोलेर अरूलाई सपना देखाएर तिनै सपना माथि कारोबार गर्ने गर्छन्। यो कारोबार भित्र पनि दुई खालका मान्छेहरू छन्, एउटा सपना देखाउने अनि अर्को देख्ने। सपना देखाउनेले त मीठा मीठा कुरा गरेर सपना देखाइदिन्छ तर मलाई त्यो मान्छे देखी दया लागेर आउँछ जो सपना हो भन्ने थाहा नपाई कन अझै ठूला ठूला सपना देख्छ अनि अरूलाई पनि सपना देखाउन खोज्छ। हो म कुरा गर्दै छु “नेटवर्क बिजिनेसको”।

नेटवर्क बिजिनेसको रुपमा मैले सुनेको सबै भन्दा पहिलो बिजिनेस थियो “गोल्ड क्वेष्ट”। कहिल्यै मेरो घर नआउने एक जना इष्‍टमित्र अचानक मेरो घरमा आउनु भयो; मेरो बा लाई गोल्ड क्वेष्टको सदस्य बन्ने प्रस्ताव लिएर। मलाई अझै याद छ त्यो दिन उहाँले जुन आत्मियता देखाउनु भयो, जति मीठो बोल्नु भयो, जति ठूला ठूला सपनाका कुरा गर्नु भयो, त्यो उहाँले न त्यस भन्दा पहिला कहिले गर्नु भएको थियो न त्यस पछि। म त बच्चानै थिए तर बा ले भने त्यो प्रस्तावलाई ठाडै अस्विकार गरिदिनु भएको थियो।

मेरो काठमाण्डौं को बसाइमा पनि त्यस्ता धेरै मान्छेहरू भेटिए। जति पनि मलाई नेटवर्क बिजिनेसमा लाग भनेर आए ती सबै मैले  धेरै थोरै चिने-जानकै मान्छेनै थिए। उनी हरू अचानक एक दिन आउँछन्, मीठा मीठा कुरा गर्छन्, उमेरले आफू भन्दा जेठा र पहिला तँ तँ भन्ने गरेका भए भने पनि त्यो बेलामा उनीहरू “तिमी” “तपाई” “हजूर” जस्ता सम्वोधनहरू लगाउँछन्, ठूला ठूला सपना हरू देखाउँछन् र अझ भनौँ छोटो समयमै लखपति बन्ने कुरा गर्छन्। उनीहरू सबैमा समानता हुन्छ, कुरा गर्ने ढङ्ग, सपना देखाउने अनि भय देखाउने। जब मान्छेले छोटो समयमा धेरै कमाउने कुरा गर्छ तब मलाई कतै न कतै शङ्का लागेर आउँछ। सुरुका दिनमा त त्यही कारणले गर्दा पनि म कसैले देखाएका सपनाहरूका पछि लागिन। पछि बिस्तारै ती नेटवर्क बिजिनेस ठग रहेछन् भन्ने कुरा बाहिर आउन थाल्यो, त्यस पछि त झन् विश्वास गर्ने कुरानै भएन।

यस्तै यस्तै मा दुबई आइयो र यहाँ पनि त्यस्ता मान्छे भेटिन थाले। म चाही सबैलाई ठाडै नाई भन्ने गर्छु। कोही एक चोटि नाई भने पछि साइड लाग्छन् त कोही नाई भन्दा भन्दै पनि टाँसिन खोज्छन्। अस्ति भर्खर मात्र फेरी त्यस्तै भयो, जुन मलाई चाही साह्रै रोचक लाग्यो र यहा सेयर गर्दैछु।

मैले काम गर्ने होटलको एक जना नेपाली सेफ आएर निकै मीठो गरी हाल खबर सोध्यो अनि मेरो साँझको प्लान पनि। उस सँग मेरो खासै कुरा हुन्थेन, बाटोमा देख्यो भने हात उठाउने बाहेक :) मैले साँझमा कतै जान्न होला भन्ने बित्तिकै उसले मलाई एउटा प्रोग्राममा जाने निम्तो दियो। मैले प्रोग्राम के को विषयमा हो भन्दा उसले खास बताएन, उल्टो “अर्काको देशमा काम गरेर कति दिन बस्न सकिन्छ यार, केही बिजिनेस गर्न पर्यो” भनेर ठूला ठूला कुरा पो गर्न थाल्यो। अनि मैले सिधा “तपाई पनि नेटवर्क बिजिनेसमा फस्नु भो कि क्या हो??” भनेर सोध्दा मलाई नै भाषण दिन थाल्यो र साँझमा उसले भनेको प्रोग्राममा जाने कर गर्यो। सिधा नकार्दा पनि नमाने पछि मैले “मिल्यो भने म फोन गरौँला” भनेर त्यहाँ बाट निस्के।

साँझ ८ बजे फोन आयो र फोन को वार्तालाप यस्तो रह्यो

उ: सर कता हो?
म: भर्खर अफिष बाट थाकेर आएको छु यार घरमै छु (उसले भनेको प्रोग्राममा नजाने मनसायले साथ)
उ: म गाडी लिएर लिन आउला नि त हुन्न??
म: हैन यार मलाई साह्रै नै थकाई लागीरा’को छ यार, म आउदिन।
उ: ल तपाई तल झर्नोस् म २ मिनेटमा तल आउछु।
म: हेर्नोस् मलाई यो नेटवर्क बिजनेसमा ईन्ट्रस्ट छैन म आउदिन।
उ: ल यहा कुरा गर्नोस् न। एक जना ईन्डियन लबज भएको व्यक्तीले फोन लियो र कुरा गर्न थाल्यो।

He: Hello, my name is ….. (त्यसको नाम चाही बिर्षे)। your good name??
Me: Krishol
He: what do you do?
Me: I am an IT professional
He: Good, can we meet and have a cup of coffee?
Me: what is this all about?
He: we have a business plan and I would like to share our business plan with you and if you like it, you can be our stakeholder.
Me: let’s be straight, are you talking something about network business?
He: what do you mean by network business?
Me: you know it better, why are you asking me?
He: no.. I want to hear from you?
Me: well, where you make members or sell products and you’ll get reward for that accordingly.
He: btw we don’t sell product, but do you like making members?
Me: it’s not about whether I like it or not. Tell me why do you want to meet me?
He: I can’t disclose my business plan just like this. Do you like to grow your financial status?
Me: Yes, Of course, everyone does?
He: Then why not to meet once and have cup of coffee? I have a plan for you which will increase your financial status.
Me: Well, as far I know human truth, nobody cares about other benefits until and unless it’s beneficial for them. Seriously, I am not interested on Network business, please don’t insist me.
He: one more thing?
Me: tell me..
He: are you happy with your job?
Me: yes.. ofcourse…
He: are you happy with your income?
Me: yes.. ofcourse..
He: (with rude sound) Okay we’ll catch up after 2-3 years…
Me: Okay.. you save my number and call me after 2 years..
….and I hang up the call

यो कन्भरसेसनको सबै भन्दा ईन्ट्रेष्टिङ पार्ट भनेको मलाई उसले अन्त्य मा दिएको धम्की लाग्यो :)

तपाईहरूको यो बिजनेसको बारेमा के धारणा छ कुन्नी, मेरो कुरा नराम्रो लाग्यो भने तल केमेन्ट बक्समा मलाई संम्झाउन सक्नु हुनेछ.. :)

 
3 Comments

Posted by on December 10, 2011 in Article

 

Tags: ,

A Story of Appreciation

म फरवार्ड मेललाई खासै महत्व दिन्न तर कहिले कहीँ यस्तो फरवार्ड मेल आउँछ कि म सेयर नगरी रहन सक्दिन। आज पनि फेरी त्यस्तै एउटा मेल आयो र यहाँ सेयर गर्दैछु।

=============================================‌‌‌‌‌‌‌‌‌==================================

One young academically excellent person went to apply for a managerial position in a big company.

He passed the first interview, the director did the last interview, made the last decision.

The director discovered from the CV that the youth’s academic achievements were excellent all the way, from the secondary school until the postgraduate research, never had a year when he did not score.

The director asked, “Did you obtain any scholarships in school?” the youth answered “none”.

The director asked, ” Was it your father who paid for your school fees?” The youth answered, “My father passed away when I was one year old, it was my mother who paid for my school fees.

The director asked, ” Where did your mother work?” The youth answered, “My mother worked as clothes cleaner. The director requested the youth to show his hands. The youth showed a pair of hands that were smooth and perfect.

The director asked, ” Have you ever helped your mother wash the clothes before?” The youth answered, “Never, my mother always wanted me to study and read more books. Furthermore, my mother can wash clothes faster than me.

The director said, “I have a request. When you go back today, go and clean your mother’s hands, and then see me tomorrow morning.*

The youth felt that his chance of landing the job was high. When he went back, he happily requested his mother to let him clean her hands. His mother felt strange, happy but with mixed feelings, she showed her hands to the kid.

The youth cleaned his mother’s hands slowly. His tear fell as he did that. It was the first time he noticed that his mother’s hands were so wrinkled, and there were so many bruises in her hands. Some bruises were so painful that his mother shivered when they were cleaned with water.

This was the first time the youth realized that it was this pair of hands that washed the clothes everyday to enable him to pay the school fee. The bruises in the mother’s hands were the price that the mother had to pay for his graduation, academic excellence and his future.

After finishing the cleaning of his mother hands, the youth quietly washed all the remaining clothes for his mother.

That night, mother and son talked for a very long time.

Next morning, the youth went to the director’s office.

The Director noticed the tears in the youth’s eyes, asked: ” Can you tell me what have you done and learned yesterday in your house?”

The youth answered, ” I cleaned my mother’s hand, and also finished cleaning all the remaining clothes’

The Director asked, ” please tell me your feelings.”

The youth said, Number 1, I know now what is appreciation. Without my mother, there would not the successful me today. Number 2, by working together and helping my mother, only I now realize how difficult and tough it is to get something done. Number 3, I have come to appreciate the importance and value of family relationship.

The director said, ” This is what I am looking for to be my manager.
I want to recruit a person who can appreciate the help of others, a person who knows the sufferings of others to get things done, and a person who would not put money as his only goal in life. You are hired.

Later on, this young person worked very hard, and received the respect of his subordinates. Every employee worked diligently and as a team. The company’s performance improved tremendously.

A child, who has been protected and habitually given whatever he wanted, would develop “entitlement mentality” and would always put himself first. He would be ignorant of his parent’s efforts. When he starts work, he assumes that every person must listen to him, and when he becomes a manager, he would never know the sufferings of his employees and would always blame others. For this kind of people, who may be good academically, may be successful for a while, but eventually would not feel sense of achievement. He will grumble and be full of hatred and fight for more. If we are this kind of protective parents, are we really showing love or are we destroying the kid instead?*

You can let your kid live in a big house, eat a good meal, learn piano, watch a big screen TV. But when you are cutting grass, please let them experience it. After a meal, let them wash their plates and bowls together with their brothers and sisters. It is not because you do not have money to hire a maid, but it is because you want to love them in a right way. You want them to understand, no matter how rich their parents are, one day their hair will grow gray, same as the mother of that young person. The most important thing is your kid learns how to appreciate the effort and experience the difficulty and learns the ability to work with others to get things done.

***The End***

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍

 
Leave a comment

Posted by on October 17, 2011 in Article, Moral

 

Tags: , , ,

घर बाहिरको दोस्रो दशैँ

डाँडाको चौतारीबाट देखिने दृष्य

घर छोडेर बाहिर बस्न थालेको ११ वर्ष पुरा भई सक्यो तर यस पाली दोस्रो पटक दशैँ घर बाहिर बित्दै छ। अस्ति सम्म त खासै दशैँ आएको जस्तो लागेको अनुभव भएको थिएन कारण खासै अनलाइन बस्ने फुर्सद थिएन तर हिजो र आज विदाको दिन परेका ले प्रायः: दिन भरी नै अनलाइन बसिरहेको छु र नेपालीहरू बीच सामाजिक सञ्जाल फेसबुक र टि्वटर अहिले दशैँमय भएका छन्। दशैँ मनाउन घर जाने गाउँका दाजुभाइहरू “ल म घर जान लागे” भन्दै फोन गरीरहेका छन्।  बिशेषगरी यिनै कारणहरू हुन जसले गर्दा आज दशैँ, गाउँ- घर अनी साथीभाईको साह्रै संम्झना आईरहेको छ।

व्यक्तिगत रूपमा मलाई दशैँमा गरिने टीका, जमरा, दुर्गा पूजा, पिङ्गहरूले भन्दा पनि वर्षौ देखी नभेटिएका गाउँका साथीभाई अनि आफन्तहरू सँग को भेटघाट र त्यहाँको वातावरणले नै धेरै महत्व राख्छ। र अर्को अर्थमा भन्ने हो भने हामी गाउँका मानिसहरूका लागी यही एउटा समय हो जुन वर्ष भरको कोलाहल अनि व्यस्त जीवनबाट केही पर अनि केही फरक जीवन जिउन पाउने केही दिनहरू। हुन त आफ्नो गाउँ कुनै पनि बेला जान सकिन्छ तर अरू बेला सबै जना आँ-आफ्नो काममा व्यस्त रहने हुँदा यो बेला गाउँ जाँदा जुन किसिमको आनन्द मिल्छ त्यो अरू बेला कदापि मिल्न सक्दैन।

बारीको कान्लामा फलेको सिमी

दशैँ कै प्रसङ्गमा मलाई गाउँ घर अनि शहर तुलना गर्न मन लाग्यो। अष्‍टमीको दिन देखी शहर बिस्तारै गाउँका पाखा पाखाहरूमा पोखिन थाल्छ। शहरका रेष्टुरेण्टहरूमा गएर म:म:, चाउमिन अनि छोयलामा रमाउनेहरू मनहरू एक्कासि गाउँका कान्ला कान्ला चहार्दै त्यहाँ फलेका काँक्रो, अम्बा, सिमी अनि बोडीमा रमाउने गर्छन्। यता शहर रित्तिँदै जान्छ अनि उता गाउँ भने शहर, अरब, अनि अन्य विकसित मुलुक मिश्रित एक भिन्न खालको फ्युजन बन्न जान्छ। त्यो फ्युजनको अनुभव जसले गर्नु भएको छ, त्यो वातावरण सम्झँदा नै मन रोमाञ्चित भएर आउँछ, जसलाई अनुभव छैन त्यो कुरा म शब्दमा व्यक्त गर्न असमर्थ छु। एक चोटि कारणबस एकादशीको दिन मै काठमाण्डौं फर्कन परेको थियो। मलाई याद छ त्यो एकादशी देखी पूर्णिमा सम्म का हरेक दिन मलाई एक वर्ष जस्तो लागेको थियो। मैले त्यही बेलामा अनुभव गरेको थिए, काठमाण्डौं बाहिरका, विशेष गरी गाउँका मानिसहरूलाई काठमाण्डौं दशैँको समयमा एक मसानघाट सरह हुने रहेछ।

ठुलोखोला (बर्खायाममा चाही साच्चीनै ठुलो हुन्छ) :)

खैर, विदेशको जीवन, आज विदाको दिन हो तर पनि अफिसको कामले मन पोलेर आज सबेरै उठेर अफिसकै काम गर्दै थिए तर अचानक मनले बारीका कान्लामा फलेका बोडी टिप्दै खान थाल्यो, डाँडाको चौतारीको छपनीमा सन्द्र्याम् जिउ फालेर सुत्न थाल्यो, ठुलोखोलाको झरनामा गएर टाउको थाप्यो अनि बन तिर डुल्दै पानी-अमला खोस्रँदै, पाइन्टमा पुछ्ँदै खान थाल्यो र त्यो भाव हरू यहाँ पोखे।

घर बाहिर भए पनि आफ्नै किसिमले यो चाड त मनाउने नै छु तर यता जतिनै रमाइलो गरेर मनाए ता पनि मन भने गाउँ, त्यहाँको वातावरण अनि त्यहाँ पाइने आनन्दमा नै डुबी रहने छ, डुली रहने छ।

 
3 Comments

Posted by on October 1, 2011 in Article, Random

 

Tags: , , ,

मक्का मदिनामा ढुङ्गा किन हानिन्छ??

कुनै पनि धर्म आफैंमा नराम्रो हुँदैन। धर्मलाई व्याख्या गर्ने काम मानिसहरूको नै हो। व्यक्तिगत रूपमा मेरो लागी सबै भन्दा ठूलो धर्म भनेको मानवीयता हो र म कुनै धर्म राम्रो या नराम्रो भन्न चाहन्न। सबै धर्मका आफ्नै आफ्नै मूल्य मान्यता हरू छन्।

विशेष गरी कट्टर धर्मावलम्बीको कुरा गर्ने हो भने, सबैले आफ्नो धर्मलाई नै सर्वश्रेष्ठ ठान्छन्। नेपालको परिप्रेक्ष्यमा कुरा गर्दा हिन्दूहरूको संख्या ८०% भन्दा बढी भए ता पनि त्यस्तो कट्टर हिन्दु धर्मावलम्बीहरूको संख्या भने कम नै होला। हिन्दु र बुद्ध धर्मावलम्बीहरूको सहिष्णुता र एक अर्का बीचको सम्मानको प्रसङ्ग त मैले यहाँ गरी राख्नु जरुरी देख्दिन। तर हिन्दु र मुसलमान बीचको सम्बन्ध भने त्यति राम्रो देखिँदैन। झनै् हालका वर्षहरू भनौँ माओवादी जनयुद्ध पछिका घटनाक्रमहरूलाई हेर्ने हो भने यो दुरी अझै बढेको देखिन्छ। नेपालका मुसलमानहरूले हिन्दूहरूलाई के के भन्छन् भन्ने विषयमा त मलाई त्यति ज्ञान भएन तर हिन्दूहरूको बीचमा भने मुसलमानहरू प्रति केही नकारात्मक विश्वास हरू रहेका छन्। जुन विश्वास हरू मुसलमानले हिन्दूलाई गर्ने घृणा तर्फ लक्षित छन्। यस्तै नकरात्मक विश्वास हरू मध्ये मैले बच्चा बेला देखी एउटा कुरा चाही पटक पटक सुन्दै आएको छु;

“मुसलमानहरूको महान तीर्थस्थल मक्का मदिना भित्र शिवजी को मुर्ति छ। त्यहाँ हज गर्न जाने प्रत्येक मुसलमानहरुले शिवजी को मुर्तिलाई ढुङ्गाले हान्छन्

मलाई थाहा छैन तपाईँहरूले यो कुरा सुन्नु भएको छ कि छैन अथवा यसको कुन भर्जन सुन्नु भएको छ। तर मैले यो कुरा सुने ता पनि कहिल्यै, के यो साँच्चै होला?? या नहोला” भन्ने तर्फ कहिल्यै सोचेको थिइन र यसलाई नै तथ्य मानेर मैले मुसलमानहरू प्रति आफ्नो धारणा कहिल्यै बनाई न पनि। मुस्लिम देशमा आएको ३ वर्ष पुगिसक्यो, ता पनि कहिल्यै यसको बारेमा बुझ्ने कोसिस गरेको थिइन।

मेरो फ्याटमेट, मेरो आफ्नै अफिसको एक जना पाकिस्तानी बुढो छ; उमेर त सोधेको छैन तर ५० वर्ष काटेको हुनु पर्छ त्यसैले म उसलाई “चाचु” भन्ने गर्छु। उ अल्लि बढी नै धार्मिक छ। फुर्सदको समय मिल्यो कि कुरान पढ्ने गर्छ। तर एक अर्काको धर्मको बारेमा हामीहरू बीचमा कहिल्यै कुरा भएको थिएन। केही दिन अघि साँझ अफिस फर्के पछि सँगै बसेर गफ गर्दै थियौँ, उसले उ पहिला साउँदी अरबमा रहेको र त्यहाँ रहँदा मक्का मदिना धेरै पटक घुम्न गएको र आफ्नो परिवारका सबै सदस्यलाई त्यहाँ घुमाउन लागेको कुरा सुनायो। त्यही समयमा मलाई मैले सुन्दै आएको कुरा साँच्चै होला कि नहोला भन्ने जिज्ञासा जाग्यो र उसलाई यो कुरा सुनाए। मक्का मदिनामा ढुङ्गा हान्ने ठाउँ रहेको स्विकार्दै उसले जवाफ दियो “त्यो कुनै शिवजी अथवा हिन्दूको देवतालाई नभएर त्यो सैतान हो, जसको कुनै धर्म नै छैन”। साथै इस्लाममा कहि कतै पनि शिवजी अथवा हिन्दूको देवता भन्ने कुरा उल्लेख नरहेको कुरा पनि बतायो। उसले यो कुरा बताए पछि मलाई त्यो सैतानलाई ढुङ्गा किन हानिन्छ भन्ने बुझ्न उत्सुकता जाग्यो र उसलाई मेरो जिज्ञासा राखे।

उसको कुरालाई नै विश्वास गरेर उसलाई मुस्लिमको गुरू ठानेको त हैन तर उसको धर्म प्रतिको लगाव र उसको विचारहरू सुन्दा केही हद सम्म उसले कुरानमा लेखेको कुरा बुझेको छ भन्ने लाग्यो। त्यो सैतानलाई ढुङ्गा किन हानिन्छ भन्ने कुरा उसले आफूले बुझे अनुसार मलाई सुनायो। उसका अनुसार:

मानवजाति हुनु भन्दा पहिले स्वर्गमा अल्लाह र फरिस्ते (परी) हरू थिए, एक पटक अल्लाहले मानवजातिको सृष्‍टि गर्ने बिचार गरे र फरिस्तेलाई पृथ्वीबाट माटो ल्याउन लगाए। पृथ्वीबाट ल्याएको माटोले एउटा पुरुष बनाएर त्यसमा प्राण हाली दिए । यसरी आफ्नो सृष्टि बाट खुसी भएर फरिस्तेहरुलाई उक्त पुरुष अगाडि सज्दा (मुसलमानहरूले प्रार्थना गर्ने बेलामा झुक्ने लाई सज्दा भन्दो रहेछ) गर्न लगाएछन्। सबै फरिस्तेहरुले मानेछन् तर फरिस्तेहरुको राजाले यो कुरा मानेन छ। नमानी सके पछि अल्लाहले उसलाई  स्वर्ग बाट निस्कन आदेश दिएछन्। तर फरिस्तेहरुको राजाले अल्लाहसँग समय मागेछ । तर उसले त्यो समयमा मानवजातिलाई अल्लाहको विरुद्धमा उत्प्रेतित गर्न थालेछ र उसको नाम “सैतान” राखिएछ।

यसै क्रममा अल्लाहले उक्त पुरुषको एउटा करङबाट महिलाको सृष्‍टि गरेछन्। समय बित्दै जाँदा ती पुरुष र महिला बाट बच्चा पनि जन्म भएछ। यस्तै मा एक दिन अल्लाहलाई आफूले बनाएका मानिसहरू आफ्नो कत्तिको भक्त छन् त?? भनेको कत्तिको मान्छन् त?? भनेर परीक्षा लिन मन लागेछ र उक्त पुरुषलाई उसको आफ्नै छोरालाई मार्नेको लागी आदेश दिएछन्। उक्त पुरुष अल्लाहको भक्त भएको हुँदा उसले अल्लाहले भनेको कुरा सजिलै स्विकारेछ।

सैतानले यो कुरा थाहा पाएछ। त्यो पुरुषले आफ्नो छोरोलाई मार्नेको लागी लिएर जाँदै गर्दा बाटोमा सैतानले उसको बच्चालाई “तेरो बाउ ले तँ लाई मार्नेको लागी लिएर जाँदै छ” भनेर तीन ठाउँमा भनेको रहेछ र त्यही तीन ठाउँमा अहिले सम्म मुसलमानहरूले ढुङ्गा हान्ने गर्छन्।

त्यसैले अल्लाहको आदेश विरुद्धमा काम गर्नेलाई “सैतान” को संज्ञा दिँदै उक्त ठाउँमा ढुङ्गा हानिने रहेछ।

(मैले यसलाई सके सम्म सजिलो र बुझ्ने सकिने भाषामा लेखेको छु, मलाई यती कुरा बुझाउनुलाई उसले यो कुरा ५ पटक जति दोहोर्याउनु परेको थियो :D )

नोट: यो लेख कुनै धार्मिक पक्ष वा विपक्ष लिएर लेखिएको हैन, म आफूले मेरो बच्चा बेला देखी सुन्दै आएको एक अन्ध विश्वासको अर्को पाटो सुनेको ले यहाँ सेयर गरेको हुँ। यो लेखको मुख्य उद्देश्य भनेको मक्का मदिनामा ढुङ्गा कसलाई र किन हानिन्छ भन्ने रहेको हुँदा सबै कुरा बृष्तितमा लेखेको छैन र यो लेखको वास्तविक सार भनेको:

“हामीले सुन्दै आएको अन्धविश्वास साँचो होइन, जुन कुरा स्वयम् मुसलमानहरूले नै नकार्ने गर्दा रहेछन्।”

 
Leave a comment

Posted by on September 23, 2011 in Article

 

एन. आर. एन. राजनैतिक रंगमचंको खेल हुने कृडास्थल हुनेछ

कुरा फेरी पनि एन. आर. एन. कै। तर यस पाली निमेस गिरी ज्युको बिचार, जस्ता को त्यस्तै:

सन् २००३ मा स्थापित गैर आवसिय नेपाली संघको पाचौ विश्व सम्मेलन सम्पन्न हुन गईरहेको परिवेशमा विश्वका विभिन्न राष्ट्रहरुमा राष्ट्रिय समन्वय समितीको चुनावी सरगर्मिले एन।सी।सी। तातिरहेको छ । त्यसैको उपज यूएईमा पनि चुनावी सरगर्मि शुरुवातसंगै सहमतिको भएका छन् र हुने क्रममा छ । कुरामा सहमति हुनु र सहमतिका प्रयास गरिनु निश्चय पनि सरहानिय कार्य हो तर सहमतिको आधारहरु के हुन् र त्यसले भविष्यमा कस्तो किसिमको कि्रया प्रतिकि्रया लिएर आउछ त्यसलाई नजर अन्दाज गरिनु हुदैन् । यदि सहमतिको प्रतिफलले कुनै पनि संस्थालाई प्रगति सफलता तिर उन्मुख गराउँछ भने त्यो सहमतिलाई प्रोत्साहन एवं हौसला प्रदान गर्नु पर्दछ । होईन त्यसले गलत किसिमको प्रकि्रयाको शुरुवातलाई प्रोत्साहान गर्दछ भने त्यस प्रकि्रयाको विरोध गरिनु पर्दछ ।

भर्खरै यूएईमा एन।सी।सी। यूएईको निर्वाचन प्रकि्रयामा परेका उमेदवारीलाई सहमतिको आधारमा समिति गठन गर्ने उदेश्यका साथ सहमति गराउन प्रयासकालागी यहाँ स्थित विभिन्न समाजिक व्यतिहरुले पहल कदमी गरेका थिए र जसमा आई।सी।सी। कोषाध्यक्ष रामेश्वर शाह आई।सि।सि। सदस्य पि।एस।लिम्बु एनसीसी अध्यक्ष चुडामणी ढकाल आइसीसीका भूपू मध्यपूर्व संयोजक चन्द्रप्रसाद सापकोटा नेपाली समाजका अध्यक्ष कृष्ण ढकाल लगाएतका व्यतिहरुले सहमतिको प्रयास गर्दै वहु संख्यक पदहरुमा सहमति गराएका छन् । सहमति गराउनु वास्तवमानै राम्रो कदम हो । तर सहमतिको मापदण्ड संस्थाको हितमा भयो भने त्यो सहमतिले राम्रो प्रतिफल ल्याउने कुरामा विमति हुन सक्दैन ।

एन। आर। एन। एक गैर राजनैतिक संस्था भएता पनि यसको चुनावी माहोलमा राजनैतिक संघ संस्थाहरुलॆ पुर्ण राजनैतिक रंगले होली खेलिएको देखियो । वास्तवमा मानिसहरु राजनैतिक प्राणि हुन र राजनैतिक चेतना संस्थागत कार्यको लागी र व्यतिको नेतृत्व क्षमाताको बिकासकालगी सहि भएता पनि यहाँ देखिएको राजनैतिक खिचातानी र म फलानो दलको मेरो सदस्य संख्याको आधारमा निम्न पद मेरो संस्थाको बटमलाईन हो भन्ने परिपाटीको शुरुवात भएको छ । वास्तवमा यहां देखिएको यस किसीमको राजनैतिक अराजकताले नेपालको राजनैतिक अवस्थालाई उजागर गरेको छ । यहां पनि सामाजीक संस्था भित्र छिरेर आफनो राजनैतिक अभिष्ठा पुर्ति गर्नका लागी राजनैतिक दलका भातृ संगठनहरुको यस प्रकारको खिचातानीले प्रत्येक व्यतिलाई संस्थागत कार्य गर्नकालागी र संस्थामा आउनकालगी कुनै न कुनै राजनैतिक दलको टोपी लगाएर मात्र सामाजीक कार्य गर्न र संस्था भित्र पस्नकालागी योग्यताको कसि उसको राजनैतिक पृष्ठभुमी र उसको राजनैतिक सदस्यता र उसले उक्त संस्थामा छिर्नकालगी चढेको राजनैतिक भर्यागंले मात्र उसको योग्यताको कसि बन्दै जाने हो भने भोली यस किसिमको राजनैतिक खेलले युएईको सम्पुर्ण सामाजीक संघ संस्थालाई कुनै न कुनै राजनैतिक दलको पुच्छर बन्ने निश्चित बनिसकेको छ । आज यसै किसिमको राजनैतिक खेलका कारण देशमा प्रधानमन्त्रि प्रप्त गर्न १८औ पटक सम्म म्याराथुन दौडिरहेको दृश्य हामी बाट नलुकेको भएता पनि त्यहि परिदृश्यलाई हामीले युएईको भर्खरै खनिएको एन।आर।एन।रुपी रोडमा त्यहि परिपाटीको अलकत्राले चिल्लो बाटो बन्छ भनेर सोचिरहेका छौ जसको उपज हामी आज रोड बनाउन सफल भएता पनि भोली बिरोधकालागी त्यहि रोड भत्काउन अग्रसर हुने समुह पनि तयार गरिरहेका छौ ।

त्यसै गरी यस संघको चुनावी माहोलको शुरुवात भन्दा अगाडीनै राजनैतिक संघ संस्थहारुविच सहमतिको नाममा राजनैतिक भागबंडा मिलाउन तल्लिन हुने समाजका लब्ध प्रतिष्ठित व्यतिहरुले नै यस किसिमको प्रकि्रयालाई बडाउन सघाईरहेका छन् । राजनैतिक दलका अगुवाले दिएको एक अभिव्यतिले साच्चै नै भोलीको दिनमा राजनैतिक पर्टीदेखी वाहेका कुनै अन्य संस्था चल्न सक्दैन भन्नु कतिको सार्थक हुन सक्छ । के आज भँदा ५७ वर्ष अगाडी देखी मात्र नभएर सन् १९९० देखी यहांका कुनै पनि सामाजीक संघ संस्थाले कुनै काम गर्न सकेका थिएनन के हालका दिनमा पनि युएईको सामाजीक कार्यमा राजनैतिक दलमात्र अगाडी हो होईन कदाचित होईन । यो त नेपालको राजनैतिक परिवर्तन संगै आस्थका आधारमा सन् २००७ पछाडी मात्र राजनैतिक संस्थाहरु सकि्रय भएको देखिएको हो । राजनैतिक दलले सामाजीक कार्य गरेको भएता पनि उसले राजनैतिक कार्य नै उसको प्रमुख एजेण्डा हो । हात्तिको खाने र चपाउने दाँत अलग अलग भएजस्तै मात्र हो ।

विदेशमा आजकाल सामाजीक संघ संस्थाहरु भित्र कसको पकड बढि रहने भन्ने राजनैतिक उदेश्यले राजनैतिक पार्टीहरु कि्रयाशिल भएको देखिन्छ । यो राजनैतिक कि्रयाकलापले सामाजीक कार्य गर्न चाहाने व्यक्तिहरु प्ााखा लाग्दै जाने क्रम बढिरहेको छ । एन।आर। एनको यस भन्दा अघिका र भर्खरै सम्पन्न भैसकेका र भैरहेका चुनावमा राजनैतिक होडबाजीले भोली कुनै दिन गैर राजनैतिक भनिने यस संस्थाले राजनैतिक संस्थाहरुको अखडा बन्ने निश्चित देखिन्छ र यसका शाखा रहेका हरेक देशमा राजनैतिक रंगले चुनावी होलीको मंच्चन भईरहेका छन । हुदै जाने क्रममा पनि छन । चाहे त्यो कतार बेल्जियम र यूएई यि त केहि देशका नामहरु म्ात्र हुन । त्यसैले यस किसिमको राजनैतिक खेलले संस्थालाई अग्रगति तिर लिएर जाने भन्दा अबनति तिर लिएर जाने निश्चित देखिन्छ । किनभने राजनैतिक आस्थाका आधारमा हरेक निर्णय र कार्य सम्पादन हुन थाल्दछ । सन् २००३ मा स्थापित गैर आवसिय संघ राष्ट्रिय समन्वय परिषद यूएईको सदस्य संख्या निर्वाचन प्रकि्रयाको घोषणा हुनु अगाडी करिब ४००को हाराहारीमा थियो अहिले राजनैतिक सकि्रयताले यस संस्थाको साधारण सदस्यता २०२७ पुगेको छ । संस्थागत आधारमा सदस्य संख्याको बृद्धि हुनु संस्थाकोलागी राम्रो हो तर उक्त साधारण सदस्यहरु कतिको कि्रयाशिल हुन्छन त्यसमा निरर्भर रहने छ । तर के कुराको ग्यारेण्टि गर्न सकिन्छ भने अबको कार्यकालको अन्त्यसंगै अर्को कार्यकालको निर्वाचनमा यो संख्या घटॆर ३०० देखि ५००को हाराहारीमा आउनुका साथै त्यस समयमा उमेदबारी दिने व्यतिहरुमा निर्भर रहन्छ के कति नयां सदस्यता लिनेछन् । यस निर्वाचनको समयमा स्व स्फुर्त सदस्यता लिने भन्दा कुनै समुहको लहै लहैमा लागेर सदस्यता लिएका व्यतिहरुको बाहुलिएता छ । जसका उपज दर्ता भएका बहुसंख्यक नयाँ सदस्यहरुलाई एन। आर। एन। ले गर्ने काम यसको कार्यनिति र यस संस्थाको बारेमा केहि जानकारी छैन । ति सदस्यहरु केवल कुनै समुहलाई जिताउनका लागी मात्र सदस्यता लिएका कारण संस्थाले संख्या विस्तार त गरेको छ तर स्तरीयता प्राप्त गर्न सक्दैन । कुनै पनि संघ संस्थाले संख्या भन्दा स्तरयीता र प्राप्तहुने गुणात्मक प्रतिफल नै सो संस्थाको धेय र उसको पुँजी हो र हुनुपर्दछ ।

यो राजनैतिक भागवण्डाको समस्या शाखा संस्थाहरुमा मात्र नभएर यसको केन्द्रिय नेतृत्व र त्यसका चुनावी प्रकि्रयामा पनि हामीले देख्न र भोग्न थालेका छौ । वर्तमान कार्यकालको विगतको चुनावी कार्यक्रममा नै त्यसको विजारोपण भएको स्पष्ट देखिएको थियो । त्यसैले यसको केन्द्रिय नेतृत्वले पनि राजनैतिक भागवण्डालाई कसरी अफनो पक्ष्मा प्रयोग गर्न सकिन्छ भन्ने चिन्तनले ग्रसित भएको अवस्थामा अब काठमाडौ हुने चुनावलाई कसरी राजनैतिक हस्तक्षेप मुक्त निर्वाचन सम्पन्न गराउने जिम्मेवारी थपिएको छ । तर राजनैतिक हस्तक्षेप बिहिन निर्वाचन गर्न असम्भव छ जसको मुल कारण यसका केन्द्रिय नेतृत्वको उमेदवारहरु नै राजनैतिक रंगरोगनमा पर्दा पछाडि उभिएर निर्देशन गरीरहेका छन । र काठमाडौमा हुने कुम्भ मेलामा राजनितीक पार्टीहरुको घर दैलो गर्दौ आफनो पद सुनिश्चित गरेको विगतमा पनि देखिएको थियो । यस पटक झन चरम उत्सर्गमा पुग्ने निश्चित छ जसका कारण राष्ट्रिय समन्वय समितिको निर्वाचनमा कसैलाई बसाउन र उचाल्न नेपालका उच्च राजनैतिक दलका नेताहरुलाई गरिएको आग्रहले देखाईसकेको छ ।

त्यसैगरी आफनो दुनो सोझयाउने उदेश्यले सहमतिको नारा भजाउदै जति पनि पद निर्माण गर्न सकिन्छ भँदै भागवण्डाकालागी नभएका पद निर्माण गर्दै सहमतिको रटानले अहिलेको चुनावी माहोलको अन्त्य भएपनि भोली राष्ट्रिय समन्वय समितिको बैठकमा कोरम पुर्याउन समस्या हुनुका साथै जम्बु समिति गठन हुनेछ र कुनै दिन एउटै संस्थाको ४ जना अधक्ष्य ७ जना उपाध्यक्ष ७ जना महासचिव १४जना सचिव र २८ जना कोषाध्यक्ष हुदै २०१७ जना केन्द्रिय सदस्यको पनि राजनैतिक भागवण्डा मिलाउनकालागी तयार हुने अवस्था आउने सम्भावना देखिन्छ । समग्रमा भन्दा एन।सी।सी। युएईमा मात्र राजनैतिक भागवण्डा नभई प्रत्येक एन।सी।सीका निर्वाचनमा राजनैतिक खिच्चातानि र भागवण्डाको शुरुवातले कालन्तरमा एन। आर। एन। राजनैतिक रंगमचंको खेलहुने कृडास्थल हुनेछ । यदि यसका संस्थापक संरक्षक र केन्द्रिय नेतृत्वले राजनैतिक खेलमा वेलैमा अंकुश नलगाउने हो भने ।

*****

निमेस गिरी ज्यु यु.ए.ई मा कार्यरत हुनुहुन्छ।

 
1 Comment

Posted by on September 12, 2011 in Article, NRNA UAE

 

Tags: , , , , , , ,

मध्यपूर्वमा एन.आर.एन. ए. को औचित्य र प्रभावकारीता

एन.आर.एन. ए. कै बारेमा अरू थप कुराहरू पनि लेख्न मन लागेका ले फेरी पनि केही कुराहरू लेख्दै छु। खै तपाईँहरूले “एन.आर.एन. ए. ले नेपाल र नेपालीको हक हितमा काम गर्छ” भन्ने बित्तिकै के बुझ्नु हुन्छ थाहा छैन तर मैले भने “गैर आवासीय नेपालीहरूले विदेशमा कमाएको पुजी नेपालमा लगानी गर्दै रोजगारी तथा विकासको अवसरहरू सृजना गर्ने” भन्ने बुझेको छु। यो मेरो बुझाई मेरो अन्तर आत्माबाट आएको पक्कै पनि होइन। यो त एन.आर.एन. ए. को उद्देश्य, बेला बेलामा यसले गर्ने कार्यक्रममा पदाधिकारीहरूले गर्ने कुरा र यो संस्थाले सरकारसँग गर्ने माग हरू देखेर नै आएको हो। एन.आर.एन. ए. को उद्देश्य केबल नेपालमा लगानी गर्ने भन्ने मात्र होइन र यो संस्था आफैंमा नराम्रो हो पनि होइन। अझै सम्म पनि एन.आर.एन. भन्ने बित्तिकै धेरै नेपालीको दिमागमा सर्वप्रथम त  उपेन्द्र महतोको नाम नै आउँछ होला। कारण उहाँले  एन.आर.एन. ए. मा दिनु भएको योगदान र नेपालमा भित्र्याउनु भएको लगानी नै हो।

एन.आर.एन. ए. विश्वव्यापी रूपमा फैलँदै रहेछ भन्ने जानकारी यसको वेबसाइटबाट पनि पाउन सकिन्छ। एन.आर.एन. ए. का उद्देश्यहरू हेर्ने हो भने वास्तवमै नेपाली र नेपालको हितका लागी नै रहेका छन्। र यो संस्था नेपाली रहेका प्रत्येक देशमा हुनु जरुरी पनि छ।

यस्तै एन.आर.एन. ए., यु. ए. ई. मा पनि रहँदै आएको छ र रहनुपर्छ। यसमा मेरो कुनै आपत्ति छैन। कुनै संघ संस्था होस या व्यक्ति, समय सापेक्ष र वातावरण अनुकूल काम गर्न सकेन भने त्यसको औचित्य र प्रभावकारीता मा प्रश्न चिन्ह खडा हुनु स्वाभाविक नै हो। हो, मेरो आपत्ति यहीँ निर छ। यो मेरो आपत्ति केबल एन.आर.एन. ए., यु. ए. ई. लाई मात्र नभएर मध्यपूर्बी देशहरूमा रहेका सम्पूर्ण एन.आर.एन. ए. हरू प्रति हो। विगत एक-डेड दशक देखी मध्यपूर्बी देशहरू नेपालीका लागी सजिलो रोजगारीको गन्तव्य भएको कुरा कसैले नकार्न सक्दैन। देश १२ बर्षे गृह युद्ध बाट गुज्रँदै गरेको अवस्थामा पनि देशको अर्थतन्त्र धानिनु मा सबै भन्दा धेरै श्रेय यहाँ बाट मिलेका रोजगारीको अवसर लाई नै जान्छ। तर मध्यपूर्व को रोजगारीको वास्तविकता के हो भने बहुसङ्ख्यक को हकमा यहाँ को आम्दानी दिर्घकालीन रहन सक्दैन। एउटा निम्न अथवा मध्यम वर्गीय नेपाली दुई-तीन वर्ष यहाँ बसे पछि कम्पनीसँगको कन्ट्रयाक्ट सकिएर होस् वा नेपालमै गएर केही गर्छु भन्ने आटले नेपाल फर्केको होस्, नेपालमा बढि मा ६ महिना टिक्न सक्दैन र भौतारीदै फेरी काठमाण्डौं का गल्लीहरूमा म्यानपावर कम्पनी खोज्दै हिँड्छ। मध्यपूर्बी देशहरूमा भएका एन.आर.एन.ए. ले यो तीतो सत्यलाई स्विकार्नु जरुरी छ। हालै का दिन हरू मा आएर मध्यपूर्बी देशहरूमा राम्रो आर्थिक उचाइमा पुग्ने नेपालीहरूको सङ्ख्या पनि बढ्दो छ तर पनि यसलाई नै आधार मानेर यहाँ को एन.आर.एन.ले कार्यदिशा निर्धारण गर्छ भने उसले यहाँ रहेका बहुसङ्ख्यक नेपालीहरूको प्रतिनिधित्व गर्न सक्दैन।

नेपालको अहिलेको भयावह समस्या भनेको “जनशक्ति पलाएन” हो। हाम्रो जस्तो अल्प विकासित देशका लागी “जनशक्ति पलायन” राम्रो हो या नराम्रो हो भन्ने कुरा आफैंमा एउटा ठूलो विवादको विषय बन्न जान्छ तर मेरो विचारमा यो क्षणिक समयका लागी फाइदा जनक भए ता पनि दिर्घकालिन रूपमा पक्कै पनि राम्रो होइन। प्रतिशतकै हिसाबले हेर्ने हो भने पनि पलायन हुने देशहरू मध्ये सबै भन्दा ठूलो हिस्सा मध्यपूर्बी देशहरूले नै ओगटेको छ। जहाँ नेपालीहरू सबै भन्दा धेरै पलाएन भएका छन् र बहुसङ्ख्यक को आम्दानीको स्रोत निम्न छ, त्यहाँका रहेका एन.आर.एन.ए. ले नेपालमा ठूला-ठूला लगानी गर्ने कार्यदिशा बनाउनु, खोक्रो आदर्श बाहेक केही हुन सक्दैन।

हालको स्थितिमा मध्यपूर्बी देशमा रहेका एन.आर.एन.ए. ले साँच्चै नै नेपाल र नेपालीको हितका लागी काम गर्ने हो भने निम्न लिखित कार्य हरू लाई प्राथमिकता दिनु नै समय सापेक्ष र वातावरण अनुकूल कार्य हुन जान्छ:

  1. तारे होटलमा ह्विस्की को चुस्की लिँदै नेपालमा बिद्युत् गृह खोल्ने कार्यदिशा बनाउने भन्दा यहाँका लेबर क्याम्पहरूमा गएर यहाँ को निम्न स्तरकै आम्दानीलाई भए पनि कसरी व्यवस्थित गर्न सकिन्छ र त्यसले नेपालमा गएर के गर्न सकिन्छ? कसरी गर्न सकिन्छ? भन्ने खालका उपायहरूको बारेमा छलफल गर्ने। (मरी मरी काम गरेर परिवार धान्न ठिक्क हुनेहरूलाई करोडौं लगानीका व्यवसायहरूको कुरा गरेर तर्साउने भन्दा गोठमा गाई पाल्ने र बारीमा हरियो तरकारी फलाउन का लागी उत्प्रेरीत गर्ने।)
  2. नेपालबाट लाखौँ खर्च गरेर कलाकार ल्याएर एक साँझ रमाइलो गरेर बिताउनु भन्दा त्यही खर्चले नेपालमा नै केही गर्न सकिन्छ भन्ने सोच भएका र गरेर देखाएका हरू लाई यहाँ ल्याएर उनीहरूका अनुभव तथा विचारहरू प्रस्तुत गर्ने। (नेपालमै रहेकालाई पलायन हुन बाट रोक्ने गरिने प्रयास भन्दा पनि यहाँ बाट नेपाल फर्कनेलाई फेरी पलायन हुन नदिन गरिने प्रयास नै गर्नु बढि प्रभावकारी रहन्छ। किनभने एक चोटि पलायन भई सकेको ले यहाँ को दुख र परिवारबाट टाढीनु को पिडा भोगी सकेको हुन्छ।)
  3. कसै गरी वैदेशिक रोजगारमा आउनै चाहनेहरूका लागी नेपालमा रहँदा नै यहाँ को वातावरण बारे बारे प्रशस्त जानकारी उपलब्ध गराउने। ताकी वैदेशिक रोजगारमा आउनेहरू यहाँ आएर ठगिन नपरोस्।

समग्र मा भन्नु पर्दा मध्यपूर्बी देशमा रहेका एन.आर.एन.ए. को औचित्य र प्रभावकारीता तब रहन्छ जब यसले यहाँ का बहुसङ्ख्यक नेपालीलाई समेट्न सक्छ।

यसै प्रसङ्गमा हिजोको एउटा घटना लेख्न मन लाग्यो। हिजो दिउँसो एक छिन फेसबुकमा लगईन गरेको थिए। साथी जितेन्द्रले मलाई पनि “NRNA-UAE Campaign” भन्ने फेसबुक ग्रुपमा मा एड गरेका थिए। त्यहाँ उही चुनावको माहोल थियो, शुभकामना आदान प्रदान, नयाँ सदस्य बन्ने, सदस्यता नवीकरण गर्ने, यस्तै यस्तै कुराहरू हुँदै थिए। अनलाइन हुनेहरूमा धेरै जसो एन.आर.एन.ए यु.ए.ई का पदाधिकारीहरू हुनुहुदो रहेछ। त्यसैले मैले अस्ति राखेको जिज्ञासा हरू को जवाफ कसै सँग छ कि भनेर सोधे। तर्क वितर्क हुँदै गयो। मेरा प्रायः जिज्ञासाहरूको जवाफ “www.nrn.org.np हेर्नोस” भन्ने बाहेक केही आएको थिएनन्। कोही पदाधिकारीले साह्रै नम्र किसिमले जवाफ तर्क राख्नु भएको थियो त कसैले उहाँको पद मैले खोस्नै जान लागेझै गरी तर्क राख्दै हुनु हुन्थ्यो। यसै सिलसिलामा “एन.आर.एन. का अगुवा उपेन्द्र महतोले नेपालमा लगानी गरे भन्दै सबैले त्यही कार्यलाई पछ्याउनु पर्छ भन्ने केही छैन, एन.आर.एन.ए. यु.ए.ई. ले यहाँ को वातावरण अनुकूल नेपाल र नेपालीको हितमा अरू कार्य गर्न मा ध्यान दिनु पर्छ” भन्ने मेरो तर्कमा एक जना महानुभावले “You are jealous on other’s achievement, everybody knew it” भन्दै मलाई “ईर्ष्यालु” को उपाधि दिनु भयो। मेरो दुर्भाग्य! उहाँ एन.आर.एन.ए. यु.ए.ई. को कार्य समिति भित्रको पदाधिकारी हुनुहुदो रहेछ :) । त्यस पछि मलाई त्यहाँ कुरा गर्न बेकार लाग्यो र त्यहाँ बाट बाहिरीए।

नोट: यो मेरो नितान्त व्यक्तिगत ब्लग हो। हिजो को एक छिन को फेसबुक च्याट पछि मैले कोही कसै सँग बाट जवाफको अपेक्षा राखेको छैन। केबल आफ्नो ब्लगमा आफ्नो बिचार हरू पोखेको मात्र हुँ।

 
2 Comments

Posted by on August 3, 2011 in Article

 

Tags: , , , ,

एन.आर.एन. ए. – यु.ए.ई का उम्मेद्वारलाई मेरा जिज्ञासा

सुनेको छु एन.आर.एन. ए. – यु.ए.ई को चुनाव आउँदै छ रे। फेसबुक तीरको चहलपहल देख्दा त, नेपालमा चुनावको बेलाको झल्को नै मेटाई दिन्छ। मैले बुझेको एन. आर. एन. भनेको “विदेशमा स्थायी – अस्थायी बसोवास गर्ने नेपालीहरूको संस्था हो जसले नेपाल र नेपालीको हक हितमा विदेशमै बसेर काम गर्छ”। दुई लाख भन्दा बढी नेपाली जनसङ्ख्या भएको यु.ए.ई मा यो संस्था नहुने भन्ने कुरानै भएन। बेला बेलामा विभिन्न कार्यक्रमहरूमा यो संस्थाका महानुभावहरूले सदस्यता लिनको लागी यहाँ रहेका नेपालीलाई अनुरोध गर्नु भएको पनि देखेको छु। म यु.ए.ई मा बसेको ३ बर्ष भयो तर यसको सदस्यता लिएको छैन। सदस्यता लिनु अगाडि, अहिले चुनावमा उम्मेदवारी दिनु हुने महानुभावहरू सँग म केही जिज्ञासाहरू राख्न चाहन्छु। कृपया कसैले मेरा जिज्ञासाको जवाफ दिनु भएमा आभारी हुने थिए।

१. यु. ए. ई मा विभिन्न पृष्ठभूमिबाट आउनु भएका र रहनु भएका नेपाली दाजुभाइ दिदी बहिनीहरू हुनुहुन्छ। यहाँ रहनुहुने निम्न लिखित पृष्ठभूमिमा भएकाहरू नेपाली नागरिकहरूलाई यो संस्थाले के औचित्य राख्छ?

  • ऋण खोजी खोजी दलाललाई लाखौ बुझाएर यहाँ आउनु भएका, मासिक किस्ता-बन्दीमा ऋण चुक्ता गर्दै, बचेको ले घर परिवार चलाउने बर्ग।
  • यहाँ को कमाइले घर चलाउन र छोरा छोरी पढाउन ठिक्क हुन बर्ग।
  • ठिक्कै ठिक्कै आम्दानी भएका, आफ्नो जागिर गर्ने, यहाँ रहेका कुनै पनि नेपाली संघ-संस्थाहरूमा (राजनीतिक र जातीय) सदस्यता अथवा सहभागिता नभएको बर्ग।
  • पेशागत र कमाइको हिसाबले राम्रै उचाई मा पुग्नु भएका तर पनि कुनै संघ-संस्थाहरू सदस्यता अथवा सहभागिता नभएका बर्ग।

२. तत्काल को समितिमा रहनुभएका र आउँदै गरेको चुनावमा उम्मेदवारी दिने महानुभावहरू प्रायजसो यहाँ रहेका कुनै न कुनै राजनीतिक, जातीय र वर्गीय संस्थाहरूका चल्ता-फुर्ता सदस्यहरू नै हुनुहुन्छ। यो हिसाबमा एन.आर.एन. ए. – यु.ए.ई  कुन स्थानमा छ?

३. एन.आर.एन. ए. – यु.ए.ई ले हाल सम्म नेपाल र नेपालीको हितका लागी के काम गरेको छ?

४. एन.आर.एन. ए. – यु.ए.ई को यहाँ रहेका नेपालीहरू प्रति कस्तो दायित्व राख्दछ?

प्रश्नहरू अरू पनि छन्, यी प्रश्नहरूको जवाफ आएमा बाँकी प्रश्नहरू राख्ने छु। एन.आर.एन. ए को बारेमा मेरो बुझाई गलत हुन पनि सक्छ, यदि यसो हो भने कृपया सरल भाषामा  यसको औचित्य बताइदिनु होला।

[Update] सायद एन.आर.एन. ए. – यु.ए.ई का सदस्यहरूलाई मेरो भनाइको मतलब अल्लि प्रष्ट भएन जस्तो छ। त्यसैले माथि उल्लिखित जिज्ञासाहरूलाई यहाँ को परिभेष अनुसार साथै केही थप जिज्ञासाहरू सरल भाषामा फेरी पनि लेख्दै छु।

  • ऋण खोजेर यहाँ काम गर्न आएका नेपाली लेबर दाजु भाइ, जसको दिनचर्या क्याम्प देखी साइट र साइट देखी क्याम्प बाहेक अरू हुनु नै लगभग असम्भव छ (सबै भन्दा बढि नेपाली जनसङ्ख्या यही बर्गको होला सायद), हो यस किसिमको बर्गलाई एन.आर.एन. ए. – यु.ए.ई ले के औचित्य राख्दछ??
  • उनीहरू प्रति एन.आर.एन. ए. – यु.ए.ई को दायित्व के रहन्छ??
  • उनीहरूले एन.आर.एन. ए. लाई के दिन सक्छन्??
  • अहिले सम्म एन.आर.एन. ए. – यु.ए.ई ती लेबर क्याम्पहरूमा पुगेको छ कि नाई??
  • अर्को ठूलो बर्ग भनेको यहाँ रहेका कुनै पनि संघ-संस्थामा आबद्ध नभएको बर्ग छ। त्यो बर्गलाई एन.आर.एन. ए. को बारेमा चेतना जगाउनुका लागी एन.आर.एन. ए. – यु.ए.ई ले के गरेको छ??
  • एन.आर.एन. ए. – यु.ए.ई का सदस्यहरू उल्लेखसित यी बर्गहरूमा बीचमा पुगेर “हामीले नेपाल र नेपालीको हितका लागी के गर्न सक्छौ” भन्ने बारे अन्तरक्रिया गरेको छ कि नाई??

र अन्त्यमा: मेरो विचारमा सीमित आमन्त्रित सदस्यहरूलाई बोलाएर तारे होटलमा गरीने अन्तरक्रियाले यु.ए.ई मा रहेका सम्पुर्ण नेपाली नागरीकलाई प्रतिनिधित्व गर्न सक्दैन।

 
1 Comment

Posted by on August 1, 2011 in Article

 

Tags: , , , ,

 
Follow

Get every new post delivered to your Inbox.

Join 924 other followers