RSS

Category Archives: Article

जीवन र नदी

तस्विर: Demovation.us

जीवनको परिभाषा सबैका आँ-आफ्नै छन् तर मेरा लागी जीवन एउटा अविरल बगिरहने नदी हो।

हिमालयको गर्भबाट निस्केको नदी विभिन्न अबस्था पार गर्दै समुन्द्र सम्म पुग्छ त्यस्तै जीवन पनि।  कहिले गर्जँदै त कहिले सुसेली हाल्दै त कहिले शान्त अनि चुपचाप तर नदि अविरल बगी नै रहन्छ।

नदि बग्दै जाँदा उसले विभिन्न किसिमका साथ हरू पाउने गर्छ। बर्षौ देखी जमेर बसेको हिउँ होस या कोमल कमेरे माटो, बालुवाको टुक्रा होस या अजङ्ग को चट्टान। विभिन्न अबस्थामा उसले विभिन्न किसिमका साथ हरू पाउने गर्छ। कुनै साथले उसको रङनै परिवर्तन गरिदिन्छ त कुनै साथले उसको बहकाउनै परिवर्तन ल्याइदिन्छ। तर जस्तोसुकै अबस्था र साथ आई परोस् नदी बगी नै रहन्छ चाहे चट्टानलाई खियाउँदै नै किन नहोस्।

यसै प्रशंगमा म यहाँ जीवनका विभिन्न कालखण्डमा आई पर्ने अबस्था, गरिने संघर्ष र पाइने साथहरू लाई जोड्न चाहन्छु। जीवनको यात्रामा चाहेर वा नचाहेर भोग्नु पर्ने अवस्थाहरूले कुनै बेला जीवनलाई द्रुत गति दिन्छन् त कुनै बेला जीवन चल्नै कठिन बनाई दिन्छन्। ति अवस्थामा गरिने सबै संघर्षले जीवनमा परिवर्तन नै ल्याउँछ भन्ने पनि छैन। नदी समतलका मोडहरुमा जति नै ठोकिँदै किन नबगोस्, त्यसले उसको बहकाउ मा खासै अर्थ राख्दैन; अर्थ त तब राख्छ जब अजङका चट्टानहरू खियाउँदै, पहाड र पखेराहरूमा ठोकिँदै बग्छ। त्यस्तै जीवनमा पाइने साथ हरू ‍ कोही आफुले चाहेका हुन्छन् त कोही नचाहँदा नचाहँदै पनि भोग्नु पर्ने हुन्छ। ती सबै साथहरूले जीवनमा कुनै न कुनै किसिमको छाप छोडीरहेकै हुन्छन्। कुनै साथले रातो माटोको पहाडबाट बगेको नदीजस्तो जीवन नै धमिल्याइदिन्छन् त कुनै साथले समतल भागमा रहेको सफा र स्वच्छ बगर माथि बगेको नदी जस्तै जीवन नै सुन्दर बनाइदिन्छन्।

तर जस्तोसुकै संघर्ष गर्नु परोस्, साथ झेल्नु परोस्, नदी बगी रहन्छ, जीवन चलिरहन्छ..!!!

[नोट: आज अफिसबाट फर्कँदै गर्दा बाटोमा यस्तै यस्तै कुराहरू मनमा खेल्यो, जसको कारक तत्व भनेको विगत केही हप्ता देखी भोग्नु परेको व्यस्तता र अनुभव नै हो। यस्तै यस्तै विचारहरू मनमा अझै छन् तर मिलाएर लेख्न आइरहेको छैन; प्रयास गर्दैछु।]

 
Leave a comment

Posted by on July 30, 2011 in Article

 

Tags: , ,

सरकारी कर्मचारीको तलब बृद्धि र मूल्य बृद्धि

हामीले बच्चा बेला देखि नै देख्दै र भोग्दै आएको कुरा हो, जब बजेट भाषण हुन्छ र सरकारी कर्मचारीको तलब बृद्धि हुन्छ तत्कालै दैनिक उपभोग्य वस्तु जस्तै दाल, चामल, चिनी, नुन साथै हरियो तरकारीहरूको समेत बजारमा अभाव देखिन थाल्छ। २-४ दिनको अभाव पछि उक्त वस्तुहरू बजारमा उपलब्ध हुन्छन् तर मूल्य बृद्धिका साथ त्यो पनि बिना कुनै आधार। गाउँको एउटा सानो खुद्रा व्यापारीले समेत आफ्नो भण्डारमा भएको समान बाहिर निकाल्दैन र भन्छ “समान नै आएको छैन”।

जब पेट्रोलियम पदार्थमा मूल्य बृद्धि हुन्छ तब विरोध सुरू हुन्छ, चक्का जाम हुन्छ, तोड फोड हुन्छ, नेपालका प्रमुख शहरका सडकहरूबाट टायरका मुस्लो निस्कन थाल्छ। मेरो भन्नुको मतलब यस्ता उदण्ड किसिमका विरोध हुनु पर्छ भन्ने पक्कै होइन। पेट्रोलियम पदार्थ बाहेक अरू दैनिक उपभोग्य सामानहरूको मूल्य बृद्धि हुँदा किन जन चासो निस्कँदैन? के हामी सरकारले मूल्य बृद्धि गर्दा मात्र चासो देखाउने हो? के व्यापारीहरूलाई मूल्य बृद्धि गर्न छुट छ?

नेपालमा सरकारी कर्मचारीको जन-सङ्ख्या कति छ त्यो त मलाई थाहा भएन, लाग्छ १% भन्दा कम नै होला। के त्यो जन-संख्याको १०-२० प्रतिशत तलब बृद्धि हुँदा बाँकी रहेका ९९% हरूलाई हेर्दै नहेरी कन, सरकारको कमजोर नीति-नियमको फाइदा उठाउँदै, व्यापारीले दैनिक उपभोग्य सामानको मूल्य बृद्धि गरिनु कति सम्म को गैर जिम्मेवारी कदम हो? सरकार चुपचाप हेररै बसिरहन्छ। र व्यापारीहरू भन्छन् सरकारले हामीलाई सहुलियत-सुविधा दिएन।

हो पक्कै पनि हाम्रो देशमा कुनै पनि विषयमा व्यवस्थित नीतिहरू छैनन्। नीति निर्माणमा रहेकाहरू, नेता तथा सरकारी कर्मचारीहरू त म यहाँ कुरा गर्नै चाहान्न। हामी सधैं तिनैलाई गाली गर्छौ र तिनैलाई मात्र दोष दिन्छौ। एउटा गाउँको खुद्रा व्यापारीले बिना कुनै आधार आफ्नो पसलमा भएको सामानको मूल्य बृद्धि गरेर आम नागरिकलाई ठग्छ भने त्यो व्यापारी र एउटा भ्रष्ट कर्मचारी/नेतामा के नै फरक रह्यो र? सरकारको कमजोर नीति-नियमको फाइदा भरपूर उठाउन यहाँ कोही कसैले छोड्दैनौ र हामी भन्छौ नेताले देश बिगारे।

ढोकामा राम्रो सँग ताल्चा नलगाएको फाइदा उठाउँदै भित्र छिरेर चोर्नु – बिगार्नु मा चोर को धेरै गल्ती हुन्छ कि ताल्चा राम्रो सँग नलगाउने को??

 
Leave a comment

Posted by on July 23, 2011 in Article

 

Tags: , , , , , ,

“दैबी-शक्ती” मेरै घरमा घटेको एउटा सत्य घटना।

नोट: यो लेख मेरो घरमा दैबी-शक्तिले घटाएको घटनामा आधारित लेख हो। यदि तपाईँलाई दैबी-शक्तीमा विश्वास लाग्दैन र यो पढेर क्रिसोलले हावा गफ गर्यो भन्नुहुन्छ भने कृपया नपढी दिनु होला। मैले यो कुरा धेरै पटक लेख्न खोजे, तर अत्याधुनीक मान्छेहरूले उल्टो मलाईनै पागल बनाउछन् भन्ने सोचले लेख्न चाही रहेको थिइन तर जसले विश्वास गर्छ, उसको लागी यो घटना रोचक हुन सक्छ भन्ने मनसायले यो घटना लेख्दै छु।

कुरा आज भन्दा २० बर्ष अघीको हो अर्थात २०४८ सालको हो। असार २ गते हाम्रो कुल्यान (कुल देवता) को पूजा भएको थियो। बर्खे बिदा असार १ गते बाट सुरु भएको थियो। ४ गते साँझ त्यस्तै ५:३० बजे तिर दिदी र म आँगनमा खुट्टि खेल्दै थियौँ, बहिनी पिँढी आफ्नै सुरमा खेल्दै थिई। आमा घर माथिको कर्कलो बारीमा तरकारीका लागी कर्कलो टिप्न जानु भएको थियो।

एक्कासि जस्ताको छानामा ढ्वाङ्ग आवाज आयो, छिमेकी केटाहरू घर माथिको बाटो हिँड्दा बेला बेलामा  हामीलाई तर्साउन ढुङ्गा हान्दै हिँड्ने गर्थे। आमा कराउनु भयो -
“हैन, तिमीहरूका आँखा फुटे कि क्या हो, आँगनमा केट्केटी खेल्दै छन्, कुठाममा लागेर केहि भै’हाल्यो भने क्यार्छौ, अरूलाई त मान्छे नै गन्दैन हे, काँहा गएर जाक्किन्छन अनी थाहा पाउछन………. “
यस्तै यस्तै भन्दै आमा कर्कलो टिप्दै भट्भट्याउदै हुनु हुन्थ्यो, कसले ढुङ्गा फालेको हो कोही देखिएको भने थिएन।

आमा आउनु भयो, भान्छा तिर छिर्नु भयो, हामी भने आँगनमा नै खेल्दै थियौँ, जस्तामा ढुङ्गा फेरी बज्यो।

यस पाली चाही आमा मज्जाले झोक्किदै बाहिर निस्कनु भयो -
“को हो यो ? पख् तेरा बा आमालाई भनेर खुट्टा भाँच्न नलाई छोड् दिन”
यस्तै भन्दै आमा घर माथि तिर जानु भो, आमा झोक्किदै गएको देखेर हामी पनि आमाको पछि पछि गयौँ। माथि बाटो सम्म पुग्यौ, वरिपरी हेर्यौ, कोही थिएन। अल्लि परै सम्म पुग्यौ कोही थिएन। फर्कँदै थियौँ, फेरी घरको छानामा ढुङ्गा बज्यो।

अब त आमाको साथ साथै हामी पनि कराउन थाल्यौ। हामी सबै कराएको सुनेर एक जना दाई र अङ्कल हाम्रो घरमा आई पुगे। हामीले ढुङ्गा हानेको कुरा भने पछि दाई र अङ्कल घर माथि हेर्न गए। आमा, दिदी र बहिनी घरमै बसे, म चाही दाई र अङ्कलको पछि पछि लागे। हामीले हल्ला खल्ला गर्दै घर माथिको लगभग सबै बारीका कान्ला मुनी, कान्ला माथि, झाडी, कुना काप्चामा हेर्यौ। हामीले खोज्दै गर्दा बीचमा अर्को ३-४ चोटि ढुङ्गा हानी सकेको थियो।
आमा, दिदी बहिनीले हामीलाई आँगनको छेउबाट हेर्दै हामीलाई भन्दै थिए -
“उ त्यता बाट आएको छ, त्यता तिर हेरो… “
हाम्रो हल्ला खल्ला सुनेर अल्लि पर पर घर हुनेहरू पनि कराउन थाले-
“ओइ.. के भयो????”
“यहाँ कसले हो अघि देखी ढुङ्गा हानी र’छ..” “ओइ… को हो….!!!!” हामी कराउँदै थियौँ। लगभग अँध्यारो हुन लागी सकेको थियो, त्यत्तिकैमा अरू ३-४ जना दाईहरू पनि आई पुगे। फेरी उनीहरू पनि हामीले पहिला खोजेको ठाउँ तिर खोज्न थाले। मान्छेहरू आउने क्रम बढ्न थाल्यो। सबैले बाटो माथि भएको बाँसको झ्याङमा कोही लुकेर हानी रहेको छ भन्ने शंका गरे। साँझ परी सकेको हुँदा लगभग सबैको हातमा टर्चलाईट थियो। सबै जना मिलेर बाँसको झाडी तर्फ लाग्यौ। जब सबै जना बाँसको झाडी तिर थियौँ, फेरी पल्लो छेउ तिर बाट ढुङ्गा हान्यो। सबै ढुङ्गाहरू हाम्रो घरको छत र वरिपरीनै बर्सिरहेका थिए।  त्यहाँ भएका आधा जति दौडँदै त्यतै तिर गए। त्यही बेलामा दुई वटा ग्रुपको बीच बाट ढुङ्गा हान्यो जहाँ कोही थिएन। उता घरमा मान्छे जम्मा हुँदै थिए। बूढापाकाहरू पनि आइरहेका थिए।

यतिका खोज्दा पनि कोही नभेटिए पछि कता कता सबैलाई डर लाग्न थाली सकेको थियो। सबै जना फर्किएर आँगनमा जम्मा हुन थाले। बूढापाकाहरूले आफ्नो जमानमा तर्साउन दिएका कथाहरू सुनाउन थाले। सबैले यो किन भएको हुन सक्छ भन्ने तर्क राख्न थाले। एउटा बलियो तर्क आयो-
“अस्ति कुल देवताको पूजा गर्दा के बिग्रियो र यस्तो भएको हो”
र लगभग सबै जना यसमा सहमत पनि भए।
बूढापाका बाहेक अरु सबै डरले थर्र थर्र काप्दै थिए। हामीलाई पनि डर लागीरहेको थियो। तर आमा चाही त्यति डराउनु भएको थिएन, त्यसले गर्दा पनि हामीलाई केही साहस आएको थियो। लगभग तिन घन्टा पछि छतमा ढुङ्गाको आवाज आउन बन्द भयो र  बिस्तारै बिस्तारै सबै जना आ-आफ्नो घर फर्कन थाले।

भोली पल्ट फेरी दिउसो ३ बजे देखिनै ढुङ्गा बर्सिन थाले, हामी करायौ, मान्छेहरू आउने क्रम जारी रह्यो, सबैले आ-आफ्नो तर्क राख्दथे। सबै अचम्मीत हुन्थे। दोस्रो दिन पनि त्यस्तै रातीको ९ बजे तिर ढुङ्गा बर्सिने क्रम बन्द भयो। घर फेरी सुनसान भयो। हामी भने भय तथा अचम्मीतको मिश्रित अनुभव गर्दै बसेका थियौँ। एक पछि अर्को दिन गर्दै ढुङ्गा आउने समय बढ्दै थियो। एक हप्ता पछि त ढुङ्गा कुनै पनि बेला आउन थाल्यो। साथै हेर्न आउने मान्छेहरूको चाप पनि त्यँही हिसाबले बढ्दै थियो। सबै जना आ-आफ्नो तर्क राख्दथे, तर सावधान कसैसँग थिएन। बा काठमाण्डौं मा हुनु हुन्थ्यो, अहिलेको जस्तो सञ्चार सुविधा थिएन, खबर पठाउन हुलाकबाट नै चिठी पठाउनु पर्थ्यो। गाउँका पोखरामा अफिस हुनेहरू र अफिसमा फोन सुविधा हुनेहरूले यो कुरा बा लाई खबर गरिदिन आवश्यक ठानेनन्। हामी केट्केटी, आमा- एक्ली असाक्क्षर आइमाई, हाम्रो परिवार भने अन्योलमै दिन बिताई रहेका थियौँ, बिलकुल आपत्ति आई लागेको लोग्ने मान्छेबिना को घर। खैर, मेरी आमाले दैबी-शक्तिमा बढी नै विश्वास गर्नुहुन्छ र गतिलो धामीझाँक्री लगाए पछि यो जान्छ भन्नेमा आमाको विश्वास थियो त्यसैले गर्दा पनि हामी भयभित भएता पनि त्यहाँ बस्नै नसक्ने अबस्थामा भने थिएनौ।

त्यो घटनाको रोचक प्रसङ्ग के छ भने, हाम्रो गाउ बाट सेती नदि नजिकै पर्छ। जति पनि ढुङ्गा आउँथे, त्यो सबै सेती नदीका ढुङ्गाहरू थिए (पानीले पखालेका खोलाका छेउका सेता ढुङ्गाहरू)। त्यो ढुङ्गा आउने बित्तिकै सुध्यो भने, आगोमा पोलिएको ढुङ्गा जस्तो गन्ध आउँथ्यो र सबै भन्दा रोचक कुरा त त्यसरी आएका ढुङ्गाहरूले कोही कसैलाई छुँदैनथ्यो, छेउमै खस्थ्यो तर कसैको शरीरमा छुन्थेन। र त्यो ढुङ्गाहरू कसैको आखा परेनन् भने त्यहीबाट हराउने गर्थे।

एक हप्ता बित्यो, दुई हप्ता बित्यो, ढुङ्गा आउने क्रम जारी नै रह्यो, टाढा टाढाका मान्छेहरू आइरहेका हुन्थे। कोही ले “भुत हो, शंख फुकेर घर घुमे पछि भुत भाग्छ भन्थे, कोही ले “मैले यो झाँक्री चिनेको छु त्यसले यस्तो भुत धपाउँछ” भनेर फुर्ती लाउँथे। कोही भने “यो कुनै मान्छेकै काम हो भन्दै म खोजेर आउँछु भन्दै घर माथितिर दौडन्थे। कोही आएर मलाई देउता चढ्छ, म धपाउन सक्छु भनेर देउता चढेको नाटक गर्दथे। तर पनि ढुङ्गा बर्सिने क्रम जारीनै थियो। यस्तै यस्तैमा एक महिना बितिसकेको थियो। हामीलाई भने यो कुरा दिन चर्या जस्तै बनिसकेको थियो। बीच बीचमा एक दुई जना आफन्तहरूले झाँक्रीपनि लिएर आए, झाँक्रीले अनेक थरी गर्यो तर पनि ढुङ्गा रोकिएन।

डेड महिना पछि बा घर आउनु भयो। त्यही समयमा एक जना ठुलाबाको छोरा पनि (उहाँ त्यो बेला खैरेनीमा बसोवास गर्नु हुन्थ्यो र अहिले हेटौडामा बसोवास गर्नु हुन्छ) हाम्रो घरको खबर सुनेर हेर्न आउनु भएको थियो। उहाँले भन्नु भयो, “तनहुमा एक जना धामी छन्, उनले यस्तो कुराको धेरै ठाउँमा समाधान गरेका छन् रे, केही गर्न सक्छन् कि”। बा को र दाइको तिनै धामीलाई बोलाउने निर्णय भयो। १०-१५ दिन पछि दाइले धामी लिएर आउनु भयो। जब ती धामीले हेराउँदै, कुराहरू भन्न थाले त्यहाँ निकै नै “अकवार्ड सिचुयसन” भएको थियो (हामीहरूको लागी पनि र उहाँ दाइको लागी पनि)। के कुरा भएको थियो भनेर म यहाँ भन्न चाहिन। त्यो कुरा यहाँ भन्दा मरेर जानेको अपमान हुन्छ। र अन्त्यमा धामीले यो समस्या सावधान गर्नका लागी रुद्री लगाउनु पर्ने सल्लाह दिए। ढुङ्गा हान्ने, नयाँ नयाँ मान्छेहरू आउने क्रम भने जारीनै थियो।

उनै धामीको सल्लाह बमोजिम, सायद भदौको पहिलो हप्तामा हामीले घरमा रुद्री लगायौ। अचम्मको कुरा रुद्री लगिएकै साझँ तीन घन्टा जति ढुङ्गा आउन रोकियो। त्यसको लगत्तै भोलि पल्ट ५ घन्टा जति ढुङ्गा आउन रोकियो। क्रमस: एक हप्तामा ढुङ्गा आउन ठप्प भयो। र हाम्रो परिवारले दुई महिना पछि अन्योल र भयको दिन चर्या बाट मुक्ति पायौ।

अहिले सोच्छु, सायद अहिलेको जस्तो सञ्चार सुविधा हुन्थ्यो भने त्यो खबर कहाँ कहाँ सम्म पुग्थ्यो होला।

हो, यो कुरा विश्वास गर्न अल्लि गाह्रो कुरा हो तर यसलाई “हावा गफ” सोच्नुहुन्छ भने तपाईँको समय खेरा फालिदिएको मा क्षमा माग्नु भन्दा म सँग अरू कुनै उपाय छैन

 
7 Comments

Posted by on July 22, 2011 in Article

 

Tags: , , , , , ,

समाज निर्माणमा आमा समुहको भुमिका

Photo: ekantipur.com

हुन त देशको अरु भेगमा के कस्तो छ थाहा छैन तर हाम्रो गाउमा भने आमा समुहको ठुलै योगदान छ। गाउको जड्यालाई ठिक पार्ने देखी लिएर गाउ बिकासको एजेन्डलाई देशको निती निर्माण तह सम्म पुर्याउन यिनीहरुनै अग्रसर हुन्छन। गाउका साना तिना बिकास कार्यहरुको लागी यिनिहरु सरकारको मुख ताकेर बस्दैन्। गाउमै स्थानिय स्रोत जुटाउनमा यिनीहरु कुनै कसर बाकी राख्दैन्। कुरा मेरो आफ्नै गाउको गरौ।

मेरो गाउमा आमा समुहको अबधारणा त्यस्तै २०६० तिर आएको हो। त्यो बेला देखी गाउमा आमा समुहले धेरै नै परिबर्तन गरेका छन्। त्यस बेला देखी अहिलेसम्म आमा समुहले बिध्यालय निर्माण/व्यबस्थापन, बाचनालय निर्माण, प्रतिक्षालय निर्माण, मन्दिर निर्माण, बाटो निर्माण तथा मर्मत लगायतका थुप्रै कार्यहरु गरी सकेका छन्। सायद ति कुराहरुका लागी सरकारको मुख ताकेर बसेको भए मेरो गाउ अहिले पनी जहाको त्यही हुन्थ्यो होला। उल्यखित कार्यहरुमा मात्र नभएर आमा समुह समाज सुधारको कार्यमा पनि उत्तिकै लाग्ने गरेका छन्। जब गाउमा जड्याहरु जाड खाएर समाजको बाताबरण बिगार्ने काम गर्छन्, तिनीहरुलाई तह लगाउन आमा समुह नै अघाडी सर्ने गर्दछन्, दशै तिहार आयो, गाउको बाटोमा झाडी बढ्यो, हिड्ने बाटो आफ्ट्यारो भयो, यि सबै कुराहरुमा आमा समुह आफै कुटो कोदालो लगाएतका औजारहरु बोकेर निस्कने गर्दछन्।

हामीहरुको आमा समुह सुरु सुरुमा तिहारमा देउसी भेलो खेलेर पैसा उठाउने गर्थे, त्यस पछी बिस्तारै गाउमा कसैको बिहे भयो कि त्यहा गएर रत्यौली खेलेर पैसा उठाउने गर्न थाले, त्यतीले मात्र नपुगेर गाउमा कसैकोमा ठुलो पुजा-आचा, जस्तै ब्रतबन्ध, सप्ताह, एकाहा लगाएको ठाउमा गएर भजन गाउन थाले। अर्को अर्थमा भन्ने हो भने अहिले आएर मेरो गाउमा आमा समुहले “भजने टोली” लाई रिप्पेस नै गरिदिएका छन्। त्यतीमात्र कहा हो र अहिले त गाउमा कसैको मा सानो पुजा गरेको होस् या कसैको छोर-छोरीको प्रमोसन होस् या कोही लाहुरे बिदेशबाट आएको होस्; आमा समुह आई हाल्छन्। बर्षौ पछी बिदाको लागी घर गएको बेला यसो सबैलाई भेटौ न भनेर निस्क्यो, पहिला दुईचार वटा “के छ?? कसो छ??” भनेर प्रश्न गर्छन, अनी “नाच्न कहिले आउने हो त नी?” भनेर सोध्न थाली हाल्छन्।

गतसाल म भेकेसनमा घर जादाको भोलिपल्ट साँझ बा ले भन्नु भयो, “आमा समुह नाच्न आउने भनेका छन् कहिले बोलाम??” आमा समुहले अन्य कार्यहरुमा गएर नाचगान गरेर पैसा उठाउने गरेको त थाहा थियो तर लाहुरे बिदेशबाट फर्के पछी गएर नाचगान गरेर पैसा उठाउने गरेको चाही मलाई थाहा थिएन। त्यो आमा समुहको निस्वार्थ काम थियो तर ब्यक्तिगत रुपमा मलाई चाही “केके-न भ’को जस्तो” गरी नाचगान गर्न चाही मन थिएन, त्यसैले “पछी कुनै दिन बोलाउला नि” भनेर टारेँ। भोली-पर्सि पल्ट यसो बाहिर निसक्दा जस्लाई भेटे पनी, बिशेषत ठुलीआँ, सानियाँ, हजुराँहरुले; “कहिले हो नाचगान गर्न बोलाउने” भनेर सोध्न थाले। झन त्यही साल बहिनीको पनी प्रमोसन भएको थियो, कोही छोड्ने वाला थिएनन्। आमा समुहले यसरी नाचगान गर्ने भनेको प्राय रातीको समयमानै हुन्छ बिषेशत राती ९ देखी १२ बजे सम्म। सबैको आग्रह, त्यो पनि समाजिक कार्यको लागी अनुदान संकलन भएको हुदा मैले त्यस्लाई नकार्न सकिन र एक रात सकेसम्म सबैलाई मिल्ने गरी बोलाईयो। बिस्तारै बिस्तारै सबै जान खाना-साना खाएर, जुढो भाडो गरेर आउनु भयो। बुढी बुढी हजुराँ ठुलिआँहरु गाउको बाटो त्यो पनी त्यस बेला राती लौरो टेक्दै आएको देख्दा, एकमन खल्लो पनी लाग्यो। तर उहाहरुलाई कसैको करकाप थिएन, स्वस्फ्रुत रुपमा आउनु भएको थियो। उहाहरुमा सानो रमाईलो जमघट र समाज निर्माण बाहेक अरु कुनै उदेश्य थिएन। भर्खरका तथा अधबैसै सानिआँ, भाउजुहरुले त रमाईलो गर्दै हुनु हुन्थ्यो तर बुढी हजुराँ ठुलिआँ हरु एक छिन त थपडी मार्नु भयो त्यसपछी त्यही झकाउन थाल्नु भयो। त्यो देख्दा चाही मलाई साह्रैनै खल्लो लाग्यो र मैले दिन पर्ने अनुदान दिएर कार्यक्रमलाई छोट्याईदिए।

यस्तै गाउको प्रथामिक बिध्यालय निर्माण गर्ने बेलामा आमा समुहले गरेको योगदान पनी सर्हानिय छ। बिध्यालय निर्माण गर्नु थियो, बजेटको अभाब थियो। अनुदान जुटाउनका लागी आमा समुह बाटो बाटोमा अनुदान संकलन गर्ने देखी लिएर पोखराका लगभग सम्पुर्ण सरकारी कार्यलयहरुमा धाएका थिए।

यो लेख लेख्दै गर्दा, एउटा अर्को कुरा पनी दिमागमा आयो। अहिलेको समयमा आमा समुहको भरपर्दो अनुदानको श्रोत भनेको बैदेशिक रोजगार नै हो। गाउका लगभग प्रत्येक घरका कम्तिमा एक जना बैदेशिक रोजगारमा छन् र सबै जसो बर्षेनी घर जान्छन्। जब लाहुरे घर पुग्छ, आमा समुह आई हाल्छन् र कसैले नकार्न पनि सक्दैन। तुलनात्तमक रुपमा अरुसंग भन्दा आमा समुहले लाहुरे संग धेरै अनुदान झार्ने गर्दछन। १० बर्ष पहिले खान लाउन गाह्रो भएका गाउका दलित परिवार अहिले दिल खोलेर आमा समुहलाई अनुदान दिन्छन्। यदी ति परिवार बाट कोहि बैदेशिक रोजगारमा गएका हुन्थेनन् भने सायद चाहेर पनि उनिहरु खुल्ला दिलले आर्थिक अनुदान दिन सक्षम हुने थिएनन् होला।

बैदेशिक रोजगार तथा अन्य माध्यमहरुले आमा समुहलाई प्रतक्क्ष-अप्रतक्क्ष रुपमा सहयोग गरेता पनी आमा समुहले तेरो, मेरो, दिन, रात नभनीकन निरन्तर रुपमा समाज निर्माणका लागी जगरुकता देखाई रहेका छन। देशको यस्तो बिग्रदो परिस्थितिमा पनी एउटी आमाले आफ्नो बच्चाको जसरी संरक्षण गर्दछिन् त्यसरीनै आमा समुहले पुरा समाजको संरक्षण तथा बिकास गरीरहेका छन्। र यस्ता आमा समुहहरु देशका प्रत्येक गाउहरुमा हुनु जरुरी छ।

 
1 Comment

Posted by on June 23, 2011 in Article

 

रुबिक क्युबको टन्टो

अस्ती बुरदुबाई तिर साथीसंग धुम्दै थिए, एउटा पसलमा ६ ओटा पाट भ’को डल्डो देखे.. फिल्ममा पात्रहरुले खेलाएको त देख्या थे, आफुले कहिले छोएको पनि थिईन.. त्यस्को बिग्रेको कलर मिलाउने हो भन्ने चाही थाहा थियो। “कती पर्छ??” भनेर सोधेको त २ दिराम मात्र पर्ने रहेछ, साथीलाई र मलाई एक एक ओटा लियौ। लिएर बाहिर मात्र के निस्केका थियौ, साथैको पसलको धोतीले चिन्नु न जान्नु खिस्स दात देखाउदै “मिलाके देखाओ, १०० दिरामका बाजी हुवा” पो भन्छ बा..। आफुलाई नआउने भए पछी किन बढी बोल्नु भनेर चुपो लागेर हिडियो तर त्यस्को बचन चाही चुस्स लाग्या जस्तो भो, बाटोमै प्लास्टीको खोलेर, साथी र म बाटोमै बटारदै हिड्न थाल्यौ। यो डल्लो को खास नाम थाहा थिएन आफुलाई, साथी पनि त्यस्तै परेछ, मलाई चाही “पजल क्युब” भन्छन जस्तो लाग्या थ्यो.. साथीको रुममा पुगे पछी गुगललाई सोधेको त “रुबिक क्युब” पो भन्दो रहेछ..!!!

त्यै दिन नजानी-नजानीकन साथीले त एउटा पाटो मिलाई राखेको थियो, आफुले मरी गए सकेको थिईन। फर्कने बेलामा मेट्रोमा पनि खुब ट्राई गरे, ४५ मिनेट मेट्रोमा कुदेको पत्तो पाईन। त्यो दिन रुममा आए पछी टेबलमा राखेको, त्यस पछी छोएको पनी थिईन। त्यै दिन टि्वटरमा चाहि “कसैले रुबिक क्युब सल्भ गर्न सक्छ??” भनेर टि्वटेको थिए.. आज बिहान उठ्ने बित्तीकै टि्वटर हेरेको त @eracube ब्रो ले “wanna solve rubik’s cube … i can assist u .. come to #skype :) ” भनेर मेन्सन गरी राखेको रहेछ.. त्यस पछी त मेरो बसेको भुत फेरी जागी हाल्यो नि.. @eracube ब्रोले स्काईप बाट कम्ती सिकाएको त हैन, के गर्नु आफ्नो दिमागमा घुसे पो त.. :) धेरै धेरै धन्यबाद है @eracube ब्रो….। बिहान ११ बजे देखी दिउसो ३ बजे सम्म त्यही बटार्दै बसे, मलाई गर्न नआए पनी गर्नु पर्ने के हो भन्ने लजिक चाही @eracube ब्रो ले भने पछी बुझेको थिए।

पछी अफिष जाने बेलामा पनी गाडीमा पनी खेल्दै थिए, म संगै बसेको फिलीपोनो केटाले खुब ईन्ट्रेस्ट देखायो, बज्जियालाई दिएको त ३-४ मिनेटमै सबै पाटा मिलाई दियो बा.. :O !!!! अफिषबाट फर्कने बेलामा पनि त्यही केटो मेरै छेउमा पर्यो, सोधे बज्जियालाई ल भन कसरी बनाउने यो भनेर.. थर्ड लेयरमा गएर हुन सक्ने पोसिबिलिटी एउटा “माछा आकार” बन्दो रहेछ, त्यस्को लजिक चाही सिकायो..
१. माथी पट्टी भएको कलर र मुख तिर, अर्को कुनामा भएको कलरलाई आफु तिर फेस गर्ने।
२. त्यही कलर भएको साईडको तल पट्टीको कलरलाई माथि ल्याउने।
३. त्यो कलर दाया छ भने, माथी पट्टीको लेयरलाई एक दाया धुमाउने। बाया छ भने बाया धुमाउने।
४. सुरुमा १ नंम्वर वाला भएको अर्को साईडको कलरलाई आफु तिर फेस गर्ने।
५. ३ नंम्वर मा धुमाएकोलाई आफुतिर फेस गर्ने र पहिलेकै ठाउमा (तल पट्टी) लैजाने।
६. ४ नंम्वर वालालाई पहिलेकै ठाउमा (तल पट्टी) लैजाने।
यती गरे पछी बाकि रहेको एउटा फेस पनि सिद्दीन्छ। यो चाही फाईनल स्टपेको वन अफ द पोसिबल स्टेप हो र .. त्यस्ले भने अनुसार, एउटा “माछा आकार” हुन्छ रे, अर्को “अंग्रेजिको 9″ जस्तो हुन्छ रे, अनी अर्को चाहि “अंग्रेजिको T” जस्तो हुन्छ रे.. यत्ति हो!!!!!

साच्चै यो फाईनल स्टेप वाला चाहि आफुले संम्झनको लागी लेखेको हु है, पढ्दा पढ्दै रिस उठ्या भे, सरी.. :P

[old blog post, copied from blogspot]

 
1 Comment

Posted by on June 11, 2011 in Article, Humor

 

घर काँ?? “काठमान्डु”!!!!

अरबआँ गोडा तिनेक बर्षको दौरानमा धेरै नेपालीहरु भेटियो। कुनै पनि नेपालीलाई पहिलो चोटी भेट्दा एउटा कुरा त सोध्न मन लागी हाल्छ, सोध्दिन भन्दा पनि के हो के हो मुखबाट निस्की हाल्छ सायद तपाईहरुले पनी त्यही गर्नुहुन्छ होला। पहिला त “ए तपाई पनी नेपाली??” भनिन्छ… अनी त्यो प्रश्न “घर काँ नि????”

अहिले संम्म भेटेका मध्य ९५% को जवाफ “काठमान्डु” नै रहैको छ र बिस्तारै कुरा अघी बढ्दै जादा थाहा लाग्छ कि ति ९५% मध्ये ६०% भन्दा बढीको घर बास्तबिक “काठमान्डु” नभएर अन्त कतै हुने गर्छ।

धेरैको त बोलिको लबजले नै थाहा लाग्छ कि यो मान्छे “काठमान्डु”को हैन भनेर, आफुलाई त्यस्तो देखे पछी झन कोट्याई कोट्याई सोध्न मन लाग्छ।

अनी यस्ता जवाफहरु भेटीन्छन्:
“अँ, खास घर त पाल्पा हो, काठमान्डुमा एउटा घडेरी किन्या छु…”
“अँ, काठमान्डुमै हो, पाचखाल तिर……”
“अँ, खास घर त तराई तिर हो, तर बस्ने गर्ने काठमान्डुमै हो, अंकलको घर त्यही छ…..”
“अँ, खास घर त मोरङ हो, भाई काठमान्डुमा डेरा लिएर बस्छ…”
र यस्तै यस्तै……..!!!!

ए बाबै, म त छक्क पर्छु भन्या, मान्छेलाई घर “काठमान्डु” भन्न कत्रो शौख हो भन्या।

यो कुरा पहिला देखीनै मनमा लागी’राथ्यो, आज भ्यान भ्यानै एउटा ईन्डियनले प्वाक्क सोधिहाल्यो…
“नेपाल मे दुस्री जग्हा कोही नही हे क्या??”
मैले “किन” भनेर सोध्या त “जो भी नेपाली से, नेपाल मे घर किधर है पुछे तो, काठमान्डु से और कोही जाग्हा बोल्ता ही नही…”

म नेपालीलाई त आफ्नै नेपालीले यसरी धाक दिन्छन्, बिचरा त्यो त ईन्डियन, धन्न अहिले संम्म कसैले सिंहदरबार, राजदरबार मेरै हो भन्या रैनछन…..

लौ न साथीहरु यस्तो कुरा मैले मात्र भोग्नु पर्या हो कि तपाईले पनी भोग्नु भा’छ???

[old blog post, copied from blogspot]

 
1 Comment

Posted by on June 11, 2011 in Article, Humor

 

आजको दिन मेरो लागी थिदै थिएन!!

जिन्दगीमा कहिले काही यस्तो दिन आउछ नि, त्यो दिनमा जुन कुरा-काम गर्यो त्यही कुराले दिमाग खराब गरिदिन्छ। आजको दिन सायद मेरो लागी त्यस्तै एउटा दिन थियो, जुन बिहान उठे देखी साझँ सम्म जे कुरा छोयो त्यहि कुरामा दिमाग खराब।

हिजो राती २:३० मा आएर सुतियो, बिहान ७:३० मा उठेर अफिष गैयो। राम्रोसंग निन्द्रा नपुगेकाले, केहि काम गर्ने मन थिएन। राती कच्याकुचु खाईयो, बिहान मज्जाले भोक लाग्या थियो, त्यसैले अफिष जाने बेलामा बाटोमा ग्रोसरीबाट डोनट लिएर गए, (प्राय त्यस्तै गर्छु, ग्रोसरीबाट केहि खाने कुरा लाग्यो, अफिषमा गएर चिया बनाएर, चियासंग खायो), आज अफिष पुगे, पानी तताए, चियाको कपमा चिनी हाले, चिया पत्ती हाल्नलाई भाडो हेरेको त चिया पत्ती सक्किएको रहेछ।

यसो टि्वट तिर हेरेको, सबैले आज देशको राजनितिक अबस्थाबाट आएको फ्रष्ट्रेसन पोखिरहेका रहेछन्। सबै टि्वटहरु पढे, देशको अबस्था देखेर झन दिक्क लागेर आयो।

४-५ दिन देखी आजैका लागी भनेर साचेर राखेको एउटा काम थियो, जस्का लागी बाहीरको कम्पनीको मान्छेलाई फोन गरेर काम गर्नु पर्ने थियो, त्यो मान्छेलाई फोन गरेको त्यस्को आज अफ रहेछ। त्यो काम पनि गर्न पाईएन।

अस्ती एउटा नयाँ कम्प्युटर लिएको थियो अफिषले, त्यो दिन कन्फिगर गर्नको लागी मात्र सि.पि.यु झिके (अरुकुराहरु, विन्डोज सिडी, किबोर्ड, माउस, अनि केबलहरु कार्टुन बक्स भित्रै छोडेर त्यही साईडमा राखेको थिए, हिजो मेरो अफ डे को दिनमा हाउस किपिङ आएर त्यो कार्टुन बक्सलाई गार्बेज भनेर फाल्दिएछ, त्यस्ले त झन नराम्रो संग दिमाग ततायो। (धन्न कार्टुन बक्स चाही गार्बेज रुममै रहेछ)

एउटा किच किचे म्यानेजरको कम्प्युटर फर्म्याट गर्न पर्ने थियो। फर्म्याट गर्छु भनेर गएको, त्यस्को पि. सी. को मोडल नै फरक रहेछ (जस्ले गर्दा रेगुलर तरिकाले फर्म्याट गर्न पाईन, रेगुलर तरिकाले गर्दा ५ मिनेटमा कम्प्युटर फर्म्याट हुन्थ्यो, अर्को मोडलको पि.सी. पर्दिनाले २ घन्टा लोग्यो। सबै कुराको ब्यक अप लिएरनै फर्म्याट गरेको थिए, एउटा सानो कन्फ्युजनले गर्दा उस्को मेल ब्याकअप भएनछ, (त्यस्ले झनै दिमाग खराब गर्यो), बल्ल बल्ल त्यस्को मेल रिकभर गरे।

यती गर्दा सम्म साझको ७:३० भै सकेको थियो, साह्रै भोक लागेर क्याफ्टेरिया गएको भात सिद्दिएको रहेछ। नेपालीको छोराले “भात” खान नपाउदा झनै रिस उठ्यो, तै पनी भोक त मार्नै पर्यो, हट डग बनाउन लगाए, हट डग बनाएर दियो, पहिलो बाईट लिने बित्तिकै अल्ली कस्तो कस्तो स्वाद आयो। के हालेको छ यस्मा भनेको त बिफ कवाब पो भन्छ, जनु आफुले खादै खादिन।

अनी यसो बिचार गरे, आजको दिन मेरो रदै रहेनछ जस्तो लाग्यो, खुरुक्क उठेर घर आए र यो बल्ग लेख्दै छु। खानको लागी चाही ग्रोसरीबाट स्याङ्विच लिएर आ’को छु, तताएर खानु पर्ने छ, हेरौ त्यो तताएर खाने बेला सम्म अरु पनी केहि हुन्छ की.. :)

PS: अझै एउटा कुरा छुटेछ नि, त्यो म्यानेजरको मेल कसरी रिकभर गर्ने भनेर ठिस भएर बसिरा’थै, त्यै बेलामा अर्को होटलबाट फोन आयो, एउटा गेष्ट कम्पलेन छ भनेर (दुईटा होटल हेर्ने हुदा कहिले कुन होटल, कहिले कुन होटलमा हुन्छु)। गेष्टसंग कुरा गरेको “हेलो म आई.टी बाट” भन्ने बित्तीकै एउटा महिलाको आवज ननस्टप यसरी आयो “कसैले आज दिउसो मेरो ल्यापटप चलाएर मेरो हटमेलमा भएको सबै कन्ट्याक्टहरुलाई भाईरस भएको मेल पठाएछ, मेरो सबै साथीहरुले फोन गरेर मलाई कराईरहेका छन्, मैले तिमीहरुको ईन्टरनेट चलाउने बित्तिकै यस्तो भयो, तिमरुको होटलको कसैले मेरो आईडी ह्याक गरेर यस्तो काम गरेको हो, त यहा तुरुन्त आएर यो प्रोबोलम सल्भ गर” पो भन्छे। मैले कुरा बुझीहाले, ल्यापटमा भाईरस लागेछ र त्यही कुरा गेष्टलाई भने तर जवाफ यस्तो आयो “तलाई थाहा छ म कुन कम्पनीमा काम गर्छु, हाम्रो ठुलो कम्पनी हो, हाम्रो कम्पनीमा भाईरस छिर्दैन”। यस्तै यस्तै बहस १५-२० मिनेट चल्यो। लास्टमा “म तेरो जि. एम. संग कुरा गर्छु” भनेर धम्की दिदै फोन राखी.. :)

[old blog post, copied from blogspot]

 
Leave a comment

Posted by on June 11, 2011 in Article

 

भदौ १४ – मेरो भबिष्यबाणी~~

अझै पनी ह्वा गाम तिर मिठे ज्योतिशीको भाईको छोरो भनेसी जस्लने नि चिन्छन्, हिङ नभएन हिङ् बाधेको टालो त हुँ नि, ल म पनी भबिष्यबाणी गर्दिम है त।

नालाएकहरुले जसो तसो ३ महिनाका लागी म्याद थपेछन त्यो पनी नयाँ सरकार बनाउने सर्तमा। पहिलो कुरा ठोकुवा गरेर भन्छु- यो म्याद संबिधान बनाउने म्याद हुदै होईन। हदै सम्म गरेछन भने, भदौ १४ सम्ममा नयाँ सरकारले पुर्णता पाउने छ। अनी हामीले बल्ल सरकारमा पुर्णता पायौ, अब संबिधान लेख्छौ भनेर फेरी अर्को उनिहरुको ईक्षा अनुसारको समय थप्नेछन्।

३ महिनाको ब्रेक डाउन पनी दिई हालौ है त -

  • १ महिना झल्लुले राजीनामा दिन लाई।
  • १ महिना को प्र.म. बन्ने भनेर छान्न लाई।
  • अनी बाकी रहेको एक महिना चाही प्र.म. छानेर प्रमुख मन्त्रालयको बाडफाड लाई।
  • भदौ १४ गते अन्तिम दिन चाही, दिउसो छोटा मोटा बाकी रहेका मन्त्रालयको भाग बन्डाम मिलाउने र राती १२ बजे ल अब समय संबिधान लेख्नका लागी हो भनेर समय थप्ने।

नोट: पुरा समचार पढेको छैन, टि्वट्मा साथीहरुले ३ महिना म्याद थप भो भनेको हिसाबले यो ब्लग लेख्न मन लागेको हो। मेरो कुरा छेउ न टुप्पोको लागेको भए माफ पाउ। :)

[old blog post, copied from blogspot]

 
Leave a comment

Posted by on June 11, 2011 in Article, Humor

 

अल्छी लाग्दो शनिबारले जन्माएको WordPress

आज शनिबार, मेरो अफिषको चलन अल्ट्रनेट विकईन्डमा २ दिन अफ हुन्छ म्यानेजमेन्ट लगायत एड्मिन स्टाफहरुलाई।  हुन त मेरो पनी अल्ट्रनेट विकईन्डमा अफ हुन्छ तर उनिहरुले काम गर्ने शनिबार। आज सबैको अफ छ, म अफिष आएको छु। जब सबै अफ हुन्छन मेरो पनी खासै केहि काम हुदैन।

के गर्ने के गर्ने भएको थिए, मेरो Blogspot मा बनाएको बल्ग तिर गए। शुरु देखि नै थिम चित्त बुझ्दो भेटाएको थिईन, आज पनी खोजे, चित्त बुझ्दो भेटीन। अनी WordPress याद आयो। WordPress मा गएर लगईन गर्न खोजेको “this username is already taken” पो भन्छ। कम्प्युटर चलाउन जान्ने भए देखि प्रयोग गर्दै आएको एउटा युजरनेम पासवर्ड छ। त्यै ट्राई गरेको त लगईन पो भयो। :D कहिले साईनअप गरेको थिए, आफैलाई थाहा छैन।

यस्मा के कस्तो फिचर छन् भनेर हेर्नलाई त एउटा बल्ग पोष्ट गर्ने पर्यो, के लेखौ के लेखौ भयो, अनी यही लेख्दिए..!!! :D

आशा छ, यस्मा चित्त बुझ्दो थिम पाउछु कि!!!

PS: साचै एउटा कुरा मेरो आफ्नै नामको डोमेन छ। अहिले ई-नेटमा पोईन्टेड छ। मेरो आफ्नै डोमेनमा यो बल्ग चलाउन मिल्छ कि नाई?? fyi: म “फ्री” को कुरा गर्दै छु नि.. :P

 
4 Comments

Posted by on June 11, 2011 in Article

 

Tags: ,

 
Follow

Get every new post delivered to your Inbox.

Join 924 other followers