RSS

Category Archives: Humor

अरबको भोगाई: चाईनिज रेष्टुरेण्ट!!!

हिजो साँझ एक जना साथी र म नशिर स्क्वाएर तिर टहलिँदै थियौँ, राती ९:३० बजिसकेको थियो, बाटो हिँड्दै गर्दा ठ्याक्क म्याकडोनल्स् को अगाडि के पुगेका थियौँ, भोक पो लागेर आयो। त्यहाँ छिर्नै मात्र लागेको, हाम्रो अगाडि एक हुल चाईनिजहरू देखिए। उनीहरूलाई देखे पछि मलाई भने चाईनिज फुड खाने तीब्र ईक्षा जागेर आयो। त्यही नजिकै चाईनिज रेष्टुरेण्ट पनि थियो, साथी र म उतै तिर हानियौ। हामी बन्द ढोकाको नजिक पुग्ने बित्तिकै भित्र बाट ढोका खुल्यो, बिरालो कराएको जस्तो “निह्हाउ” आवाजका साथ।

भित्र छिर्यौ, सबै चाईनिज नै चाईनिज, लगभग सबै टेबलहरू प्याक, अनि सबैका हातमा दुई दुइटा सिन्का। टेबलको बीचमा बलिरहेको स्टोभ, स्टोभको माथि खै के के हो, सबै ले त्यसरी नै खाँदै थिए। हामी भने वाल्ल-जिल्ल परेर कता बस्ने होला भनेर हेर्दै थियौँ। एउटा वेटर आयो र कुना को एउटा टेबलमा देखायो। पहिला पनि चाईनिज रेष्टुरेण्ट त न गएको त होइन, तर यस पालीको भने अल्लि बेग्लै लागिरहेको थियो मलाई। वेटर मेनु लिएर आयो, मेनु हेर्यौ, धेरै जसो सबै नुडल्डस् कै आइटमहरू थियो। साथी र म धेरै बेर घोरिएर मेनु हेर्यौ, के मगाउने मगाउने, आईडिया नै आएन। मेनुमा राखेका प्रायः सबै फाटोहरू नुड्ल्स र खुर्सानीकै बर्चस्व देखिन्थ्यो; आफूलाई भने खुर्सानी देख्ने बित्तिकै कान तातेर आउँछ तर पिरो खाना खाई सके पछि नाक पुछ्दै स्वाँ स्वाँ गर्नु को मज्जा?? आहाहाहाहा..!!!!! पुरै मेनु केलाउँदा, नाम सुनेको एउटा आइटम देखियो “किम्ची”, अरू त खै के के हो के के। त्यही मेनुमा घोतलिदै गर्दा एउटा वेटर आएर चाईनिज टोनको इङ्ग्लिस मा खै के भन्यो, उसले के भन्यो भन्ने तर्फ खासै चासो दिइन। पकै पनि अडर लिन आएको होला भन्ने बुझेँ, अनि फ्याट्ट भनि हालेँ, “वान किम्चीयस पालि चाही बुझिने गरि सोध्यो,”एनिथिङ् एल्स??”। साथीले उता बाट वान स्टिर नुडल्स विद सल्लाईस फिस”” भन्नु भयो। अनि वेटर गयो।

Image source: http://www.gardenfork.tv

साथीले आफ्नो अगाडी राखेका दुइटा सिन्का खेलाउँदै भन्नुभयो, “कसरी खाने हो यसले??” ““मैले पहिला एक दुई पटक खाएको छु, जानिएलानी खान त” धाक दिए मैले। गफ गर्दा गर्दै वेटरले एउटा खानाको आइटम लिएर आयो। सागको डाँठमा जे भा’को खुर्सानी मोलेको, आखिर किम्ची भनेको त्यही त रहेछ नि। भोक लागी रहेको बेलामा त्यो देख्दा भने मेरो मुखको चारै तिर बाट सरररररर पानी निस्क्यो। मन थाम्न सकिएन, सिन्का समातियो र टिप्न थालियो सागको डाँठ; चौपट पिरो तर साह्रै मज्जा आउने स्वादको। सागको डाँठको सा-सानो टुक्रा सिन्काले समाएर खान खासै गाह्रो भएन, ल्या जानिहालियो नि सिन्काले खान..!!! मैले साथीलाई भने, साथीले पनि हँ मा हँ थपिदिनु भो। नाक पुछ्दै किम्ची खाँदै थियौँ, एउटा बडेमानको भाँडोमा झट्ट हेर्दा “थुक्पा” जस्तो देखिने तर काँचो सागको पात र मासुका टुक्राले टप गरेको खाने कुरा लिएर आयो वेटर। त्यो रहेछ स्टिर नुडल्स विद सल्लाईस फिस””।

हामीले किम्ची खाँदै गर्दा दायाँ बायाँ का टेबलका ले हामीलाई हेरेर मुसुमुसु नहाँसेका पनि होइनन् तर हाम्लाई बाल!?!?! ““लौ त तिनीहरूले हामीले जस्तो हातले ग्वाम् ग्वाम् भात खाएर देखाउन??” साथीले च्यालेन्जका साथ भन्नु भो। हामीलाई चाईनिज खाना खानु मात्र होइन, सिन्काले खान पनि सिक्नु पर्ने थियो। ठूलो भाँडोमा आएको नुडल्स उध्रिन थालियो, लगभग १० मिनेट जति ट्राई गर्दा दुई-चार चोटि ईत्ती ईत्ती चाउचाउ मुखाँ परेको थियो भने औँला बाउँडिन थालिसकेका थिए। यत्तिकैमा एउटी राम्री वेट्रेस नजिकै आएर चाईनिज टोनको इङ्ग्लिस मा भनि सर यु वाना फोर्क??” मेरो दिमाग हजार किलोमिटर प्रति घण्टाको स्पिडमा कुद्यो, साथी तिर पुलुक्क हेरेँ, अनि कन्फ्युज हुँदै त्यो वेटर तिर हेरेँ, मोरीले मेरो बाउँडिएका औँलाले समातेका सिन्का तिर इसारा गर्दै फेरी भनि सर यु वाना फोर्क?!?!?! बल्ल पो बुझेँ, हाम्रो हालत देखेर मोरीलाई, दया लागेछ, “काटाँ ल्याईदिऊ भनेर सोधेकी पो रै’छे”।

बल्ल बल्ल त्यो भाँडोको नुडल्स सकियो तर त्यो एक प्लेट किम्ची भने सक्ने आट आएन…. अनि वेटरलाई बोलाइयो र भनियो “बिल प्लिज””।

[दुई बर्ष जती पहिले त्यही एरियामा चाईनिज रेष्टुरेण्ट खोज्दै जाँदा एउटा अवैध रुपले कुकुरको मासु बच्ने रेष्टुरेण्टमा पुगेका थियौँ, समय मिलेमा त्यो अनुभव पनि लेख्ने छु।]

 
Leave a comment

Posted by on February 13, 2012 in अरबको भोगाई, Humor

 

Tags: , , ,

मेरो बाल्यकाल र टिभी

धेरै दिन भएको थियो ब्लग नलेखेको, हिजो टि्वटरमा साथीहरू #ChildhoodMovie भन्ने ट्रेन्डिङ् टपिकमा कुरा गरिरहेका रहेछन्, मलाई भने मेरो बाल्यकाल अनि त्यो बक्सा भित्रको टीभी याद आयो। त्यसैले त्यो मीठो सम्झनालाई ब्लगमा उतार्न मन लाग्यो।

हाम्रो गाउँमा ४८ सालमा बिजुली आएको थियो। तर टीभीको बारेमा भने घरमा बिजुली आउनु भन्दा पहिला नै प्रशस्त सुनेको थिए। किन की बा ४७ सालमा युनाईटेड नेसन पिस मिसन अन्तर्गत लेबनान जानु भएको थियो। त्यही लेबनानबाट फर्कने बेलामा सामसुङ् को १४” कलर टीभी लिएर आउनु भएको थियो रे। तर हाम्रो घरमा बिजुली नआईपुगेकोले बा को एक जना सिनियरले “तेरो घरमा बिजुली नआउन्जेल म चलाउछु” भनेर, टीभी काठमाण्डौमै राखिदिएछ र बा ले पनि नाई भन्न सक्नु भएन छ (आखिर उ बेलाको आर्मीको चेन-अफ-कमाण्ड जो पर्यो :( )। ४८ सालमा घरमा बिजुली आयो, बा २-३ चोटि त्यही टीभी लिने भनेर काठमाण्डौ जानु भयो तर त्यो मान्छेले टीभी दिन मानेन छ। बा प्रत्येक चोटि निरास हुँदै फर्कनु हुन्थ्यो अनि हाम्रो आफ्नै बिस्तरामा सुत्दै टीभी हेर्ने सपना चकनाचुर हुन्थ्यो। आफ्नो टीभी भएर पनि घरमा ल्याउन नपाएकोमा सायद बा पनि यो विषयमा निकै निरास हुनु हुन्थ्यो होला त्यसैले त प्रत्येक चोटि बजार तिर जाँदा आफूले ल्याएको टीभीको अहिले कति पर्दो रहेछ भनेर टीभी पसलहरूमा मूल्य बुझ्न जानु हुन्थ्यो। एक चोटि बा ले मलाई पनि लिएर जानु भएको थियो। बा ले “हाम्रो टीभी उ त्यस्तै हो” भनेर देखाउँदा मलाई हाम्रो टीभी राख्ने देखी साह्रै रिस उठेको थियो। उ बेलामा त्यो टीभीको मूल्य रु. ५४,०००।– भन्ने सुन्दा म झस्केको थिए।

बिजुली आउने बित्तिकै गाउँमै पहिलो पटक “ब्रिटिस लाहुरे” लेख बहादुर गुरुङ ठुलाबाले ब्ल्याक एण्ड ह्वाईट टीभी ल्याएका थिए। उनको घर सिनेमा हल जस्तै हुन्थ्यो। सुरू सुरुका दिनमा त उनले टीभीलाई आँगन तिर फर्काएर पिँढीमा राखेर थिए। महाभारत आउने बेलामा त उनको आँगनमा पनि खुट्टा राख्ने ठाउँ हुँदैन थियो। सजिलो गरी बसेर हेर्नेका लागी एक घन्टा अघि नै उनका आँगनमा पुग्नु पर्थ्यो। पछि भने आँटी मा लागेर राखे। टीभी हेरी रहेका बेलामा हावाले एन्टेना हल्लाउँदा जब टीभीमा ईमेज बिग्रिएर आउँथ्यो (कहिले झ्यार्रर्रर्रर्रर्र त कहिले बाङ्गो टेढो), सबैको अनुहार त्यही टीभीमा देखिएको ईमेज जस्तै हुन्थ्यो। अनि लेख बहादुर ठुलाबाका जेठा छोरा कुमार दाई हत्-पत्त छानामा चढेर एन्टेना मिलाउन थाल्थे। उनि छाना बाट चिच्याउँथे, “कस्तो आयो??” राम्रो आयो भने तलबाट सबैले एउटै स्वरमा भन्थे आयो आयो आयो सफा आयो। जब एक छिन सम्म सफा आउन थाल्थ्यो सबैको अनुहार हँसिलो हुन्थ्यो। तर कहिले कहीँ त ती गुर्सिनी ठुलिआँ ले साह्रै नमिठो बचन लाउँथिन्, बच्चै भए पनि नराम्रो लाग्थ्यो। मन-मनै सोच्थे “हाम्रो पनि तिम्रो भन्दा राम्रो टिभी छ, अर्काले राखिदिएर पो त”।

घरमा टीभी र रेडियो प्रति बढी मोह मेरो नै थियो तर यसरी अर्काको घरमा राता-रात टीभी हेर्न गएको बा आमालाई पटक्कै मन पर्दैन थियो। “आफ्नो कलर टीभी अर्का मोज गरेको छ, छोरा छोरी टीभी हेर्नेलाई राता-रात अर्काको घरमा जान्छन्” आमाले बा संग कर कर गरी रहनु हुन्थ्यो। मेरो टीभी रेडियो प्रतिको मोहलाई बुझेर होला बा ले मलाई एउटा एक “काने रेडियो” बनाइदिनु भएको थियो। (अफिसमा बिग्रेका टेलिफोनको रिसिभरलाई खै के गरेर हो कुन्नि रेडियो बनाउनु हुन्थ्यो। :D ) एक जनाले एउटा कानमा मात्र सुन्न मिल्ने हुँदा दिदीले त खासै दाबी गर्नु हुन्थे न तर बहिनी सँग भने दिन दिनै जस्तो झगडा पर्थ्यो :D

बा विजयपुर ब्यारेकमा हुनुहुन्थ्यो, घरबाट बढि मा दुई घण्टामा पुग्न सकिन्थ्यो। कहिले कही स्कुलमा लामो छुट्टी भएका बेला भने म प्रायः: उतै ब्यारेकमा गएर बा सँग बस्ने गर्थे। त्यहाँ पुगे पछि मेरो काम भनेको नुहाई धुवाई गरेर चिटिक्क परेर “जे.सि.यो मेस”को मनोरञ्जन हलमा बसेर टीभी हर्नु नै हुन्थ्यो। त्यहाँ त नेपाली टीभी मात्र कहाँ हो र, हिन्दी र इङ्ग्लिस च्यानल पनि आउँथ्यो। नेपाल टीभी बाट साँझ ८ बजे आउने समाचार पछि भने त्यहाँ प्रायः इङ्ग्लिस फिल्म च्यानल चल्ने गर्थ्यो। राम राम राम राम….. त्यो फिल्म आउने सिनले गर्दा बा’को छेउमा बसेर टीभी हेर्दा मेरो अनुहार भने रातो भएर आउँथ्यो।

खैर, यस्तै यस्तै मा ५० सालमा बा ले हाम्रो त्यो कलर टीभीको माया मारेर एउटा ब्ल्याक एण्ड ह्वाईट टीभी किनेर ल्याउनु भयो। त्यो टीभीलाई पूजा पाठ गरेर टीभीको बक्सा खोलियो। :) अनि एन्टेना मिलाउन थालियो। छानाको विभिन्न स्थानमा एन्टेना राख्दा पनि टीभीको सिङ्नल भेटाउन साह्रै गाह्रो भएको थियो उ बेला। फाईन्ल्ली टीभीको सिङ्गन भेटियो अनि गाउँको दोस्रो टीभी हाम्रो घरमा चल्न थाल्यो। अब भने हाम्रो घर पनि सिनेमा हल जस्तै हुन थाल्यो। अनि आफ्नो बिस्तरामा सुन्दै टीभी हेर्ने सपना पुरा भएको थियो। तर मन मा कता कता कलर टीभी भने अड्की रहेको हुन्थ्यो। टीभीमा “श्रीमान गम्भीर नेपाली…… “ आएर टीभी झ्यार्रर्रर्रर्रर्रर्र नगरुन्जले सम्म टीभी बन्द हुन्थे न। :)

सुरुको एक वर्ष जति त टीभी लगातार चल्यो तर हाम्रो पढाइ भने बिग्रँदै गयो। ५ बाट ६ मा जाँदा गा.बि.स टपेको मैले.. :P ६ बाट ७ मा जाँदा पाँचौ स्थानमा आए :) त्यस पछि भने टीभी फेरी बक्सामै गयो। बा शुक्रवार साँझ आउनु हुन्थ्यो अनि आइतबार बिहान जानु हुन्थ्यो। सोही अनुरूप टीभीको बक्सा पनि शुक्रवार साँझ खुल्थ्यो अनि आइतबार बिहान बन्द हुन्थ्यो। तर बीच बीचमा कहिले कही दिदी बहिनी र म मिलेर आमालाई काम, पढाइ सबैमा मनाएर, बा लाई नभन्दिने सर्तमा बक्सा खोलिन्थ्यो। दुईचार चोटि बा ले थाहा पाएर राम्रै धुलाइ खाइएको पनि थियो। :)

यस्तो क्रम दुई वर्ष जति चल्यो। ५४ साल तिर बा अफिसको कामले काठमाण्डौं जानु भएको थियो, फर्केर आउँदा त…. ए होईsssssssss!!!!!!!! हाम्रो कलर टीभी पनि ल्याउनु भएछ। अर्काले ६ वर्ष मोज गरेको टीभी भए पनि घरमा भने पूजा पाठ गरेर नै बक्सा खोलेका थियौँ। :)

त्यति बेला सम्म गाउँमा अरू घरमा पनि टीभी आई सेकेको थियो। टीभीको क्रेज बिस्तारै हराउँदै गएको थियो। हामी पनि टीभीलाई भन्दा पढाइलाई ध्यान दिन पर्छ भन्ने बुझी सकेका थियौँ। त्यस पछि बा पनि काठमाण्डौं सरुवा हुनु भयो अनि टीभी पनि बाहिर टेबलमा बस्न थाल्यो। म पनि टीभीका सीमित कार्यक्रममा सीमित हुन थाले। गितान्जली, ब्रजेस खनालको अचम्मको पोको, नारायण त्रिपाठीको ट्वाक्क टुक्क, अनि बिहान ७:३० देखी ९ बजे सम्म आउने ईमेज च्यानल (त्यसमा पनि आलोक नेम्बाङ्को पप गितको कार्यक्रम) अनि शनिबार दुई बजे आउने फिल्म मेरा प्रिय कार्यक्रमहरू थिए।

पछि ५५-५६ साल तिर आएर बिहान नौ बजे सम्म (???) मात्र सीमित रहेको नेपाल टेलिभिजन निर शाहको “साङ्ग्रीला टिभी”ले गर्दा दिन भरी चल्ने भएको थियो। यस्तै यस्तै मा मेरो स्कुले जीवन पनि सकियो। काठमाडौंको खाल्डो छिरे सँग सँगै मेरो टीभी प्रतिको प्रेम पनि धमिलिँदै गयो।

समय बित्तै गयो, तन्नेरी भइयो, पारिवारिक जिम्मेवारी आउन थाल्यो। कुनै बेला मनोरन्जनका लागी सबै भन्दा पहिलो प्राथमिकता हुने गरेको टीभी अहिले आएर सबै भन्दा अन्तिम प्राथमिकतामा परेको छ।

 
2 Comments

Posted by on January 13, 2012 in Humor, Random

 

Tags: , , , ,

ससुरा बा लाई चिठी

आदरणीय ससुरा बा जधौ,

हुन त छोरी दिन मन नलागेको केटाले सिधै ससुरा बा भन्दा झनक्क रिस उठ्यो होला है हजुरलाई? हजुरले जे सोचे नि, मैले हजुरकी छोरी नै ब्या गर्ने निधो गरीसक्या छु र हजुरकी छोरी डल्लिले पनि “बा आमाले जे सुकै भनून्, म त तिमी संगै ब्या गर्ने हो” भनेकी छिन्। त्यही भ’र मैले त हजुरलाईनै ससुरा बा स्विकार्न थालिसकेको छु। छोरी राम्रै हिसाबले दिनु भएछ भने ठिक्कै छ, नत्र हाम्रो कुरो छदै छ।

 ल्या, सन्चो बिसन्चो त सोघ्नै बिर्षेछु, आरामै छ नि, हैन?? अनि सासु मा को बाथले घुँडा खूब दुख्च रे भन्ने सुन्या थे, अहिले कस्तो भ’को छ कुन्नि? कहिले कही त सासु माको कर कर कर कर सुन्दा झर्को लाउँदो हो है हजुरलाई पनि। अनि सालो केटो पनि खूब बरालिँदै हिँडेको छ रे भन्ने सुनेको छु। पिर नगर्नु होला, हजुरकी छोरीसँ ब्या गर्ने बित्तिकै सालो केटालाई अरप तिरको एउटा भिसा जसरी भए नि झार्ने छु। तै’नि यता आए पछि सुध्रिन्छ कि??

नेपालमा छोराहरू अरप तिर आउनेका बाउ आमालाई छोरो फिलिपिनो केटीसँ लागेर बिग्र्यो कि भन्ने साह्रै त्राहि त्राहि हुन्छ अरे। हजुरले पनि मलाई त्यही नजरले हेर्नु भ’को भएर छोरी दिन गाह्रो मान्नु भएको हो भने, धरोधर्म, बिध्यानस्ट, मैले त्यस्तो केही गर्या छैन। किन हो किन, यो फिलिपिनो भन्ने बित्तिकै मेरो त दिमाग तातेर आउँछ। हजुरकी छोरी डल्लिले के मोहनी लगाई लगाई, त्यस्लाई बाहेक अरू कसैलाई सोच्न पनि मन लाग्दैन।

यती भनि सक्दा हजुरले बुझी सक्नु भो होला, हामी दुई बीचमा कस्तो डिप लप पर्या रछ भनेर। यो बुढेसकालमा आएर हामी जस्तो जोडीलाई छुट्याउन हजुरको मन छ भने, म राम राम मात्र भन्न सक्छु काँध थाप्न सक्दिन।

हजुरको मनमा यसले आज किन यस्तो चिठी लेख्यो भन्ने कुरा खेलीरा’ होला है। वास्तवमा कुरा के भने नि, आज नुहाउँदै थिए, बाथट्युवमा पानी बल्क भयो, के भयो भनेर यसो हेरेको त, अलि अलि कपालका रौ देखेँ। अनि अल्लि खोतल खातल पारेको त मेरा बाबैssssssss!!!!! ड्रेनेजको प्वाल त पुरै रौँले भरिएको रहेछ। अनि हत्त पत्त किचनेमा गएर काटा ल्याएर प्वाल खोतलेको त गतिलो एक मुठी कपाल निस्क्यो। अनि एैनामा गएर आफ्नै तालु हेरेँ, तालु त भर्खर धान रोपेको खेत जस्तो देखिएको रहेछ। मलाई साह्रै पिर पर्यो। पिर यस अर्थमा पर्यो कि यसै त हजुरले छोरी दिन गाह्रो मान्नु भ’को छ त्यही माथि यो तालु यस्तरी खुईलिदै गयो। हुन त उमेर संग-संगै धेरै जसोको तालु खुईलिदै जान्छ, यसै त मन नपरेको केटो अझ तालु पनि खुईलिएको देख्दा हजुरको मन अझै खिन्न होला कि भनेर यो चिठ्ठी लेखेको हुँ। घरोधर्म, यस्तरी तालु खुईलिने नै उमेर त भएको छैन, विश्वास गर्नुहोला। हेर्नुस् ससुरा बा, यो अरपको पानी साह्रै रुखो हुँदो रहेछ। यहाँ ५-६ बर्ष बिताउने हो भने तालु त चिल्लै हुने रहेछ। न पत्याए मेरा मित्र समुन्द्र जि लाई हेर्नोस्। म मात्र कहाँ हो र?? मेरा साथीहरूको पनि तालु खुईलिदै गएको छ, डल्लिलाई भनेर मेरो फेसबुकका फोटाहरू हेर्नोस त।

खैर, तालु हेरेर ज्वाई बुढो पर्यो नभन्नु होला। मिले सम्म म यही मङ्सिरमा आउने छु। डल्लिलाई घरको कामकाज सिकाउनु होला। हजुरले माने पन्चे बाजा बजाएर ब्या गरौँला नत्र हाम्रो कुरो छदै छ।

उही हजुरको हुनेवाला डोरीलाउरे ज्वाईँ,
डल्ले

 
8 Comments

Posted by on October 15, 2011 in Humor

 

Tags: , , , ,

ईतिश्री: ग्लोबल भिलेज २०१० भ्रमण

सिन १:
समय: साझको ५ बजे।

ट्रिङ ट्रिङ ट्रिङ…..

प्रथम पात्र: हेलो
द्धितिय पात्र: सुनन, साझ ७ बजे तिर दाई आउनु हुन्छ…., ग्लोबल भिलेज जाने हो भने हिड् भन्नु भ’को छ, जाने हो तिमी पनि???
प्रथम पात्र: हुन्छ नि त… मेरो आज अफ हो, ठिकै छ जाउला नि त..
द्धि्त्तिय पात्र: अहिले म अफिषमा छु, साडे छ बजे आउछु, तिमि रेडी भै राख।
प्रथम पात्र: ओके देन…
द्धित्तिय पात्र: ओके बाई…

सिन २:
समय साझको ६:०५ बजे।

टुउउउ टुउउउ टुउउउ…..

प्रथम पात्र: हेलो….खोई त.. दाई आउनु भएन???
द्धितिय पात्र: हेरन यार, दाई त बुर-दुबाई तिर जानु भ’को छ रे.. आउदा ९ बज्छ रे.. जाने र?? त्यहि माथी आज कि भोली हो ग्लोबल भिलेजमा फ्याम्ली डे हो रे..। आज त्यस्तै भो.. अर्को चोटी जाउला नि..।
प्रथम पात्र: ल ठिकै छ नि त.. अर्को चोटी जाउला..।
द्धित्तिय पात्र: तिमि रुममै हो?? म तिम्रो रुममा आउछु….।
प्रथम पात्र: आउन त.. म रुममै छु..।

सिन ३:
समय: रात ८:१५ बजे।
प्रथम पात्र र द्धित्तिय पात्र, प्रथम पात्रको रुममा… त्यहि बेलामा प्रथम पात्रको मोबाईल बज्छ…
ट्रिङ ट्रिङ ट्रिङ…..

द्धित्तिय पात्र: (फोन उठाउछ)……..ए छिन है दाई….। ए सुन न, दाई आउदै हुनु हुन्छ रे, जाने र ग्लोबल भिलेज???
प्रथम पात्र: आउदै हुनुहुन्छ भने जाउन त…।
द्धित्तिय पात्र: (फोनमा) ल आउनोस् न त हामी यहि छौ।

सिन ४:
समय: रातको ८:४५ बजे।
प्रथम पात्र र द्धित्तिय पात्र बस्ने बिल्डिङको गेटमा………, प्रथम पात्र, द्धित्तिय पात्र र द्धित्तिय पात्रको दाई (दाई)..

दाई: अस्ति पनि जाने भनेको मिलेन है, आज जाउन त, आज कि भोली फ्याम्ली डे हो क्यारे, जाउन न त…. तै पनि……. त्यस्तै भए फर्केर आउला….।
प्रथम पात्र, द्धित्तिय पात्र (सहमती जनाउदै): हुन्छ, जाउ न त।

सिन ५:
समय: रातको ९:१५ बजे।
ग्लोबल भिलेजको गेट। टिकट काट्ने ठाउ।

प्रथम पात्र: Can you please give me 3 ticket??
क्यासियर: Sir, today is family day, where is your family??
प्रथम पात्र: निच्च दात देखाउदै काउन्टरबाट फर्कन्छ।

सबै पात्रहरु काउन्टरको छेउमा बसेर रमिता हेरीरहेका हुन्छन् र फ्याम्लीको मतलब कप्पल हुनु पर्ने रहेछ भन्ने बस्तुस्थितिबाट थाहा हुन आउछ। त्यतिकैमा पात्रहरुको आखाँ पर्छ, ३ जना फिलीपिनो केटीहरुलाई पनि त्यसरी नै फर्काईदिएको… र अकस्मात प्रथम पात्रको दिमागमा मिन्टोसको एडमा जस्तो बत्ति बल्छ…. (जा बैरे जा, यिनीहरुसंग कुरा गर, यिनिहरु पनि आजका पिडित हुन्, टिकट काटुन्जेलको लागी फ्याम्ली बन्ने प्रस्ताब राख….. )

प्रथम पात्र: Excuse me, we are also trying to go inside, but they are asking for family, if you can help us, we all can go inside.
फिलिपिनो ग्रुप मध्येकी एक (टाठीबाठी): Okay, how many of you are here???
प्रथम पात्र: We are three, there is no problem…
टाठीबाठी: Okay, give me money, I’ll buy the ticket (प्रथम पात्रसंग सय दिरामको नोट हुन्छ र टोटल ३० दिराम लाग्ने टिकटका लागी ७० दिरामको आस मारेर त्यहि सयको नोट दिन्छ।
(टाठीबाठीले टिकट लिएर आउछे र सबै पात्रहरु एक एक कप्पल बनेर भित्र छिर्छन्…

टाठीबाठीले त्यो ७० दिराम दिने कुनै छाटकाट छैन…..

गेटबाट भित्र….

दाई: भाईहरु यिनिहरुसंग हाम्रो काम सकियो… अब यिनिहरुको पछी नलागौ…
अरु पात्रहरुलाई पनि यो कुरा ठिकै लाग्छ।
प्रथम पात्र, टाठीबाटीलाई: Okay, I think, now we can have our own time…
टाठीबाठी: Okay, enjoy your time….!!!
(टाठीबाठीबाट फिर्ता आएको पैसा दिने कुनै छाटकाट छैन…)
प्रथम पात्र (पैसा फिर्ता आउछ कि भन्ने आसका साथ): Okay, thank you for your support, by the way how much you paid for the ticket???
टाठीबाठी: Ohhh, each ticket cost 10 Diram……. I think, you want the remaining money back….. how much shall I give you???
प्रथम पात्र: Your wish….
टाठीबाठी: Okay, take 50 Diram…
प्रथम पात्र (मन मनै… आस मारेको पैसो हो, जति आउछ ली बैरे…): Thanks once again…

दुई ग्रुप दुई तर्फ लाग्छन…….

सिन ६:
समय: रातको ९:४० बजे

ग्लोबल भिलेज भित्र……. तिन जना पुरुष पात्रहरु गफाडीदै, गोर्खे पारामा घुमीरहेका छन्… एक्कासी पछाडीबाट आवाज आउछ…….

Hello….. Hello….

तिनै जना पात्रहरु पछाडी फर्केर हेर्छन्…..

पुलिस: YESSSSSS….. YOU ALL…..
तिनै जना पात्रहरुको अनुहार निलो कालो हुन थाल्छ…..

पुलिस: WHERE IS YOUR FAMILY???
दाई (डराउदै): Arabab, We came with friends and they are on the other side….
पुलिस: FRIENDS OR FAMILY???
दाई: friends…
पुलिस: CALL THEM HERE RIGHT???
दाई: Arabab, we don’t have their no….
पुलिस: THEY ARE YOUR FRIENDS, YOU CAME TOGETHER AND YOU DON’T HAVE THEIR NO….. HMMMM….
दाई: (सकी नसकी, सम्झि सम्झि, अरबीमा केहि भन्दै हुन्छ… जुन प्रथम पात्र र द्धि्त्तिय पात्रले केहि बुझ्न सेकेनन्………. )
पुलीस: YALLAAA, COME WITH ME……

सबै पात्रहरुको मुख झन् निलो कालो हुदै जान्छ। पुलिसले ति पात्रहरुलाई काहा लिएर जादै छ केहि थाहा हुदैन.. र एक आपसमा बोल्न सक्ने स्थिती पनि हुदैन….।

एकै छिन् हिडे पछी, पुलीसले पात्रहरुलाई एक्जिट गेट तर्फ लिएर जान्छ….. र पात्रहरु अलिकती ढुक्क भएका जस्ता देखिन्छन्….

सिन ७:
समय: रात १०:५ बजे।
एक्जिट गेटमा…..
पुलिस: IF YOU TRY TO DO LIKE THIS NEXT TIME, YOU’LL GO TO THE POLICE POST….

सबैपात्रहरु ढुक्कको सास फेर्दै एकै स्वरमा: सुक्रान अर्बाब…….!!!!!!

पात्रहरु त्यहाबाट निकन्छन्, सबैको मुखमा मुस्कान छाउछ र आफ्नो बाटो तताउछन्……!!!!

सिन ८:
समय: रातको ११ बजे।
प्रथम पात्र आफ्नो रुममा आएर यो स्टोरी लेख्दै छ।

मोरल अफ द स्टोरी: …………………………………………………………………………………………………………
(पाढकबृन्द: सबैले आफ्नो आफ्नो मोरल अफ द स्टोरी प्रस्तुत गरिदिनुहुन आग्रह गरिन्छ)

PS: ग्लोबल भिलेज; युएई स्थित दुबाई ईमिरेटस् मा बर्षिकरुपमा हुने एउटा एक्जिबिसन हो.. जहा बिश्बका ५० भन्दा बढी राष्ट्रहरुले, आफ्नो आफ्नो राष्ट्रको मौलीकता झल्कने गरी भाग लिने गर्दछन।

[old blog post, copied from blogspot]

 
Leave a comment

Posted by on June 11, 2011 in Humor

 

रुबिक क्युबको टन्टो

अस्ती बुरदुबाई तिर साथीसंग धुम्दै थिए, एउटा पसलमा ६ ओटा पाट भ’को डल्डो देखे.. फिल्ममा पात्रहरुले खेलाएको त देख्या थे, आफुले कहिले छोएको पनि थिईन.. त्यस्को बिग्रेको कलर मिलाउने हो भन्ने चाही थाहा थियो। “कती पर्छ??” भनेर सोधेको त २ दिराम मात्र पर्ने रहेछ, साथीलाई र मलाई एक एक ओटा लियौ। लिएर बाहिर मात्र के निस्केका थियौ, साथैको पसलको धोतीले चिन्नु न जान्नु खिस्स दात देखाउदै “मिलाके देखाओ, १०० दिरामका बाजी हुवा” पो भन्छ बा..। आफुलाई नआउने भए पछी किन बढी बोल्नु भनेर चुपो लागेर हिडियो तर त्यस्को बचन चाही चुस्स लाग्या जस्तो भो, बाटोमै प्लास्टीको खोलेर, साथी र म बाटोमै बटारदै हिड्न थाल्यौ। यो डल्लो को खास नाम थाहा थिएन आफुलाई, साथी पनि त्यस्तै परेछ, मलाई चाही “पजल क्युब” भन्छन जस्तो लाग्या थ्यो.. साथीको रुममा पुगे पछी गुगललाई सोधेको त “रुबिक क्युब” पो भन्दो रहेछ..!!!

त्यै दिन नजानी-नजानीकन साथीले त एउटा पाटो मिलाई राखेको थियो, आफुले मरी गए सकेको थिईन। फर्कने बेलामा मेट्रोमा पनि खुब ट्राई गरे, ४५ मिनेट मेट्रोमा कुदेको पत्तो पाईन। त्यो दिन रुममा आए पछी टेबलमा राखेको, त्यस पछी छोएको पनी थिईन। त्यै दिन टि्वटरमा चाहि “कसैले रुबिक क्युब सल्भ गर्न सक्छ??” भनेर टि्वटेको थिए.. आज बिहान उठ्ने बित्तीकै टि्वटर हेरेको त @eracube ब्रो ले “wanna solve rubik’s cube … i can assist u .. come to #skype :) ” भनेर मेन्सन गरी राखेको रहेछ.. त्यस पछी त मेरो बसेको भुत फेरी जागी हाल्यो नि.. @eracube ब्रोले स्काईप बाट कम्ती सिकाएको त हैन, के गर्नु आफ्नो दिमागमा घुसे पो त.. :) धेरै धेरै धन्यबाद है @eracube ब्रो….। बिहान ११ बजे देखी दिउसो ३ बजे सम्म त्यही बटार्दै बसे, मलाई गर्न नआए पनी गर्नु पर्ने के हो भन्ने लजिक चाही @eracube ब्रो ले भने पछी बुझेको थिए।

पछी अफिष जाने बेलामा पनी गाडीमा पनी खेल्दै थिए, म संगै बसेको फिलीपोनो केटाले खुब ईन्ट्रेस्ट देखायो, बज्जियालाई दिएको त ३-४ मिनेटमै सबै पाटा मिलाई दियो बा.. :O !!!! अफिषबाट फर्कने बेलामा पनि त्यही केटो मेरै छेउमा पर्यो, सोधे बज्जियालाई ल भन कसरी बनाउने यो भनेर.. थर्ड लेयरमा गएर हुन सक्ने पोसिबिलिटी एउटा “माछा आकार” बन्दो रहेछ, त्यस्को लजिक चाही सिकायो..
१. माथी पट्टी भएको कलर र मुख तिर, अर्को कुनामा भएको कलरलाई आफु तिर फेस गर्ने।
२. त्यही कलर भएको साईडको तल पट्टीको कलरलाई माथि ल्याउने।
३. त्यो कलर दाया छ भने, माथी पट्टीको लेयरलाई एक दाया धुमाउने। बाया छ भने बाया धुमाउने।
४. सुरुमा १ नंम्वर वाला भएको अर्को साईडको कलरलाई आफु तिर फेस गर्ने।
५. ३ नंम्वर मा धुमाएकोलाई आफुतिर फेस गर्ने र पहिलेकै ठाउमा (तल पट्टी) लैजाने।
६. ४ नंम्वर वालालाई पहिलेकै ठाउमा (तल पट्टी) लैजाने।
यती गरे पछी बाकि रहेको एउटा फेस पनि सिद्दीन्छ। यो चाही फाईनल स्टपेको वन अफ द पोसिबल स्टेप हो र .. त्यस्ले भने अनुसार, एउटा “माछा आकार” हुन्छ रे, अर्को “अंग्रेजिको 9″ जस्तो हुन्छ रे, अनी अर्को चाहि “अंग्रेजिको T” जस्तो हुन्छ रे.. यत्ति हो!!!!!

साच्चै यो फाईनल स्टेप वाला चाहि आफुले संम्झनको लागी लेखेको हु है, पढ्दा पढ्दै रिस उठ्या भे, सरी.. :P

[old blog post, copied from blogspot]

 
1 Comment

Posted by on June 11, 2011 in Article, Humor

 

घर काँ?? “काठमान्डु”!!!!

अरबआँ गोडा तिनेक बर्षको दौरानमा धेरै नेपालीहरु भेटियो। कुनै पनि नेपालीलाई पहिलो चोटी भेट्दा एउटा कुरा त सोध्न मन लागी हाल्छ, सोध्दिन भन्दा पनि के हो के हो मुखबाट निस्की हाल्छ सायद तपाईहरुले पनी त्यही गर्नुहुन्छ होला। पहिला त “ए तपाई पनी नेपाली??” भनिन्छ… अनी त्यो प्रश्न “घर काँ नि????”

अहिले संम्म भेटेका मध्य ९५% को जवाफ “काठमान्डु” नै रहैको छ र बिस्तारै कुरा अघी बढ्दै जादा थाहा लाग्छ कि ति ९५% मध्ये ६०% भन्दा बढीको घर बास्तबिक “काठमान्डु” नभएर अन्त कतै हुने गर्छ।

धेरैको त बोलिको लबजले नै थाहा लाग्छ कि यो मान्छे “काठमान्डु”को हैन भनेर, आफुलाई त्यस्तो देखे पछी झन कोट्याई कोट्याई सोध्न मन लाग्छ।

अनी यस्ता जवाफहरु भेटीन्छन्:
“अँ, खास घर त पाल्पा हो, काठमान्डुमा एउटा घडेरी किन्या छु…”
“अँ, काठमान्डुमै हो, पाचखाल तिर……”
“अँ, खास घर त तराई तिर हो, तर बस्ने गर्ने काठमान्डुमै हो, अंकलको घर त्यही छ…..”
“अँ, खास घर त मोरङ हो, भाई काठमान्डुमा डेरा लिएर बस्छ…”
र यस्तै यस्तै……..!!!!

ए बाबै, म त छक्क पर्छु भन्या, मान्छेलाई घर “काठमान्डु” भन्न कत्रो शौख हो भन्या।

यो कुरा पहिला देखीनै मनमा लागी’राथ्यो, आज भ्यान भ्यानै एउटा ईन्डियनले प्वाक्क सोधिहाल्यो…
“नेपाल मे दुस्री जग्हा कोही नही हे क्या??”
मैले “किन” भनेर सोध्या त “जो भी नेपाली से, नेपाल मे घर किधर है पुछे तो, काठमान्डु से और कोही जाग्हा बोल्ता ही नही…”

म नेपालीलाई त आफ्नै नेपालीले यसरी धाक दिन्छन्, बिचरा त्यो त ईन्डियन, धन्न अहिले संम्म कसैले सिंहदरबार, राजदरबार मेरै हो भन्या रैनछन…..

लौ न साथीहरु यस्तो कुरा मैले मात्र भोग्नु पर्या हो कि तपाईले पनी भोग्नु भा’छ???

[old blog post, copied from blogspot]

 
1 Comment

Posted by on June 11, 2011 in Article, Humor

 

भदौ १४ – मेरो भबिष्यबाणी~~

अझै पनी ह्वा गाम तिर मिठे ज्योतिशीको भाईको छोरो भनेसी जस्लने नि चिन्छन्, हिङ नभएन हिङ् बाधेको टालो त हुँ नि, ल म पनी भबिष्यबाणी गर्दिम है त।

नालाएकहरुले जसो तसो ३ महिनाका लागी म्याद थपेछन त्यो पनी नयाँ सरकार बनाउने सर्तमा। पहिलो कुरा ठोकुवा गरेर भन्छु- यो म्याद संबिधान बनाउने म्याद हुदै होईन। हदै सम्म गरेछन भने, भदौ १४ सम्ममा नयाँ सरकारले पुर्णता पाउने छ। अनी हामीले बल्ल सरकारमा पुर्णता पायौ, अब संबिधान लेख्छौ भनेर फेरी अर्को उनिहरुको ईक्षा अनुसारको समय थप्नेछन्।

३ महिनाको ब्रेक डाउन पनी दिई हालौ है त -

  • १ महिना झल्लुले राजीनामा दिन लाई।
  • १ महिना को प्र.म. बन्ने भनेर छान्न लाई।
  • अनी बाकी रहेको एक महिना चाही प्र.म. छानेर प्रमुख मन्त्रालयको बाडफाड लाई।
  • भदौ १४ गते अन्तिम दिन चाही, दिउसो छोटा मोटा बाकी रहेका मन्त्रालयको भाग बन्डाम मिलाउने र राती १२ बजे ल अब समय संबिधान लेख्नका लागी हो भनेर समय थप्ने।

नोट: पुरा समचार पढेको छैन, टि्वट्मा साथीहरुले ३ महिना म्याद थप भो भनेको हिसाबले यो ब्लग लेख्न मन लागेको हो। मेरो कुरा छेउ न टुप्पोको लागेको भए माफ पाउ। :)

[old blog post, copied from blogspot]

 
Leave a comment

Posted by on June 11, 2011 in Article, Humor

 
 
Follow

Get every new post delivered to your Inbox.

Join 842 other followers