RSS

Category Archives: Random

फेसबुक प्यारेन्टिङ Vs. गिट्टी कुट्ने बालक

बिहान उठेर यसो टि्वटरमा हेर्दै थिए, @AnandNepal को एउटा टि्वट्मा आँखा पर्यो, हेर्दा ईन्ट्रेस्टीङ देखिएकाले त्यो टि्वट हेरेँ र टि्वट भित्रको @youtube लिङ्क खोलेँ। ८ मिनेट २३ सेकेन्डको उक्त भिडियो विशेष गरी “Facebook Parenting” को बारेमा रहेछ। “फेसबुक प्यारेन्टिङ्” के हो भन्ने बारे मेरो सिधा बुझाई के छ भने “बाउ आमाले आफ्नो छोरा छोरीले फेसबुकमा के कस्ता कृयाकलापहरू गरी रहेछ छन्, त्यसको निगरानी गर्नु हो”। मेरो विचारमा अहिलेको सोसल मिडिया एजका अभिभावकहरूको लागी यो एउटा नयाँ महत्वपूर्ण जिम्मेवारी पनि हो।

कुरा के भएछ भने, एक १५ बर्षे केटीले आफ्नो बाउ आमाले हरेक दिन उसलाई गर्ने कर कर बाट आक्रोशित भएर फेसबुकको वालमा एउटा नोट लेखेकी रहिछ। उसको आक्रोश अरू केही कुरामा नभएर बाउ आमाले उसको कोठा सफा गर्ने, बिस्तरा मिलाउने, आफूले खाएको भाँडा माझ्ने, आफ्नो कपडा धुने यस्तै यस्तै कुरामा गरिएका आदेशहरू प्रति रहेछ। उसको बाउले छोरीको फेसबुकमा त्यो नोट देखे पछि रिसले आक्रोशित भएर छोरीको ल्यापटप एउटा चौरमा लगेर गोली हानेर फुटाएको रहेछ।

भिडियोमा खासै केही छैन, उसको बाउले छोरीको नोट पढेर सुनाउँछ, आफ्नो प्रतिक्रियाहरू दिन्छ र अन्त्यमा छोरीको ल्यापटपमा गोली हान्छ तर सामाजिक सञ्जाल मार्फत त्यो भिडियोका लागी आएको प्रतिक्रियाहरूले भने मलाई यो ब्लग लेख्न बाध्य बनायो। सामाजिक सञ्जालहरूमा यो भिडियो आगोझैँ फैलिरहेको छ। उसको बाउले छोरीले फेसवुकमा आक्रोश पोखी भनेर ल्यापटप फुटाउनु हुन्थ्यो या हुन्थे न, फुटाए कै भए पनि @youtube मा राख्नु जरुरी थियो या थिएन, त्यो बेग्लै चर्चाको विषय हो र सोसल मिडियाका गुरूहरूको लागी यो एउटा विशेष चासोको विषय बनिरहेको छ; यस बारेमा म यहाँ केही लेख्ने वाला छैन। फेब्रबरी ८, २०१२ मा @youtube मा राखिएको उक्त भिडियो आजको मितिसम्म अर्थात् तीन दिन भित्रमा ६६ लाख भन्दा बाढीले हेरी सकेका छन् भने ८३ हजार भन्दा बढि ले यसको बारेमा कमेन्ट दिइसकेका छन्। यो चर्चा पछि त्यहाँको पुलिसले उसलाई समातेर जेल हालेको छ भने उ जेल बाट निस्कन को लागी अनलाइन मार्फत डोनेसन मागी रहेको छ अनि मानिसहरू उसलाई डोनेसन दिइरहेका छन्। अर्को तर्फ उसको छोरीलाई सान्त्वना दिनका लागी एउटा कफी सपले उसको छोरीलाई जागीरको अफर दिई सेकेको छ।

यो सबै कुराहरू पढी रहँदा अनि हेरी रहँदा मेरो दिमागमा भने, खोलाको तीरमा गिट्टी कुटिरहेका, फोहोरको थुप्रो बाट प्लाष्टिक उठाइरहेका अनि रेष्टुरेण्टमा भाडा माझी रहेका बच्चाहरू घुमिरहेका छन्। हुन त यी सबै आदर्शका कुराहरू हुन्। न मैले उनीहरूको बारेमा केही गरेको नै छु न त केही गर्ने योजना नै बनाएको छु। मात्र सोचिरहेको छु “के मानिसका न्यूनतम् आवश्यकताहरू आधुनिकता संगै परिवर्तन हुँदै गएका हुन् त ???”

 
1 Comment

Posted by on February 11, 2012 in Article, Random

 

Tags: ,

मेरो बाल्यकाल र टिभी

धेरै दिन भएको थियो ब्लग नलेखेको, हिजो टि्वटरमा साथीहरू #ChildhoodMovie भन्ने ट्रेन्डिङ् टपिकमा कुरा गरिरहेका रहेछन्, मलाई भने मेरो बाल्यकाल अनि त्यो बक्सा भित्रको टीभी याद आयो। त्यसैले त्यो मीठो सम्झनालाई ब्लगमा उतार्न मन लाग्यो।

हाम्रो गाउँमा ४८ सालमा बिजुली आएको थियो। तर टीभीको बारेमा भने घरमा बिजुली आउनु भन्दा पहिला नै प्रशस्त सुनेको थिए। किन की बा ४७ सालमा युनाईटेड नेसन पिस मिसन अन्तर्गत लेबनान जानु भएको थियो। त्यही लेबनानबाट फर्कने बेलामा सामसुङ् को १४” कलर टीभी लिएर आउनु भएको थियो रे। तर हाम्रो घरमा बिजुली नआईपुगेकोले बा को एक जना सिनियरले “तेरो घरमा बिजुली नआउन्जेल म चलाउछु” भनेर, टीभी काठमाण्डौमै राखिदिएछ र बा ले पनि नाई भन्न सक्नु भएन छ (आखिर उ बेलाको आर्मीको चेन-अफ-कमाण्ड जो पर्यो :( )। ४८ सालमा घरमा बिजुली आयो, बा २-३ चोटि त्यही टीभी लिने भनेर काठमाण्डौ जानु भयो तर त्यो मान्छेले टीभी दिन मानेन छ। बा प्रत्येक चोटि निरास हुँदै फर्कनु हुन्थ्यो अनि हाम्रो आफ्नै बिस्तरामा सुत्दै टीभी हेर्ने सपना चकनाचुर हुन्थ्यो। आफ्नो टीभी भएर पनि घरमा ल्याउन नपाएकोमा सायद बा पनि यो विषयमा निकै निरास हुनु हुन्थ्यो होला त्यसैले त प्रत्येक चोटि बजार तिर जाँदा आफूले ल्याएको टीभीको अहिले कति पर्दो रहेछ भनेर टीभी पसलहरूमा मूल्य बुझ्न जानु हुन्थ्यो। एक चोटि बा ले मलाई पनि लिएर जानु भएको थियो। बा ले “हाम्रो टीभी उ त्यस्तै हो” भनेर देखाउँदा मलाई हाम्रो टीभी राख्ने देखी साह्रै रिस उठेको थियो। उ बेलामा त्यो टीभीको मूल्य रु. ५४,०००।– भन्ने सुन्दा म झस्केको थिए।

बिजुली आउने बित्तिकै गाउँमै पहिलो पटक “ब्रिटिस लाहुरे” लेख बहादुर गुरुङ ठुलाबाले ब्ल्याक एण्ड ह्वाईट टीभी ल्याएका थिए। उनको घर सिनेमा हल जस्तै हुन्थ्यो। सुरू सुरुका दिनमा त उनले टीभीलाई आँगन तिर फर्काएर पिँढीमा राखेर थिए। महाभारत आउने बेलामा त उनको आँगनमा पनि खुट्टा राख्ने ठाउँ हुँदैन थियो। सजिलो गरी बसेर हेर्नेका लागी एक घन्टा अघि नै उनका आँगनमा पुग्नु पर्थ्यो। पछि भने आँटी मा लागेर राखे। टीभी हेरी रहेका बेलामा हावाले एन्टेना हल्लाउँदा जब टीभीमा ईमेज बिग्रिएर आउँथ्यो (कहिले झ्यार्रर्रर्रर्रर्र त कहिले बाङ्गो टेढो), सबैको अनुहार त्यही टीभीमा देखिएको ईमेज जस्तै हुन्थ्यो। अनि लेख बहादुर ठुलाबाका जेठा छोरा कुमार दाई हत्-पत्त छानामा चढेर एन्टेना मिलाउन थाल्थे। उनि छाना बाट चिच्याउँथे, “कस्तो आयो??” राम्रो आयो भने तलबाट सबैले एउटै स्वरमा भन्थे आयो आयो आयो सफा आयो। जब एक छिन सम्म सफा आउन थाल्थ्यो सबैको अनुहार हँसिलो हुन्थ्यो। तर कहिले कहीँ त ती गुर्सिनी ठुलिआँ ले साह्रै नमिठो बचन लाउँथिन्, बच्चै भए पनि नराम्रो लाग्थ्यो। मन-मनै सोच्थे “हाम्रो पनि तिम्रो भन्दा राम्रो टिभी छ, अर्काले राखिदिएर पो त”।

घरमा टीभी र रेडियो प्रति बढी मोह मेरो नै थियो तर यसरी अर्काको घरमा राता-रात टीभी हेर्न गएको बा आमालाई पटक्कै मन पर्दैन थियो। “आफ्नो कलर टीभी अर्का मोज गरेको छ, छोरा छोरी टीभी हेर्नेलाई राता-रात अर्काको घरमा जान्छन्” आमाले बा संग कर कर गरी रहनु हुन्थ्यो। मेरो टीभी रेडियो प्रतिको मोहलाई बुझेर होला बा ले मलाई एउटा एक “काने रेडियो” बनाइदिनु भएको थियो। (अफिसमा बिग्रेका टेलिफोनको रिसिभरलाई खै के गरेर हो कुन्नि रेडियो बनाउनु हुन्थ्यो। :D ) एक जनाले एउटा कानमा मात्र सुन्न मिल्ने हुँदा दिदीले त खासै दाबी गर्नु हुन्थे न तर बहिनी सँग भने दिन दिनै जस्तो झगडा पर्थ्यो :D

बा विजयपुर ब्यारेकमा हुनुहुन्थ्यो, घरबाट बढि मा दुई घण्टामा पुग्न सकिन्थ्यो। कहिले कही स्कुलमा लामो छुट्टी भएका बेला भने म प्रायः: उतै ब्यारेकमा गएर बा सँग बस्ने गर्थे। त्यहाँ पुगे पछि मेरो काम भनेको नुहाई धुवाई गरेर चिटिक्क परेर “जे.सि.यो मेस”को मनोरञ्जन हलमा बसेर टीभी हर्नु नै हुन्थ्यो। त्यहाँ त नेपाली टीभी मात्र कहाँ हो र, हिन्दी र इङ्ग्लिस च्यानल पनि आउँथ्यो। नेपाल टीभी बाट साँझ ८ बजे आउने समाचार पछि भने त्यहाँ प्रायः इङ्ग्लिस फिल्म च्यानल चल्ने गर्थ्यो। राम राम राम राम….. त्यो फिल्म आउने सिनले गर्दा बा’को छेउमा बसेर टीभी हेर्दा मेरो अनुहार भने रातो भएर आउँथ्यो।

खैर, यस्तै यस्तै मा ५० सालमा बा ले हाम्रो त्यो कलर टीभीको माया मारेर एउटा ब्ल्याक एण्ड ह्वाईट टीभी किनेर ल्याउनु भयो। त्यो टीभीलाई पूजा पाठ गरेर टीभीको बक्सा खोलियो। :) अनि एन्टेना मिलाउन थालियो। छानाको विभिन्न स्थानमा एन्टेना राख्दा पनि टीभीको सिङ्नल भेटाउन साह्रै गाह्रो भएको थियो उ बेला। फाईन्ल्ली टीभीको सिङ्गन भेटियो अनि गाउँको दोस्रो टीभी हाम्रो घरमा चल्न थाल्यो। अब भने हाम्रो घर पनि सिनेमा हल जस्तै हुन थाल्यो। अनि आफ्नो बिस्तरामा सुन्दै टीभी हेर्ने सपना पुरा भएको थियो। तर मन मा कता कता कलर टीभी भने अड्की रहेको हुन्थ्यो। टीभीमा “श्रीमान गम्भीर नेपाली…… “ आएर टीभी झ्यार्रर्रर्रर्रर्रर्र नगरुन्जले सम्म टीभी बन्द हुन्थे न। :)

सुरुको एक वर्ष जति त टीभी लगातार चल्यो तर हाम्रो पढाइ भने बिग्रँदै गयो। ५ बाट ६ मा जाँदा गा.बि.स टपेको मैले.. :P ६ बाट ७ मा जाँदा पाँचौ स्थानमा आए :) त्यस पछि भने टीभी फेरी बक्सामै गयो। बा शुक्रवार साँझ आउनु हुन्थ्यो अनि आइतबार बिहान जानु हुन्थ्यो। सोही अनुरूप टीभीको बक्सा पनि शुक्रवार साँझ खुल्थ्यो अनि आइतबार बिहान बन्द हुन्थ्यो। तर बीच बीचमा कहिले कही दिदी बहिनी र म मिलेर आमालाई काम, पढाइ सबैमा मनाएर, बा लाई नभन्दिने सर्तमा बक्सा खोलिन्थ्यो। दुईचार चोटि बा ले थाहा पाएर राम्रै धुलाइ खाइएको पनि थियो। :)

यस्तो क्रम दुई वर्ष जति चल्यो। ५४ साल तिर बा अफिसको कामले काठमाण्डौं जानु भएको थियो, फर्केर आउँदा त…. ए होईsssssssss!!!!!!!! हाम्रो कलर टीभी पनि ल्याउनु भएछ। अर्काले ६ वर्ष मोज गरेको टीभी भए पनि घरमा भने पूजा पाठ गरेर नै बक्सा खोलेका थियौँ। :)

त्यति बेला सम्म गाउँमा अरू घरमा पनि टीभी आई सेकेको थियो। टीभीको क्रेज बिस्तारै हराउँदै गएको थियो। हामी पनि टीभीलाई भन्दा पढाइलाई ध्यान दिन पर्छ भन्ने बुझी सकेका थियौँ। त्यस पछि बा पनि काठमाण्डौं सरुवा हुनु भयो अनि टीभी पनि बाहिर टेबलमा बस्न थाल्यो। म पनि टीभीका सीमित कार्यक्रममा सीमित हुन थाले। गितान्जली, ब्रजेस खनालको अचम्मको पोको, नारायण त्रिपाठीको ट्वाक्क टुक्क, अनि बिहान ७:३० देखी ९ बजे सम्म आउने ईमेज च्यानल (त्यसमा पनि आलोक नेम्बाङ्को पप गितको कार्यक्रम) अनि शनिबार दुई बजे आउने फिल्म मेरा प्रिय कार्यक्रमहरू थिए।

पछि ५५-५६ साल तिर आएर बिहान नौ बजे सम्म (???) मात्र सीमित रहेको नेपाल टेलिभिजन निर शाहको “साङ्ग्रीला टिभी”ले गर्दा दिन भरी चल्ने भएको थियो। यस्तै यस्तै मा मेरो स्कुले जीवन पनि सकियो। काठमाडौंको खाल्डो छिरे सँग सँगै मेरो टीभी प्रतिको प्रेम पनि धमिलिँदै गयो।

समय बित्तै गयो, तन्नेरी भइयो, पारिवारिक जिम्मेवारी आउन थाल्यो। कुनै बेला मनोरन्जनका लागी सबै भन्दा पहिलो प्राथमिकता हुने गरेको टीभी अहिले आएर सबै भन्दा अन्तिम प्राथमिकतामा परेको छ।

 
2 Comments

Posted by on January 13, 2012 in Humor, Random

 

Tags: , , , ,

घर बाहिरको दोस्रो दशैँ

डाँडाको चौतारीबाट देखिने दृष्य

घर छोडेर बाहिर बस्न थालेको ११ वर्ष पुरा भई सक्यो तर यस पाली दोस्रो पटक दशैँ घर बाहिर बित्दै छ। अस्ति सम्म त खासै दशैँ आएको जस्तो लागेको अनुभव भएको थिएन कारण खासै अनलाइन बस्ने फुर्सद थिएन तर हिजो र आज विदाको दिन परेका ले प्रायः: दिन भरी नै अनलाइन बसिरहेको छु र नेपालीहरू बीच सामाजिक सञ्जाल फेसबुक र टि्वटर अहिले दशैँमय भएका छन्। दशैँ मनाउन घर जाने गाउँका दाजुभाइहरू “ल म घर जान लागे” भन्दै फोन गरीरहेका छन्।  बिशेषगरी यिनै कारणहरू हुन जसले गर्दा आज दशैँ, गाउँ- घर अनी साथीभाईको साह्रै संम्झना आईरहेको छ।

व्यक्तिगत रूपमा मलाई दशैँमा गरिने टीका, जमरा, दुर्गा पूजा, पिङ्गहरूले भन्दा पनि वर्षौ देखी नभेटिएका गाउँका साथीभाई अनि आफन्तहरू सँग को भेटघाट र त्यहाँको वातावरणले नै धेरै महत्व राख्छ। र अर्को अर्थमा भन्ने हो भने हामी गाउँका मानिसहरूका लागी यही एउटा समय हो जुन वर्ष भरको कोलाहल अनि व्यस्त जीवनबाट केही पर अनि केही फरक जीवन जिउन पाउने केही दिनहरू। हुन त आफ्नो गाउँ कुनै पनि बेला जान सकिन्छ तर अरू बेला सबै जना आँ-आफ्नो काममा व्यस्त रहने हुँदा यो बेला गाउँ जाँदा जुन किसिमको आनन्द मिल्छ त्यो अरू बेला कदापि मिल्न सक्दैन।

बारीको कान्लामा फलेको सिमी

दशैँ कै प्रसङ्गमा मलाई गाउँ घर अनि शहर तुलना गर्न मन लाग्यो। अष्‍टमीको दिन देखी शहर बिस्तारै गाउँका पाखा पाखाहरूमा पोखिन थाल्छ। शहरका रेष्टुरेण्टहरूमा गएर म:म:, चाउमिन अनि छोयलामा रमाउनेहरू मनहरू एक्कासि गाउँका कान्ला कान्ला चहार्दै त्यहाँ फलेका काँक्रो, अम्बा, सिमी अनि बोडीमा रमाउने गर्छन्। यता शहर रित्तिँदै जान्छ अनि उता गाउँ भने शहर, अरब, अनि अन्य विकसित मुलुक मिश्रित एक भिन्न खालको फ्युजन बन्न जान्छ। त्यो फ्युजनको अनुभव जसले गर्नु भएको छ, त्यो वातावरण सम्झँदा नै मन रोमाञ्चित भएर आउँछ, जसलाई अनुभव छैन त्यो कुरा म शब्दमा व्यक्त गर्न असमर्थ छु। एक चोटि कारणबस एकादशीको दिन मै काठमाण्डौं फर्कन परेको थियो। मलाई याद छ त्यो एकादशी देखी पूर्णिमा सम्म का हरेक दिन मलाई एक वर्ष जस्तो लागेको थियो। मैले त्यही बेलामा अनुभव गरेको थिए, काठमाण्डौं बाहिरका, विशेष गरी गाउँका मानिसहरूलाई काठमाण्डौं दशैँको समयमा एक मसानघाट सरह हुने रहेछ।

ठुलोखोला (बर्खायाममा चाही साच्चीनै ठुलो हुन्छ) :)

खैर, विदेशको जीवन, आज विदाको दिन हो तर पनि अफिसको कामले मन पोलेर आज सबेरै उठेर अफिसकै काम गर्दै थिए तर अचानक मनले बारीका कान्लामा फलेका बोडी टिप्दै खान थाल्यो, डाँडाको चौतारीको छपनीमा सन्द्र्याम् जिउ फालेर सुत्न थाल्यो, ठुलोखोलाको झरनामा गएर टाउको थाप्यो अनि बन तिर डुल्दै पानी-अमला खोस्रँदै, पाइन्टमा पुछ्ँदै खान थाल्यो र त्यो भाव हरू यहाँ पोखे।

घर बाहिर भए पनि आफ्नै किसिमले यो चाड त मनाउने नै छु तर यता जतिनै रमाइलो गरेर मनाए ता पनि मन भने गाउँ, त्यहाँको वातावरण अनि त्यहाँ पाइने आनन्दमा नै डुबी रहने छ, डुली रहने छ।

 
3 Comments

Posted by on October 1, 2011 in Article, Random

 

Tags: , , ,

व्यस्त जिन्दगीको बिचबाट

हुन त सबैलाई आफ्नै जिम्मेवारी, आफ्नो काम नै ठूलो लाग्छ, आफू नै धेरै व्यस्त भएको जस्तो लाग्छ तर विगत एक डेड महिना देखी म सोच्दै छु र भोग्दै छु, कस्तो व्यस्ततालाई “धेरै व्यस्त” भन्ने? (how much is too much?) ८ बर्षे पेशागत जीवनमा यस्ता व्यस्तता तथा कठिन दिन हरू नआएका पनि होइनन् तर खै किन हो कुन्नि यस पालीको चाही आफैंलाई भिन्न किसिमको लागेको छ। जे जस्तो भए पनि आफूले गर्ने सक्ने गर्ने त हो नि, म पनि त्यही गर्दै छु। मैले यो काम गरेर अथवा नगरेर कसैले मलाई केही भन्ला भन्दा पनि मैले आफूले सक्दो गर्ने हो र त्यस्तै गरेको छु बाँकी भगवान भरोसा :)

खासमा धेरै कुरा लेख्न पनि मन छैन। यो पनि मन नलागी नलागी लेख्दै छु। दिमाग फ्रि नभए पछि कहि गर्ने जाँगर चल्दो रहेनछ। त्यसैले पनि धेरै दिन भयो ब्लग अपडेट गरेको थिइन। धेरै दिन सम्म अपडेट गरिन भने फेरी पछि फुर्सदको समयमा पनि लेख्न जाँगर नचल्न सक्छ भन्ने लाग्यो त्यसैले यसलाई निरन्तरता दिनलाई भए पनि यो पोष्ट लेखेको हुँ।

यति लेखिसके पछि माथि देखी सरसर्ती पढेको त लेख त छेउ न टुप्पोको पो भएछ :) ह्याsss.. जस्तो सुकै होस्, लौ जा पोष्ट गर्दिए…..!!!!

 
Leave a comment

Posted by on August 20, 2011 in Random

 

Tags: , , , ,

 
Follow

Get every new post delivered to your Inbox.

Join 842 other followers