RSS

Tag Archives: Nepal

मेरो बाल्यकाल र टिभी

धेरै दिन भएको थियो ब्लग नलेखेको, हिजो टि्वटरमा साथीहरू #ChildhoodMovie भन्ने ट्रेन्डिङ् टपिकमा कुरा गरिरहेका रहेछन्, मलाई भने मेरो बाल्यकाल अनि त्यो बक्सा भित्रको टीभी याद आयो। त्यसैले त्यो मीठो सम्झनालाई ब्लगमा उतार्न मन लाग्यो।

हाम्रो गाउँमा ४८ सालमा बिजुली आएको थियो। तर टीभीको बारेमा भने घरमा बिजुली आउनु भन्दा पहिला नै प्रशस्त सुनेको थिए। किन की बा ४७ सालमा युनाईटेड नेसन पिस मिसन अन्तर्गत लेबनान जानु भएको थियो। त्यही लेबनानबाट फर्कने बेलामा सामसुङ् को १४” कलर टीभी लिएर आउनु भएको थियो रे। तर हाम्रो घरमा बिजुली नआईपुगेकोले बा को एक जना सिनियरले “तेरो घरमा बिजुली नआउन्जेल म चलाउछु” भनेर, टीभी काठमाण्डौमै राखिदिएछ र बा ले पनि नाई भन्न सक्नु भएन छ (आखिर उ बेलाको आर्मीको चेन-अफ-कमाण्ड जो पर्यो :( )। ४८ सालमा घरमा बिजुली आयो, बा २-३ चोटि त्यही टीभी लिने भनेर काठमाण्डौ जानु भयो तर त्यो मान्छेले टीभी दिन मानेन छ। बा प्रत्येक चोटि निरास हुँदै फर्कनु हुन्थ्यो अनि हाम्रो आफ्नै बिस्तरामा सुत्दै टीभी हेर्ने सपना चकनाचुर हुन्थ्यो। आफ्नो टीभी भएर पनि घरमा ल्याउन नपाएकोमा सायद बा पनि यो विषयमा निकै निरास हुनु हुन्थ्यो होला त्यसैले त प्रत्येक चोटि बजार तिर जाँदा आफूले ल्याएको टीभीको अहिले कति पर्दो रहेछ भनेर टीभी पसलहरूमा मूल्य बुझ्न जानु हुन्थ्यो। एक चोटि बा ले मलाई पनि लिएर जानु भएको थियो। बा ले “हाम्रो टीभी उ त्यस्तै हो” भनेर देखाउँदा मलाई हाम्रो टीभी राख्ने देखी साह्रै रिस उठेको थियो। उ बेलामा त्यो टीभीको मूल्य रु. ५४,०००।– भन्ने सुन्दा म झस्केको थिए।

बिजुली आउने बित्तिकै गाउँमै पहिलो पटक “ब्रिटिस लाहुरे” लेख बहादुर गुरुङ ठुलाबाले ब्ल्याक एण्ड ह्वाईट टीभी ल्याएका थिए। उनको घर सिनेमा हल जस्तै हुन्थ्यो। सुरू सुरुका दिनमा त उनले टीभीलाई आँगन तिर फर्काएर पिँढीमा राखेर थिए। महाभारत आउने बेलामा त उनको आँगनमा पनि खुट्टा राख्ने ठाउँ हुँदैन थियो। सजिलो गरी बसेर हेर्नेका लागी एक घन्टा अघि नै उनका आँगनमा पुग्नु पर्थ्यो। पछि भने आँटी मा लागेर राखे। टीभी हेरी रहेका बेलामा हावाले एन्टेना हल्लाउँदा जब टीभीमा ईमेज बिग्रिएर आउँथ्यो (कहिले झ्यार्रर्रर्रर्रर्र त कहिले बाङ्गो टेढो), सबैको अनुहार त्यही टीभीमा देखिएको ईमेज जस्तै हुन्थ्यो। अनि लेख बहादुर ठुलाबाका जेठा छोरा कुमार दाई हत्-पत्त छानामा चढेर एन्टेना मिलाउन थाल्थे। उनि छाना बाट चिच्याउँथे, “कस्तो आयो??” राम्रो आयो भने तलबाट सबैले एउटै स्वरमा भन्थे आयो आयो आयो सफा आयो। जब एक छिन सम्म सफा आउन थाल्थ्यो सबैको अनुहार हँसिलो हुन्थ्यो। तर कहिले कहीँ त ती गुर्सिनी ठुलिआँ ले साह्रै नमिठो बचन लाउँथिन्, बच्चै भए पनि नराम्रो लाग्थ्यो। मन-मनै सोच्थे “हाम्रो पनि तिम्रो भन्दा राम्रो टिभी छ, अर्काले राखिदिएर पो त”।

घरमा टीभी र रेडियो प्रति बढी मोह मेरो नै थियो तर यसरी अर्काको घरमा राता-रात टीभी हेर्न गएको बा आमालाई पटक्कै मन पर्दैन थियो। “आफ्नो कलर टीभी अर्का मोज गरेको छ, छोरा छोरी टीभी हेर्नेलाई राता-रात अर्काको घरमा जान्छन्” आमाले बा संग कर कर गरी रहनु हुन्थ्यो। मेरो टीभी रेडियो प्रतिको मोहलाई बुझेर होला बा ले मलाई एउटा एक “काने रेडियो” बनाइदिनु भएको थियो। (अफिसमा बिग्रेका टेलिफोनको रिसिभरलाई खै के गरेर हो कुन्नि रेडियो बनाउनु हुन्थ्यो। :D ) एक जनाले एउटा कानमा मात्र सुन्न मिल्ने हुँदा दिदीले त खासै दाबी गर्नु हुन्थे न तर बहिनी सँग भने दिन दिनै जस्तो झगडा पर्थ्यो :D

बा विजयपुर ब्यारेकमा हुनुहुन्थ्यो, घरबाट बढि मा दुई घण्टामा पुग्न सकिन्थ्यो। कहिले कही स्कुलमा लामो छुट्टी भएका बेला भने म प्रायः: उतै ब्यारेकमा गएर बा सँग बस्ने गर्थे। त्यहाँ पुगे पछि मेरो काम भनेको नुहाई धुवाई गरेर चिटिक्क परेर “जे.सि.यो मेस”को मनोरञ्जन हलमा बसेर टीभी हर्नु नै हुन्थ्यो। त्यहाँ त नेपाली टीभी मात्र कहाँ हो र, हिन्दी र इङ्ग्लिस च्यानल पनि आउँथ्यो। नेपाल टीभी बाट साँझ ८ बजे आउने समाचार पछि भने त्यहाँ प्रायः इङ्ग्लिस फिल्म च्यानल चल्ने गर्थ्यो। राम राम राम राम….. त्यो फिल्म आउने सिनले गर्दा बा’को छेउमा बसेर टीभी हेर्दा मेरो अनुहार भने रातो भएर आउँथ्यो।

खैर, यस्तै यस्तै मा ५० सालमा बा ले हाम्रो त्यो कलर टीभीको माया मारेर एउटा ब्ल्याक एण्ड ह्वाईट टीभी किनेर ल्याउनु भयो। त्यो टीभीलाई पूजा पाठ गरेर टीभीको बक्सा खोलियो। :) अनि एन्टेना मिलाउन थालियो। छानाको विभिन्न स्थानमा एन्टेना राख्दा पनि टीभीको सिङ्नल भेटाउन साह्रै गाह्रो भएको थियो उ बेला। फाईन्ल्ली टीभीको सिङ्गन भेटियो अनि गाउँको दोस्रो टीभी हाम्रो घरमा चल्न थाल्यो। अब भने हाम्रो घर पनि सिनेमा हल जस्तै हुन थाल्यो। अनि आफ्नो बिस्तरामा सुन्दै टीभी हेर्ने सपना पुरा भएको थियो। तर मन मा कता कता कलर टीभी भने अड्की रहेको हुन्थ्यो। टीभीमा “श्रीमान गम्भीर नेपाली…… “ आएर टीभी झ्यार्रर्रर्रर्रर्रर्र नगरुन्जले सम्म टीभी बन्द हुन्थे न। :)

सुरुको एक वर्ष जति त टीभी लगातार चल्यो तर हाम्रो पढाइ भने बिग्रँदै गयो। ५ बाट ६ मा जाँदा गा.बि.स टपेको मैले.. :P ६ बाट ७ मा जाँदा पाँचौ स्थानमा आए :) त्यस पछि भने टीभी फेरी बक्सामै गयो। बा शुक्रवार साँझ आउनु हुन्थ्यो अनि आइतबार बिहान जानु हुन्थ्यो। सोही अनुरूप टीभीको बक्सा पनि शुक्रवार साँझ खुल्थ्यो अनि आइतबार बिहान बन्द हुन्थ्यो। तर बीच बीचमा कहिले कही दिदी बहिनी र म मिलेर आमालाई काम, पढाइ सबैमा मनाएर, बा लाई नभन्दिने सर्तमा बक्सा खोलिन्थ्यो। दुईचार चोटि बा ले थाहा पाएर राम्रै धुलाइ खाइएको पनि थियो। :)

यस्तो क्रम दुई वर्ष जति चल्यो। ५४ साल तिर बा अफिसको कामले काठमाण्डौं जानु भएको थियो, फर्केर आउँदा त…. ए होईsssssssss!!!!!!!! हाम्रो कलर टीभी पनि ल्याउनु भएछ। अर्काले ६ वर्ष मोज गरेको टीभी भए पनि घरमा भने पूजा पाठ गरेर नै बक्सा खोलेका थियौँ। :)

त्यति बेला सम्म गाउँमा अरू घरमा पनि टीभी आई सेकेको थियो। टीभीको क्रेज बिस्तारै हराउँदै गएको थियो। हामी पनि टीभीलाई भन्दा पढाइलाई ध्यान दिन पर्छ भन्ने बुझी सकेका थियौँ। त्यस पछि बा पनि काठमाण्डौं सरुवा हुनु भयो अनि टीभी पनि बाहिर टेबलमा बस्न थाल्यो। म पनि टीभीका सीमित कार्यक्रममा सीमित हुन थाले। गितान्जली, ब्रजेस खनालको अचम्मको पोको, नारायण त्रिपाठीको ट्वाक्क टुक्क, अनि बिहान ७:३० देखी ९ बजे सम्म आउने ईमेज च्यानल (त्यसमा पनि आलोक नेम्बाङ्को पप गितको कार्यक्रम) अनि शनिबार दुई बजे आउने फिल्म मेरा प्रिय कार्यक्रमहरू थिए।

पछि ५५-५६ साल तिर आएर बिहान नौ बजे सम्म (???) मात्र सीमित रहेको नेपाल टेलिभिजन निर शाहको “साङ्ग्रीला टिभी”ले गर्दा दिन भरी चल्ने भएको थियो। यस्तै यस्तै मा मेरो स्कुले जीवन पनि सकियो। काठमाडौंको खाल्डो छिरे सँग सँगै मेरो टीभी प्रतिको प्रेम पनि धमिलिँदै गयो।

समय बित्तै गयो, तन्नेरी भइयो, पारिवारिक जिम्मेवारी आउन थाल्यो। कुनै बेला मनोरन्जनका लागी सबै भन्दा पहिलो प्राथमिकता हुने गरेको टीभी अहिले आएर सबै भन्दा अन्तिम प्राथमिकतामा परेको छ।

 
2 Comments

Posted by on January 13, 2012 in Humor, Random

 

Tags: , , , ,

मिठा सपनाहरूको कारोबार

यहाँ हरेक दिन हरेक खालका मान्छेहरू भेटिन्छन् चाहे हामी विश्वको कुनै पनि कुनामा किन नहोऊ। सबैका आ-आफ्ना उद्देश्य, स्वार्थ र महत्वकाङ्क्षाहरू छन्। आफ्ना उद्देश्यलाई कसरी सफल बनाउने भन्ने विषयमा कोही ले काम गरी रहेका होलान् भने, काम नगर्नेहरूले कम्तीमा सोचेका होलान्। समग्र मा भन्नु पर्दा प्रायः: हामी सबैको उद्देश्य भनेको पैसा कमाउने नै हो। कसैलाई आफ्नै पेसामा काम गरेर नाम साथ साथै पैसा कमाउन मन लाग्ला त कसैलाई जसरी भए पनि पैसा कमाउने त हो नि भन्ने लाग्ला। जसरी भए पनि पैसा कमाउने त हो नि भन्ने लाग्नेहरू मध्ये एउटा बर्ग छ जो मीठो बोलेर अरूलाई सपना देखाएर तिनै सपना माथि कारोबार गर्ने गर्छन्। यो कारोबार भित्र पनि दुई खालका मान्छेहरू छन्, एउटा सपना देखाउने अनि अर्को देख्ने। सपना देखाउनेले त मीठा मीठा कुरा गरेर सपना देखाइदिन्छ तर मलाई त्यो मान्छे देखी दया लागेर आउँछ जो सपना हो भन्ने थाहा नपाई कन अझै ठूला ठूला सपना देख्छ अनि अरूलाई पनि सपना देखाउन खोज्छ। हो म कुरा गर्दै छु “नेटवर्क बिजिनेसको”।

नेटवर्क बिजिनेसको रुपमा मैले सुनेको सबै भन्दा पहिलो बिजिनेस थियो “गोल्ड क्वेष्ट”। कहिल्यै मेरो घर नआउने एक जना इष्‍टमित्र अचानक मेरो घरमा आउनु भयो; मेरो बा लाई गोल्ड क्वेष्टको सदस्य बन्ने प्रस्ताव लिएर। मलाई अझै याद छ त्यो दिन उहाँले जुन आत्मियता देखाउनु भयो, जति मीठो बोल्नु भयो, जति ठूला ठूला सपनाका कुरा गर्नु भयो, त्यो उहाँले न त्यस भन्दा पहिला कहिले गर्नु भएको थियो न त्यस पछि। म त बच्चानै थिए तर बा ले भने त्यो प्रस्तावलाई ठाडै अस्विकार गरिदिनु भएको थियो।

मेरो काठमाण्डौं को बसाइमा पनि त्यस्ता धेरै मान्छेहरू भेटिए। जति पनि मलाई नेटवर्क बिजिनेसमा लाग भनेर आए ती सबै मैले  धेरै थोरै चिने-जानकै मान्छेनै थिए। उनी हरू अचानक एक दिन आउँछन्, मीठा मीठा कुरा गर्छन्, उमेरले आफू भन्दा जेठा र पहिला तँ तँ भन्ने गरेका भए भने पनि त्यो बेलामा उनीहरू “तिमी” “तपाई” “हजूर” जस्ता सम्वोधनहरू लगाउँछन्, ठूला ठूला सपना हरू देखाउँछन् र अझ भनौँ छोटो समयमै लखपति बन्ने कुरा गर्छन्। उनीहरू सबैमा समानता हुन्छ, कुरा गर्ने ढङ्ग, सपना देखाउने अनि भय देखाउने। जब मान्छेले छोटो समयमा धेरै कमाउने कुरा गर्छ तब मलाई कतै न कतै शङ्का लागेर आउँछ। सुरुका दिनमा त त्यही कारणले गर्दा पनि म कसैले देखाएका सपनाहरूका पछि लागिन। पछि बिस्तारै ती नेटवर्क बिजिनेस ठग रहेछन् भन्ने कुरा बाहिर आउन थाल्यो, त्यस पछि त झन् विश्वास गर्ने कुरानै भएन।

यस्तै यस्तै मा दुबई आइयो र यहाँ पनि त्यस्ता मान्छे भेटिन थाले। म चाही सबैलाई ठाडै नाई भन्ने गर्छु। कोही एक चोटि नाई भने पछि साइड लाग्छन् त कोही नाई भन्दा भन्दै पनि टाँसिन खोज्छन्। अस्ति भर्खर मात्र फेरी त्यस्तै भयो, जुन मलाई चाही साह्रै रोचक लाग्यो र यहा सेयर गर्दैछु।

मैले काम गर्ने होटलको एक जना नेपाली सेफ आएर निकै मीठो गरी हाल खबर सोध्यो अनि मेरो साँझको प्लान पनि। उस सँग मेरो खासै कुरा हुन्थेन, बाटोमा देख्यो भने हात उठाउने बाहेक :) मैले साँझमा कतै जान्न होला भन्ने बित्तिकै उसले मलाई एउटा प्रोग्राममा जाने निम्तो दियो। मैले प्रोग्राम के को विषयमा हो भन्दा उसले खास बताएन, उल्टो “अर्काको देशमा काम गरेर कति दिन बस्न सकिन्छ यार, केही बिजिनेस गर्न पर्यो” भनेर ठूला ठूला कुरा पो गर्न थाल्यो। अनि मैले सिधा “तपाई पनि नेटवर्क बिजिनेसमा फस्नु भो कि क्या हो??” भनेर सोध्दा मलाई नै भाषण दिन थाल्यो र साँझमा उसले भनेको प्रोग्राममा जाने कर गर्यो। सिधा नकार्दा पनि नमाने पछि मैले “मिल्यो भने म फोन गरौँला” भनेर त्यहाँ बाट निस्के।

साँझ ८ बजे फोन आयो र फोन को वार्तालाप यस्तो रह्यो

उ: सर कता हो?
म: भर्खर अफिष बाट थाकेर आएको छु यार घरमै छु (उसले भनेको प्रोग्राममा नजाने मनसायले साथ)
उ: म गाडी लिएर लिन आउला नि त हुन्न??
म: हैन यार मलाई साह्रै नै थकाई लागीरा’को छ यार, म आउदिन।
उ: ल तपाई तल झर्नोस् म २ मिनेटमा तल आउछु।
म: हेर्नोस् मलाई यो नेटवर्क बिजनेसमा ईन्ट्रस्ट छैन म आउदिन।
उ: ल यहा कुरा गर्नोस् न। एक जना ईन्डियन लबज भएको व्यक्तीले फोन लियो र कुरा गर्न थाल्यो।

He: Hello, my name is ….. (त्यसको नाम चाही बिर्षे)। your good name??
Me: Krishol
He: what do you do?
Me: I am an IT professional
He: Good, can we meet and have a cup of coffee?
Me: what is this all about?
He: we have a business plan and I would like to share our business plan with you and if you like it, you can be our stakeholder.
Me: let’s be straight, are you talking something about network business?
He: what do you mean by network business?
Me: you know it better, why are you asking me?
He: no.. I want to hear from you?
Me: well, where you make members or sell products and you’ll get reward for that accordingly.
He: btw we don’t sell product, but do you like making members?
Me: it’s not about whether I like it or not. Tell me why do you want to meet me?
He: I can’t disclose my business plan just like this. Do you like to grow your financial status?
Me: Yes, Of course, everyone does?
He: Then why not to meet once and have cup of coffee? I have a plan for you which will increase your financial status.
Me: Well, as far I know human truth, nobody cares about other benefits until and unless it’s beneficial for them. Seriously, I am not interested on Network business, please don’t insist me.
He: one more thing?
Me: tell me..
He: are you happy with your job?
Me: yes.. ofcourse…
He: are you happy with your income?
Me: yes.. ofcourse..
He: (with rude sound) Okay we’ll catch up after 2-3 years…
Me: Okay.. you save my number and call me after 2 years..
….and I hang up the call

यो कन्भरसेसनको सबै भन्दा ईन्ट्रेष्टिङ पार्ट भनेको मलाई उसले अन्त्य मा दिएको धम्की लाग्यो :)

तपाईहरूको यो बिजनेसको बारेमा के धारणा छ कुन्नी, मेरो कुरा नराम्रो लाग्यो भने तल केमेन्ट बक्समा मलाई संम्झाउन सक्नु हुनेछ.. :)

 
3 Comments

Posted by on December 10, 2011 in Article

 

Tags: ,

घर बाहिरको दोस्रो दशैँ

डाँडाको चौतारीबाट देखिने दृष्य

घर छोडेर बाहिर बस्न थालेको ११ वर्ष पुरा भई सक्यो तर यस पाली दोस्रो पटक दशैँ घर बाहिर बित्दै छ। अस्ति सम्म त खासै दशैँ आएको जस्तो लागेको अनुभव भएको थिएन कारण खासै अनलाइन बस्ने फुर्सद थिएन तर हिजो र आज विदाको दिन परेका ले प्रायः: दिन भरी नै अनलाइन बसिरहेको छु र नेपालीहरू बीच सामाजिक सञ्जाल फेसबुक र टि्वटर अहिले दशैँमय भएका छन्। दशैँ मनाउन घर जाने गाउँका दाजुभाइहरू “ल म घर जान लागे” भन्दै फोन गरीरहेका छन्।  बिशेषगरी यिनै कारणहरू हुन जसले गर्दा आज दशैँ, गाउँ- घर अनी साथीभाईको साह्रै संम्झना आईरहेको छ।

व्यक्तिगत रूपमा मलाई दशैँमा गरिने टीका, जमरा, दुर्गा पूजा, पिङ्गहरूले भन्दा पनि वर्षौ देखी नभेटिएका गाउँका साथीभाई अनि आफन्तहरू सँग को भेटघाट र त्यहाँको वातावरणले नै धेरै महत्व राख्छ। र अर्को अर्थमा भन्ने हो भने हामी गाउँका मानिसहरूका लागी यही एउटा समय हो जुन वर्ष भरको कोलाहल अनि व्यस्त जीवनबाट केही पर अनि केही फरक जीवन जिउन पाउने केही दिनहरू। हुन त आफ्नो गाउँ कुनै पनि बेला जान सकिन्छ तर अरू बेला सबै जना आँ-आफ्नो काममा व्यस्त रहने हुँदा यो बेला गाउँ जाँदा जुन किसिमको आनन्द मिल्छ त्यो अरू बेला कदापि मिल्न सक्दैन।

बारीको कान्लामा फलेको सिमी

दशैँ कै प्रसङ्गमा मलाई गाउँ घर अनि शहर तुलना गर्न मन लाग्यो। अष्‍टमीको दिन देखी शहर बिस्तारै गाउँका पाखा पाखाहरूमा पोखिन थाल्छ। शहरका रेष्टुरेण्टहरूमा गएर म:म:, चाउमिन अनि छोयलामा रमाउनेहरू मनहरू एक्कासि गाउँका कान्ला कान्ला चहार्दै त्यहाँ फलेका काँक्रो, अम्बा, सिमी अनि बोडीमा रमाउने गर्छन्। यता शहर रित्तिँदै जान्छ अनि उता गाउँ भने शहर, अरब, अनि अन्य विकसित मुलुक मिश्रित एक भिन्न खालको फ्युजन बन्न जान्छ। त्यो फ्युजनको अनुभव जसले गर्नु भएको छ, त्यो वातावरण सम्झँदा नै मन रोमाञ्चित भएर आउँछ, जसलाई अनुभव छैन त्यो कुरा म शब्दमा व्यक्त गर्न असमर्थ छु। एक चोटि कारणबस एकादशीको दिन मै काठमाण्डौं फर्कन परेको थियो। मलाई याद छ त्यो एकादशी देखी पूर्णिमा सम्म का हरेक दिन मलाई एक वर्ष जस्तो लागेको थियो। मैले त्यही बेलामा अनुभव गरेको थिए, काठमाण्डौं बाहिरका, विशेष गरी गाउँका मानिसहरूलाई काठमाण्डौं दशैँको समयमा एक मसानघाट सरह हुने रहेछ।

ठुलोखोला (बर्खायाममा चाही साच्चीनै ठुलो हुन्छ) :)

खैर, विदेशको जीवन, आज विदाको दिन हो तर पनि अफिसको कामले मन पोलेर आज सबेरै उठेर अफिसकै काम गर्दै थिए तर अचानक मनले बारीका कान्लामा फलेका बोडी टिप्दै खान थाल्यो, डाँडाको चौतारीको छपनीमा सन्द्र्याम् जिउ फालेर सुत्न थाल्यो, ठुलोखोलाको झरनामा गएर टाउको थाप्यो अनि बन तिर डुल्दै पानी-अमला खोस्रँदै, पाइन्टमा पुछ्ँदै खान थाल्यो र त्यो भाव हरू यहाँ पोखे।

घर बाहिर भए पनि आफ्नै किसिमले यो चाड त मनाउने नै छु तर यता जतिनै रमाइलो गरेर मनाए ता पनि मन भने गाउँ, त्यहाँको वातावरण अनि त्यहाँ पाइने आनन्दमा नै डुबी रहने छ, डुली रहने छ।

 
3 Comments

Posted by on October 1, 2011 in Article, Random

 

Tags: , , ,

एन. आर. एन. राजनैतिक रंगमचंको खेल हुने कृडास्थल हुनेछ

कुरा फेरी पनि एन. आर. एन. कै। तर यस पाली निमेस गिरी ज्युको बिचार, जस्ता को त्यस्तै:

सन् २००३ मा स्थापित गैर आवसिय नेपाली संघको पाचौ विश्व सम्मेलन सम्पन्न हुन गईरहेको परिवेशमा विश्वका विभिन्न राष्ट्रहरुमा राष्ट्रिय समन्वय समितीको चुनावी सरगर्मिले एन।सी।सी। तातिरहेको छ । त्यसैको उपज यूएईमा पनि चुनावी सरगर्मि शुरुवातसंगै सहमतिको भएका छन् र हुने क्रममा छ । कुरामा सहमति हुनु र सहमतिका प्रयास गरिनु निश्चय पनि सरहानिय कार्य हो तर सहमतिको आधारहरु के हुन् र त्यसले भविष्यमा कस्तो किसिमको कि्रया प्रतिकि्रया लिएर आउछ त्यसलाई नजर अन्दाज गरिनु हुदैन् । यदि सहमतिको प्रतिफलले कुनै पनि संस्थालाई प्रगति सफलता तिर उन्मुख गराउँछ भने त्यो सहमतिलाई प्रोत्साहन एवं हौसला प्रदान गर्नु पर्दछ । होईन त्यसले गलत किसिमको प्रकि्रयाको शुरुवातलाई प्रोत्साहान गर्दछ भने त्यस प्रकि्रयाको विरोध गरिनु पर्दछ ।

भर्खरै यूएईमा एन।सी।सी। यूएईको निर्वाचन प्रकि्रयामा परेका उमेदवारीलाई सहमतिको आधारमा समिति गठन गर्ने उदेश्यका साथ सहमति गराउन प्रयासकालागी यहाँ स्थित विभिन्न समाजिक व्यतिहरुले पहल कदमी गरेका थिए र जसमा आई।सी।सी। कोषाध्यक्ष रामेश्वर शाह आई।सि।सि। सदस्य पि।एस।लिम्बु एनसीसी अध्यक्ष चुडामणी ढकाल आइसीसीका भूपू मध्यपूर्व संयोजक चन्द्रप्रसाद सापकोटा नेपाली समाजका अध्यक्ष कृष्ण ढकाल लगाएतका व्यतिहरुले सहमतिको प्रयास गर्दै वहु संख्यक पदहरुमा सहमति गराएका छन् । सहमति गराउनु वास्तवमानै राम्रो कदम हो । तर सहमतिको मापदण्ड संस्थाको हितमा भयो भने त्यो सहमतिले राम्रो प्रतिफल ल्याउने कुरामा विमति हुन सक्दैन ।

एन। आर। एन। एक गैर राजनैतिक संस्था भएता पनि यसको चुनावी माहोलमा राजनैतिक संघ संस्थाहरुलॆ पुर्ण राजनैतिक रंगले होली खेलिएको देखियो । वास्तवमा मानिसहरु राजनैतिक प्राणि हुन र राजनैतिक चेतना संस्थागत कार्यको लागी र व्यतिको नेतृत्व क्षमाताको बिकासकालगी सहि भएता पनि यहाँ देखिएको राजनैतिक खिचातानी र म फलानो दलको मेरो सदस्य संख्याको आधारमा निम्न पद मेरो संस्थाको बटमलाईन हो भन्ने परिपाटीको शुरुवात भएको छ । वास्तवमा यहां देखिएको यस किसीमको राजनैतिक अराजकताले नेपालको राजनैतिक अवस्थालाई उजागर गरेको छ । यहां पनि सामाजीक संस्था भित्र छिरेर आफनो राजनैतिक अभिष्ठा पुर्ति गर्नका लागी राजनैतिक दलका भातृ संगठनहरुको यस प्रकारको खिचातानीले प्रत्येक व्यतिलाई संस्थागत कार्य गर्नकालागी र संस्थामा आउनकालगी कुनै न कुनै राजनैतिक दलको टोपी लगाएर मात्र सामाजीक कार्य गर्न र संस्था भित्र पस्नकालागी योग्यताको कसि उसको राजनैतिक पृष्ठभुमी र उसको राजनैतिक सदस्यता र उसले उक्त संस्थामा छिर्नकालगी चढेको राजनैतिक भर्यागंले मात्र उसको योग्यताको कसि बन्दै जाने हो भने भोली यस किसिमको राजनैतिक खेलले युएईको सम्पुर्ण सामाजीक संघ संस्थालाई कुनै न कुनै राजनैतिक दलको पुच्छर बन्ने निश्चित बनिसकेको छ । आज यसै किसिमको राजनैतिक खेलका कारण देशमा प्रधानमन्त्रि प्रप्त गर्न १८औ पटक सम्म म्याराथुन दौडिरहेको दृश्य हामी बाट नलुकेको भएता पनि त्यहि परिदृश्यलाई हामीले युएईको भर्खरै खनिएको एन।आर।एन।रुपी रोडमा त्यहि परिपाटीको अलकत्राले चिल्लो बाटो बन्छ भनेर सोचिरहेका छौ जसको उपज हामी आज रोड बनाउन सफल भएता पनि भोली बिरोधकालागी त्यहि रोड भत्काउन अग्रसर हुने समुह पनि तयार गरिरहेका छौ ।

त्यसै गरी यस संघको चुनावी माहोलको शुरुवात भन्दा अगाडीनै राजनैतिक संघ संस्थहारुविच सहमतिको नाममा राजनैतिक भागबंडा मिलाउन तल्लिन हुने समाजका लब्ध प्रतिष्ठित व्यतिहरुले नै यस किसिमको प्रकि्रयालाई बडाउन सघाईरहेका छन् । राजनैतिक दलका अगुवाले दिएको एक अभिव्यतिले साच्चै नै भोलीको दिनमा राजनैतिक पर्टीदेखी वाहेका कुनै अन्य संस्था चल्न सक्दैन भन्नु कतिको सार्थक हुन सक्छ । के आज भँदा ५७ वर्ष अगाडी देखी मात्र नभएर सन् १९९० देखी यहांका कुनै पनि सामाजीक संघ संस्थाले कुनै काम गर्न सकेका थिएनन के हालका दिनमा पनि युएईको सामाजीक कार्यमा राजनैतिक दलमात्र अगाडी हो होईन कदाचित होईन । यो त नेपालको राजनैतिक परिवर्तन संगै आस्थका आधारमा सन् २००७ पछाडी मात्र राजनैतिक संस्थाहरु सकि्रय भएको देखिएको हो । राजनैतिक दलले सामाजीक कार्य गरेको भएता पनि उसले राजनैतिक कार्य नै उसको प्रमुख एजेण्डा हो । हात्तिको खाने र चपाउने दाँत अलग अलग भएजस्तै मात्र हो ।

विदेशमा आजकाल सामाजीक संघ संस्थाहरु भित्र कसको पकड बढि रहने भन्ने राजनैतिक उदेश्यले राजनैतिक पार्टीहरु कि्रयाशिल भएको देखिन्छ । यो राजनैतिक कि्रयाकलापले सामाजीक कार्य गर्न चाहाने व्यक्तिहरु प्ााखा लाग्दै जाने क्रम बढिरहेको छ । एन।आर। एनको यस भन्दा अघिका र भर्खरै सम्पन्न भैसकेका र भैरहेका चुनावमा राजनैतिक होडबाजीले भोली कुनै दिन गैर राजनैतिक भनिने यस संस्थाले राजनैतिक संस्थाहरुको अखडा बन्ने निश्चित देखिन्छ र यसका शाखा रहेका हरेक देशमा राजनैतिक रंगले चुनावी होलीको मंच्चन भईरहेका छन । हुदै जाने क्रममा पनि छन । चाहे त्यो कतार बेल्जियम र यूएई यि त केहि देशका नामहरु म्ात्र हुन । त्यसैले यस किसिमको राजनैतिक खेलले संस्थालाई अग्रगति तिर लिएर जाने भन्दा अबनति तिर लिएर जाने निश्चित देखिन्छ । किनभने राजनैतिक आस्थाका आधारमा हरेक निर्णय र कार्य सम्पादन हुन थाल्दछ । सन् २००३ मा स्थापित गैर आवसिय संघ राष्ट्रिय समन्वय परिषद यूएईको सदस्य संख्या निर्वाचन प्रकि्रयाको घोषणा हुनु अगाडी करिब ४००को हाराहारीमा थियो अहिले राजनैतिक सकि्रयताले यस संस्थाको साधारण सदस्यता २०२७ पुगेको छ । संस्थागत आधारमा सदस्य संख्याको बृद्धि हुनु संस्थाकोलागी राम्रो हो तर उक्त साधारण सदस्यहरु कतिको कि्रयाशिल हुन्छन त्यसमा निरर्भर रहने छ । तर के कुराको ग्यारेण्टि गर्न सकिन्छ भने अबको कार्यकालको अन्त्यसंगै अर्को कार्यकालको निर्वाचनमा यो संख्या घटॆर ३०० देखि ५००को हाराहारीमा आउनुका साथै त्यस समयमा उमेदबारी दिने व्यतिहरुमा निर्भर रहन्छ के कति नयां सदस्यता लिनेछन् । यस निर्वाचनको समयमा स्व स्फुर्त सदस्यता लिने भन्दा कुनै समुहको लहै लहैमा लागेर सदस्यता लिएका व्यतिहरुको बाहुलिएता छ । जसका उपज दर्ता भएका बहुसंख्यक नयाँ सदस्यहरुलाई एन। आर। एन। ले गर्ने काम यसको कार्यनिति र यस संस्थाको बारेमा केहि जानकारी छैन । ति सदस्यहरु केवल कुनै समुहलाई जिताउनका लागी मात्र सदस्यता लिएका कारण संस्थाले संख्या विस्तार त गरेको छ तर स्तरीयता प्राप्त गर्न सक्दैन । कुनै पनि संघ संस्थाले संख्या भन्दा स्तरयीता र प्राप्तहुने गुणात्मक प्रतिफल नै सो संस्थाको धेय र उसको पुँजी हो र हुनुपर्दछ ।

यो राजनैतिक भागवण्डाको समस्या शाखा संस्थाहरुमा मात्र नभएर यसको केन्द्रिय नेतृत्व र त्यसका चुनावी प्रकि्रयामा पनि हामीले देख्न र भोग्न थालेका छौ । वर्तमान कार्यकालको विगतको चुनावी कार्यक्रममा नै त्यसको विजारोपण भएको स्पष्ट देखिएको थियो । त्यसैले यसको केन्द्रिय नेतृत्वले पनि राजनैतिक भागवण्डालाई कसरी अफनो पक्ष्मा प्रयोग गर्न सकिन्छ भन्ने चिन्तनले ग्रसित भएको अवस्थामा अब काठमाडौ हुने चुनावलाई कसरी राजनैतिक हस्तक्षेप मुक्त निर्वाचन सम्पन्न गराउने जिम्मेवारी थपिएको छ । तर राजनैतिक हस्तक्षेप बिहिन निर्वाचन गर्न असम्भव छ जसको मुल कारण यसका केन्द्रिय नेतृत्वको उमेदवारहरु नै राजनैतिक रंगरोगनमा पर्दा पछाडि उभिएर निर्देशन गरीरहेका छन । र काठमाडौमा हुने कुम्भ मेलामा राजनितीक पार्टीहरुको घर दैलो गर्दौ आफनो पद सुनिश्चित गरेको विगतमा पनि देखिएको थियो । यस पटक झन चरम उत्सर्गमा पुग्ने निश्चित छ जसका कारण राष्ट्रिय समन्वय समितिको निर्वाचनमा कसैलाई बसाउन र उचाल्न नेपालका उच्च राजनैतिक दलका नेताहरुलाई गरिएको आग्रहले देखाईसकेको छ ।

त्यसैगरी आफनो दुनो सोझयाउने उदेश्यले सहमतिको नारा भजाउदै जति पनि पद निर्माण गर्न सकिन्छ भँदै भागवण्डाकालागी नभएका पद निर्माण गर्दै सहमतिको रटानले अहिलेको चुनावी माहोलको अन्त्य भएपनि भोली राष्ट्रिय समन्वय समितिको बैठकमा कोरम पुर्याउन समस्या हुनुका साथै जम्बु समिति गठन हुनेछ र कुनै दिन एउटै संस्थाको ४ जना अधक्ष्य ७ जना उपाध्यक्ष ७ जना महासचिव १४जना सचिव र २८ जना कोषाध्यक्ष हुदै २०१७ जना केन्द्रिय सदस्यको पनि राजनैतिक भागवण्डा मिलाउनकालागी तयार हुने अवस्था आउने सम्भावना देखिन्छ । समग्रमा भन्दा एन।सी।सी। युएईमा मात्र राजनैतिक भागवण्डा नभई प्रत्येक एन।सी।सीका निर्वाचनमा राजनैतिक खिच्चातानि र भागवण्डाको शुरुवातले कालन्तरमा एन। आर। एन। राजनैतिक रंगमचंको खेलहुने कृडास्थल हुनेछ । यदि यसका संस्थापक संरक्षक र केन्द्रिय नेतृत्वले राजनैतिक खेलमा वेलैमा अंकुश नलगाउने हो भने ।

*****

निमेस गिरी ज्यु यु.ए.ई मा कार्यरत हुनुहुन्छ।

 
1 Comment

Posted by on September 12, 2011 in Article, NRNA UAE

 

Tags: , , , , , , ,

एन.आर.एन. ए. – यु.ए.ई का उम्मेद्वारलाई मेरा जिज्ञासा

सुनेको छु एन.आर.एन. ए. – यु.ए.ई को चुनाव आउँदै छ रे। फेसबुक तीरको चहलपहल देख्दा त, नेपालमा चुनावको बेलाको झल्को नै मेटाई दिन्छ। मैले बुझेको एन. आर. एन. भनेको “विदेशमा स्थायी – अस्थायी बसोवास गर्ने नेपालीहरूको संस्था हो जसले नेपाल र नेपालीको हक हितमा विदेशमै बसेर काम गर्छ”। दुई लाख भन्दा बढी नेपाली जनसङ्ख्या भएको यु.ए.ई मा यो संस्था नहुने भन्ने कुरानै भएन। बेला बेलामा विभिन्न कार्यक्रमहरूमा यो संस्थाका महानुभावहरूले सदस्यता लिनको लागी यहाँ रहेका नेपालीलाई अनुरोध गर्नु भएको पनि देखेको छु। म यु.ए.ई मा बसेको ३ बर्ष भयो तर यसको सदस्यता लिएको छैन। सदस्यता लिनु अगाडि, अहिले चुनावमा उम्मेदवारी दिनु हुने महानुभावहरू सँग म केही जिज्ञासाहरू राख्न चाहन्छु। कृपया कसैले मेरा जिज्ञासाको जवाफ दिनु भएमा आभारी हुने थिए।

१. यु. ए. ई मा विभिन्न पृष्ठभूमिबाट आउनु भएका र रहनु भएका नेपाली दाजुभाइ दिदी बहिनीहरू हुनुहुन्छ। यहाँ रहनुहुने निम्न लिखित पृष्ठभूमिमा भएकाहरू नेपाली नागरिकहरूलाई यो संस्थाले के औचित्य राख्छ?

  • ऋण खोजी खोजी दलाललाई लाखौ बुझाएर यहाँ आउनु भएका, मासिक किस्ता-बन्दीमा ऋण चुक्ता गर्दै, बचेको ले घर परिवार चलाउने बर्ग।
  • यहाँ को कमाइले घर चलाउन र छोरा छोरी पढाउन ठिक्क हुन बर्ग।
  • ठिक्कै ठिक्कै आम्दानी भएका, आफ्नो जागिर गर्ने, यहाँ रहेका कुनै पनि नेपाली संघ-संस्थाहरूमा (राजनीतिक र जातीय) सदस्यता अथवा सहभागिता नभएको बर्ग।
  • पेशागत र कमाइको हिसाबले राम्रै उचाई मा पुग्नु भएका तर पनि कुनै संघ-संस्थाहरू सदस्यता अथवा सहभागिता नभएका बर्ग।

२. तत्काल को समितिमा रहनुभएका र आउँदै गरेको चुनावमा उम्मेदवारी दिने महानुभावहरू प्रायजसो यहाँ रहेका कुनै न कुनै राजनीतिक, जातीय र वर्गीय संस्थाहरूका चल्ता-फुर्ता सदस्यहरू नै हुनुहुन्छ। यो हिसाबमा एन.आर.एन. ए. – यु.ए.ई  कुन स्थानमा छ?

३. एन.आर.एन. ए. – यु.ए.ई ले हाल सम्म नेपाल र नेपालीको हितका लागी के काम गरेको छ?

४. एन.आर.एन. ए. – यु.ए.ई को यहाँ रहेका नेपालीहरू प्रति कस्तो दायित्व राख्दछ?

प्रश्नहरू अरू पनि छन्, यी प्रश्नहरूको जवाफ आएमा बाँकी प्रश्नहरू राख्ने छु। एन.आर.एन. ए को बारेमा मेरो बुझाई गलत हुन पनि सक्छ, यदि यसो हो भने कृपया सरल भाषामा  यसको औचित्य बताइदिनु होला।

[Update] सायद एन.आर.एन. ए. – यु.ए.ई का सदस्यहरूलाई मेरो भनाइको मतलब अल्लि प्रष्ट भएन जस्तो छ। त्यसैले माथि उल्लिखित जिज्ञासाहरूलाई यहाँ को परिभेष अनुसार साथै केही थप जिज्ञासाहरू सरल भाषामा फेरी पनि लेख्दै छु।

  • ऋण खोजेर यहाँ काम गर्न आएका नेपाली लेबर दाजु भाइ, जसको दिनचर्या क्याम्प देखी साइट र साइट देखी क्याम्प बाहेक अरू हुनु नै लगभग असम्भव छ (सबै भन्दा बढि नेपाली जनसङ्ख्या यही बर्गको होला सायद), हो यस किसिमको बर्गलाई एन.आर.एन. ए. – यु.ए.ई ले के औचित्य राख्दछ??
  • उनीहरू प्रति एन.आर.एन. ए. – यु.ए.ई को दायित्व के रहन्छ??
  • उनीहरूले एन.आर.एन. ए. लाई के दिन सक्छन्??
  • अहिले सम्म एन.आर.एन. ए. – यु.ए.ई ती लेबर क्याम्पहरूमा पुगेको छ कि नाई??
  • अर्को ठूलो बर्ग भनेको यहाँ रहेका कुनै पनि संघ-संस्थामा आबद्ध नभएको बर्ग छ। त्यो बर्गलाई एन.आर.एन. ए. को बारेमा चेतना जगाउनुका लागी एन.आर.एन. ए. – यु.ए.ई ले के गरेको छ??
  • एन.आर.एन. ए. – यु.ए.ई का सदस्यहरू उल्लेखसित यी बर्गहरूमा बीचमा पुगेर “हामीले नेपाल र नेपालीको हितका लागी के गर्न सक्छौ” भन्ने बारे अन्तरक्रिया गरेको छ कि नाई??

र अन्त्यमा: मेरो विचारमा सीमित आमन्त्रित सदस्यहरूलाई बोलाएर तारे होटलमा गरीने अन्तरक्रियाले यु.ए.ई मा रहेका सम्पुर्ण नेपाली नागरीकलाई प्रतिनिधित्व गर्न सक्दैन।

 
1 Comment

Posted by on August 1, 2011 in Article

 

Tags: , , , ,

 
Follow

Get every new post delivered to your Inbox.

Join 842 other followers